प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले घोषणा गर्यो आन्दोलनका थप कार्यक्रम
नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ। नेपाली कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो।
बैठकले २५ पुसमा ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने, ३ माघमा ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने, ८ माघमा स्थानीय तहको ६ हजार ७४३ वटै वडामा विरोध प्रदर्शन तथा सभाको आयोजना गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
जिल्ला समितिले आफ्नो अनुकुलतामा तथा पार्टीका भातृ तथा शुभेच्छुक संगठनहरूले आ–आफ्नो आवश्यकता र अनुकुलतामा जिल्ला समितिसँग समन्वय गरेर कार्यक्रम गर्ने पनि बैठकले निर्णय गरेको छ।
बैठकले २० कात्तिक २०७५ मा उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गर्नेहरूको समायोजनको निम्ति बनाइएको समायोजन समितिले तयार पारेको प्रतिवेदन अनुमोदन गरेको पनि प्रवक्ता शर्माले बताए। बैठकले क्रियाशील सदस्यता विवरण आउँदो माघ मसान्तसम्म गरिसक्ने मिति तय गरेको प्रवक्ता शर्माले बताए।
आजको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तावहरू पेश गरेका थिए भने वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यद्वय कृष्णप्रसाद सिटौला र जीवनबहादुर शाहीले आ–आफ्नो धारणा रोखका थिए।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यसमितिको अर्को बैठक २७ पुस दिउँसो १ बजे बस्नेछ।