सांगठनिक कार्यविभाजन गर्न माधव नेपालको नेतृत्वमा कार्यदल गठन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टी भित्रको सांगठनिक कार्यविभाजन गर्न कार्यदल गठन गरेको छ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको हो। कार्यदलले प्रदेशका कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, केन्द्रीय संगठनहरू, मोर्चा संगठनका पदाधिकारीहरू र सांगठनिक एकीकरणका बाँकी कामहरू सम्पन्न गर्ने अधिकार पाएको छ।
कार्यदलमा सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, घनश्याम भुसाल, वेदुराम भुसाल, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, गोकर्ण बिष्ट, वर्षमान पुन, मातृका यादव र शक्ति बस्नेत सदस्य रहेका छन्।
बैठकका निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले सांगठनिक काम गर्न अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल बनेको र भोलि बस्ने बैठकले कार्यदललाई अन्तिम रूप दिने बताए।
बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको रक्षाको लागि दृढतापूर्वक अघि बढ्न सबै नेता कार्यकर्तालाई अपील गरेको पनि प्रवक्ता श्रेष्ठले बताए। बैठक अध्यक्ष नेपालको अध्यक्षतामा बसेको थियो।
बैठकमा सरकारले प्रतिनिधि सभाको विघटन गरी चालेको असंवैधानिक कदमलाई असफल पार्ने विषयमा पनि छलफल भएको प्रवक्ता श्रेष्ठले बताए। बैठकले प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतानित्रक कदमको विरुद्धमा भएका सबै पार्टीहरूसँग संयुक्त कार्यक्रम गर्न समन्वय गर्ने निर्णय समेत गरेको छ।
स्थायी कमिटीको अर्को बैठक सोमबार दिउँसो १२ बजे बस्ने भएको छ।