वैशाखको निर्वाचनलाई कसैले पनि पर सार्न सक्दैन: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुने बताएका छन्।
आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आफू पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू)केन्द्रीय कमिटीद्वारा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले तोकेकै मिति १७ र २७ वैशाखमा प्रतिनिधि सभाको निर्वाचन हुने बताएका हुन्।
कतिपय शक्तिहरूले चुनाव हुँदैन भन्ने भ्रम सिर्जना गर्न खोजेको भन्दै प्रधानमन्त्री ओलीले चुनावलाई कसैले पनि पर सार्न नसक्ने दाबी गरे। प्रतिनिधि सभाको निर्वाचन नेपाली जनता र देशको आवश्यकता भएकोले तोकिएकै समयमा हुने उनको जिकिर छ।
प्रधानमन्त्री ओलीले संविधान र कानूनले विघटित संसद पुनर्स्थापना गर्न नमिल्ने भन्दै विघटित संसद नबौरिने बताए। पार्टीभित्र सरकारलाई काम गर्न नदिने, बदनाम गराउने, आन्दोलन ध्वस्त पार्न, राष्ट्रियता कमजोर पार्न, नक्शा छापेकोमा तथा संविधान संशोधन भएकोमा बहानामा गुटबन्दी गरेकोले संगठन गतिशिल नभएको उहाँको भनाइ छ।
पार्टीभित्रै बसेर आन्दोलनको बदनाम गरेको र सरकारको कामको बदनाम गराउन मात्रै समय बर्बाद गरेकाले संसद भंग गर्नुपरेको प्रधानमन्त्रीको तर्क छ। प्रधानमन्त्री ओलीले आइतबार नै सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन गर्नुपरेको कारणको जवाफ पठाएको समेत बताए।
प्रधानमन्त्री ओलीले पार्टीको चुनाव चिन्ह सूर्य आफूहरूले नै पाउने दाबी गरे। उनले नेपालको विदेश नीति सन्तुलित हुने र भौगोलिक अखण्डातको रक्षा गर्दै राष्ट्रिय हितलाई सुरक्षित गर्न अघि बढ्ने पनि बताए।