कर्णालीका दुई मन्त्री र एक सांसदले छाडे ओलीको साथ, लागे दाहाल–नेपाल समूहमा
कर्णाली प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहबाट सहभागी भएका दुई मन्त्रीले उनको साथ छोडेका छन्। दुई मन्त्रीसँगै एक प्रदेश सांसदले पनि ओलीको साथ छोडेका छन्।
सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र सांसद पदमबहादुर रोकायले ओली समूहको साथ छोडेर पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहमा लागेका हुन्।
दाहाल–नेपाल समूहमा लागे मन्त्री रावल आइतबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सहभागी भएका थिए। रावल नेकपाको हुम्ला जिल्ला कमिटीका सचिव समेत हुन्।
आइतबार नै रावलसहित हुम्लाका २८ जना नेकपा नेताहरूले विज्ञप्ति जारी गर्दै आफूहरू दाहाल–नेपाल समूहमा रहेको जानकारी गराएका छन्। नेकपाका कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले नेकपा कर्णाली प्रदेश एकतावद्ध रहेको उल्लेख गरेका छन्।
दुई मन्त्री र एक सांसद दाहाल–नेपाल समूहमा गएसँगै नेकपाका ३३ प्रदेश सभा सदस्यमध्ये यो समूहमा २२ जना पुगेका छन्। सभामुख राजबहादुर शाहीसहित ११ प्रदेशसभा सदस्य ओली समूहमा खुलेका छन्।
यससँगै दाहाल–नेपाल समूहका नेता महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार सुरक्षित भएको छ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलसहित हुम्लाका नेकपा नेताहरूको विज्ञप्ति :