शेयर बजारमा नयाँ रेकर्ड, नेप्से ८८ दशमलव १२ अंकले बढ्यो
आइतबार शेयर बजार परिसूचक नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ। नेप्से परिसूचक ४ दशमलव २२ प्रतिशत अर्थात् ८८ दशमलव १२ अंकले बढेर २ हजार १७५ दशमलव ३९ विन्दुमा बन्द भएको छ।
यो अंक अहिले सम्मकै उच्च हो। ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ३१ प्रतिशत अर्थात् १७ दशमलव १८ अंकले बढेर ४१५ दशमलव ८८ अंकमा बन्द भएको छ।
दिनभर २१२ कम्पनीको ६ अर्ब ३४ करोड ४० लाख १७ हजार रूपैयाँ बराबरको १ करोड ४० लाख २६ हजार ८८६ कित्ता शेयर खरिदबिक्री भएको छ।
सूचीकृत कम्पनीहरूबाट सर्वसाधारणमा जारी भएका शेयरहरूको मात्रै कारोबार मापन गर्ने परिसूचक फ्लोट परिसूचक पनि ४ दशमलव १ प्रतिशत अर्थात् ५ दशमलव ८२ अंकले बढेर १४७ दशमलव ७४ अंकमा बन्द भएको छ।
यस्तै, सन्सेटिभ फ्लोट परिसूचक पनि ३ दशमलव ९७ प्रतिशत अर्थात् ५ दशमलव ०७ अंकले बढेर १३२ दशमलव ९७ अंकमा बन्द भएको छ।
बजारले नयाँ उचाई बनाउँदै जाँदा लगानीकर्तामा उमंग थपिएको छ। जसका कारण बजारमा शेयरको माग बढेको छ। अर्कोतर्फ वित्तीय प्रणालीमा पनि अधिक तरलता छ। ब्यांक ब्याजदर पनि सस्तो भएको छ। बजार निरन्तर बढ्दै जाने र शेयर खरीदका लागि कम ब्याजदरमा सहजै ब्यांकले रकम उपलब्ध गराउने भएपछि लगानीकर्ताले शेयरको माग बढाएको देखिन्छ।
कोभिड–१९ का कारण अन्य वास्तविक क्षेत्र सुस्ताएकाले पनि नयाँ र ठूला लगानीकर्ताको प्रवेश शेयर बजारमा हुने क्रम पनि बढ्दै गएको छ। त्यसैले हरेक दिन शेयर बजारमा रौनकता देखिएको मान्न सकिन्छ।
आइतबार कारोबारमा आएका सबै समूह बढेका छन्। सबैभन्दा धेरै व्यापार समूह ९ दशमलव ६४ प्रतिशतले बढेको छ। त्यसपछि अन्य समूह ६ दशमलव १९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ४ दशमलव ८६ प्रतिशत, ब्यांकिङ समूह ४ दशमलव ४७ प्रतिशत, जीवन बीमा समूह ४ दशमलव ०९ प्रतिशत, निर्जीवन बीमा समूह २ दशमलव ८४ प्रतिशत, जलविद्युत समूह २ दशमलव ४६ प्रतिशत, लघुवित्त समूह २ दशमलव ३६ प्रतिशत, विकास ब्यांक समूह २ दशमलव १६ प्रतिशत, होटल समूह १ दशमलव ८५ प्रतिशत, फाइनान्स समूह शून्य दशमलव ८८ प्रतिशत र म्युचुअल फण्ड समूह शून्य दशमलव २१ प्रतिशतले बढेको छ।
आज सबैभन्दा धेरै शेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्सको ५० करोड ९५ लाख ७५ हजार रूपैयाँ, प्राइम कमर्सियल ब्यांकको ५० करोड २६ लाख २ हजार रूपैयाँको कारोबार भएको छ। नेपाल दूरसंचार प्राधिकरणको ४५ करोड ७ लाख ९१ हजार रूपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ५२ लाख ५९ हजार रूपैयाँ, एनआईसी एशिया ब्यांकको २७ करोड ३७ लाख ९६ हजार रूपैयाँ बढीको शेयर कारोबार भएको छ।
आज हिमालयन डिस्टिलरीका शेयरधनी र साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले १० प्रतिशतले कमाएका छन्। यस्तै ९ प्रतिशत भन्दा माथि कमाउने कम्पनीका शेयरधनीहरूमा नेपाल पुनर्बीमा कम्पनी, प्राइम कमर्सिय ब्यांक, कुमारी ब्यांक, गुराँस लघुवित्त वित्तीय संस्था, नेशनल लघुवित्त वित्तीय संस्थाका रहेका छन्।
बजारमा उच्च वृद्धि भएपनि राधि विद्युत कम्पनी, शिवश्री हाइड्रोपावर लगायत ३० वटा कम्पनीका शेयरधनीले भने गुमाएका छन्।