मेलबर्न स्टार्सविरुद्ध सन्दीप लामिछानेको २ विकेट
अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली स्पिनर सन्दीप लामिछानेले मेलबर्न स्टार्सविरुद्ध २ विकेट लिएका छन्। शनिबार लिगको आफ्नो पहिलो खेलमा लामिछानेले अघिल्लो संस्करणमा आफैं आबद्ध टोली मेलबर्न स्टार्सविरुद्ध २ विकेट लिएका हुन्।
सन्दीपले बिग बासको यो सिजन होबर्ट हुरीकेन्सबाट खेलिरहेका छन्। शनिबार भएको खेलमा सन्दीपले ४ ओभरमा ३८ रन खर्चिएर २ विकेट लिए। सन्दीपले मेलबर्नका हिल्टन कार्राटइट र बेन डुन्कलाई आउट गरे।
यससँगै हुरीकेन्सले मेलबर्नलाई २१ रनले पराजित गरेको छ।
हुरीकेन्सले दिएको १६५ रनको लक्ष्य पछ्याएको मेलबर्नले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनायो। हुरीकेन्सका स्कोट बोलान्डले ३ विकेट लिए। सन्दीपसँगै नाथन एलिसले पनि २ विकेट लिएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हुरीकेन्सले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो।
सन्दीप यो प्रतियोगिताका लागि दुई साताअघि अस्ट्रेलिया पुगेर आइसोलेसनमा बसेका थिए। त्यसअघि उनमा नेपालमै कोभिड–१९ पोजिटिभ देखिएको थियो।
कोरोनाकै कारण सन्दीप ढिलोगरि अस्ट्रेलिया पुगेका थिए।
गएको सेप्टेम्बरमा क्यारेबियन प्रिमियर लिगमा सहभागी भएयता सन्दीपले खेल्न गइरहेको यो पहिलो फ्रेञ्चाइज लिग हो।
गत नोभेम्बरमा आयोजित इन्डियन प्रिमियर लिगमा भने सबै समर्थकलाई स्तब्ध पार्दै दिल्लि क्यापिटल्सले सन्दीपलाई पूरै अवधि बेञ्चमै थन्काएको थियो।