दाहाल र नेपालका कारण नेकपा विभाजनको अवस्थामा पुग्योः उपप्रधानमन्त्री पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल र माधवकुमार नेपालका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेको आरोप लगाएका छन्।
उनले दुवै नेताले नेतृत्वमा पुग्नका लागि अस्वाभाविक ढङ्गले चलखेल गर्दै केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउने षड्यन्त्र गरेका कारण पार्टी विभाजनको स्थितिमा पुगेको बताए।
मजदूर विशेष जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले दाहालले पार्टी कब्जा गर्ने गरी गतिविधि सञ्चालन गरेपछि गम्भीर समस्या देखा परेको उल्लेख गरे।
“प्रचण्डले निर्वाचनका बेलादेखि नै सहमति उल्लङ्घन गर्दै आउनुभएको हो”, उनले भने, “एउटै चुनाव चिन्हमा निर्वाचनमा जाने सहमति कार्यान्वयन नगर्दा १० लाख मत खेर जान पुग्यो।”
उनले आफूहरू अझै पनि एकताका पक्षमा रहेको उल्लेख गर्दै एकता कमजोर पार्न खोज्ने तत्वलाई उचित ढङ्गले जवाफ दिन तयार रहेको चेतवानी दिए। प्रधानमन्त्री ओलीले राम्रा काम अघि सार्दा आफूहरू पछि पर्ने डरले दाहाल–नेपाल समूहले निरन्तर विरोध र अवरोध सिर्जना गरेको पोखरेलको आरोप छ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले दाहाल–नेपाल समूहले पार्टी र सत्ता कब्जा गर्ने रणनीतिका साथ अघि बढ्दा प्रतिनिधि सभा विघटनको अवस्था सिर्जना भएको बताए।
उनले प्रतिपक्षले भन्दा पार्टीभित्रबाटै विरोध हुँदा सरकार सञ्चालनमा समस्या सिर्जना भएको उल्लेख गरे।