कृषिमा यान्त्रिकीकरणपछि आधुनिक राइस मिल स्थापना गर्दै बुद्ध एअर
पूर्वी नेपालको डाँगीहाट, मोरङबाट कृषिमा यान्त्रिकीकरण सुरुआत गरेको निजीक्षेत्रको वायुसेवा कम्पनी बुद्ध एअरले कृषकको धान खरिद गरेर आरजू राइस ब्राण्डमा चामल उत्पादन गर्नेगरी आधुनिक राइस मिलसमेत स्थापना गर्ने भएको छ।
कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने नारा लागेको लामो समय बितिसकेको छ। तर, मुलुकको राज्यप्रणाली आजसम्म त्यसको अभ्यासमा प्रवेश गर्न सकेन। यो अवधारणामार्फत कृषकको आत्मविश्वास बनाउने शुरुआत भने निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एअरले करिब डेढ दशक पहिले गरेको हो।
पूर्वी नेपालको डाँगीहाट, मोरङबाट कृषिमा यान्त्रिककीरणको शुरुआत गरेको बुद्ध एअरले आधुुनिक कृषिमा एउटा ईंट थप्ने काम गर्यो। आफैले स्थापना गरेको नेपाल कृषि कम्पनीमार्फत बुद्धले करिब रु. ७ करोड खर्चेर डांगीहाटमा यान्त्रिकीकरणमार्फत खेती गर्ने जग बसालेको थियो। त्यसले कृषकहरुमा आत्मविश्वास बढाउने काम गर्याे।
यही कारण हुनसक्छ, बुद्ध एअरले कृषि उद्यमलाई अगाडि बढाउन अर्को कामको थालनीसमेत गर्न लागेको छ। आकाशदेखि जमीनसम्मको व्यवसायमा जोडिनेक्रममा कृषिमै अर्को नमूना योजना ल्याइएको बुद्ध एअरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बताउँछन्।
पछिल्लो समय कृषिमा कर्पोरेट तथा व्यावसायिक घरानाको उपस्थिति बढिरहँदा बुद्धले भने कृषिमै अर्को नमूना परियोजनाको रूपमा आधुनिक राइस मिल स्थापना गर्दैछ। बस्नेत भन्छन्, ‘‘कृषि हाम्रो रुचीको क्षेत्र भएकाले परम्परागत खेतीलाई आधुनिकीकरण गर्दै अब यसलाई खुद्रा बजारसम्म नै लैजाने हाम्रो योजना हो।’’
बस्नेतका अनुसार यसका लागि बुद्ध एअरले डाँगीहाटमै आरजू राइस मिल स्थापना गर्दैछ। कृषिलाई औद्योगिकीकरण गर्दै जाने र धेरै कृषकको जमिनमा उब्जेको धानलाई सही ढंगले सदूपयोग गर्नेगरी राइस मिल सञ्चालन गर्न खोजिएको उनको भनाई छ। परम्परागत रूपमा भइरहेको धान खेतीलाई आधुनिकीकरण गर्ने र उत्पादन बढाएर चामल आयात न्यूनीकरण गर्न सहयोग पुर्याउने उद्धेश्य रहेको बस्नेत बताउँछन्।
झापा, मोरङ र सुनसरीमा करिब ३ लाख ५० हजार विघा जमीनमा धान खेती हुन्छ। नेपालमा धान वा चामलमा आधारित उद्यम नहुँदा (आयातमुखी) व्यापार मात्र बढेकोले कृषिलाई साना तथा मध्यम उद्यम (एसएमई)मा लैजाने योजना बुद्ध एअरले बनाएको हो। नेपालमा गत आर्थिक वर्ष २०७६/७७ मा मात्रै रु.३४ अर्बको चामल आयात भएको थियो।
कृषिमा यान्त्रिकीकरण शुरु गरेपछि धान रोपाइ गर्दा र बाली भित्र्याउने बेला कृषकलाई सबभन्दा बढी समस्या पर्ने गरेको थियो। ‘‘औसतमा एक परिवारले एक विघा जमीनमा खेती गर्ने भएकाले कृषक आफैंले यान्त्रिकीकरण गर्न नसक्ने र त्यसलाई औद्योगिक उत्पादनमा लैजान सक्ने सम्भावना पनि हुँदैन”, बस्नेतले भने, ‘‘हामीले फिल्डमै पुगेर देखेको कृषकका यी र यस्ता समस्यालाई व्यावहारिक हिसाबले समाधान गर्न पनि राइस मिलको अवधारण अगाडि सारेका हौं।”
यसका लागि शुरुमा ६ हजार टन धान प्रोसेसिङ गर्ने राइस मिल जडान गरिँदैछ। योे राइस मिल सञ्चालन गर्न बार्षिक १२ सय विघामा उत्पादन हुने धान आवश्यक पर्छ। प्रतिविघा पौने तीन टन धान उत्पादन हुने खेतमा यान्त्रिकीकरणबाट हुने आधुनिक कृषि प्रणाली अबलम्बन गरेपछि प्रतिविघा ५ टन उत्पादन हुन थालिसकेको छ। धेरै फल्ने जातको धानको बीऊ खोज्नेदेखि, गोडमेल, मल राख्ने, दाउनी गरेर धान भित्र्याउनेसम्मको काममा बुद्ध एअर अन्तर्गतकै कम्पनीले कृषकलाई सघाउने छ।
ब्यांकिङ प्रणालीबाट कृषकलाई भुक्तानी
कृषकको उत्पादन आफूले खरिद गरिदिने सुनिश्चित गरेर धान खेती गर्न लगाउने र भुक्तानी सबै ब्यांकिङ प्रणालीबाट गर्ने बुद्ध एअरको योजना छ। त्यसका लागि मेगा ब्यांकसँग सहकार्यको तयारी पनि भइसकेको छ। किसानले खेती गर्न आवश्यक ऋण लिने, त्यसको ब्याज सहुलियत दरको हुने र खेती गर्दा लिएको ऋणको भुुक्तानी धान बिक्रीपछि ब्यांकिङ प्रणालीबाट हुने व्यवस्था पनि गरिएको छ।
मोरङको डाँगीहाटबाट सुरु हुने यो परियोजनाको परीक्षण सफल हुनासाथ देशैभरका लागि नमूना कृषि कार्य हुने बुझाई बुद्ध एअरका प्रबन्ध निर्देशक बस्नेतको छ।
यो राइस मिलबाट तयार चामल बजारमा जान भने केही सयम लाग्नेछ। वार्षिक कम्तिमा १ लाख टन धानलाई मिलबाट प्रशोधन गर्नेगरी आवश्यक मेसिन जडान गर्ने योजना छ, जसका लागि कम्तीमा २० हजार विघामा उत्पादन हुने धान आवश्यक पर्छ। मिलमा हुने लगानी कृषककै सहभागितामा गर्न प्रयास गरिने, कृषकहरु नै मिलका सेयरधनी हुने र धान उत्पादनसमेत बढाउन सहयोगी बन्नेगरी राइस मिल स्थापना गर्न लागिएको बस्नेत बताउँछन्।
के बुद्ध एअरले तय गरेको वार्षिक एक देखि डेढ लाख टन धान प्रोसेसिङ गर्ने लक्ष्य सम्भव छ ? त्यसका लागि त्यहाँ हुने धान उत्पादनले साथ देला ? सो क्षेत्रको तीन वटा स्थानीय तहमा मात्र यसका लागि आवश्यक जमीन पर्याप्त छ। यो परियोजना सफल भयो भने एक लाख टन प्रोसेसिङ गर्ने मिल जडान गरेर अगाडि बढिने पनि बस्नेत बताउँछन्।
कृषिलाई उद्यमका रुपमा अघि बढाउने यो योजनामा तत्काल करिब रु. १२÷१३ करोड लगानी लाग्नेछ। यसलाई बढाएर रु.१ अर्ब ५० करोडसम्म पुर्याउने योजना छ। हिसबा गरेर हेर्दा यो लगानी थुप्रै जहाज रहेको बुद्ध एअरका निम्ति एउटा जहाजमा गरेको लगानीसरह हो। “तर, २० हजार विघालाई समेटेर जानु भनेको करिब २० हजार किसानलाई एकताबद्ध बनाउनु पनि हो। यसले दिने सन्देश निकै ठूलो छ”, बस्नेत भन्छन्।
‘आरजू राइस’ सिधै बजारमा
बुद्ध एअरले यो राइस मिलबाट ‘आरजू’ ब्राण्डमा चामल उत्पादन गर्ने योजना बनाएको छ। यो चामल मिलबाट सिधै उपभोक्ताको घरमा जाने प्रणालीको विकास पनि गरिँदैछ। पछिल्लो समय अनलाइन बजार फस्टाएको र नगदरहित कारोबारसमेत बढेकाले सोही प्रविधिलाई आत्मसात गरेर बजारमा जाने योजना छ। ६ हजार टन चामल पूर्वकै बजारमा खपत हुने, त्यसपछि हुने थप उत्पादन भने काठमाडौंसम्म पुर्याउने यसको योजना छ।
यो योजनाका लागि पहिलो चरणमा २०७७ चैतमा करीब ५०० टन धान उत्पादन हुनेगरी १०० विघामा धानखेती गरिनेछ। त्यसका लागि आउँदो असारसम्म मिलको सबै जडान प्रक्रिया सकिनेछ। यो नै यो योजनाको पहिलो परीक्षण हुन्छ। धान सुकाउने यन्त्र सबभन्दा पहिले जडान गर्ने र सुकाएर राखेको धानलाइ त्यसपछि फूर्सदमा मिलिङ गर्न पनि सकिनेछ। किसानको जमिनमा आफ्नो कम्पनीको सुपरिवेक्षणमा धान खेती हुने हुँदा कृषकले दाउनीसमेत गर्नुनपर्ने बस्नेत बताउँछन्। रोप्नेदेखि धान भित्र्याउनेसम्मको काममा कम्पनीले नै कृषकलाई सघाउने छ।