जेट एयर प्रकरण : नेपाललाई फाइदा हुनसक्छ !
जेट एयरको अनुपस्थितीले नेपाल आउने पर्यटकलाई बढी सास्ती हुने भए पनि नेपाली विमानबाटै सेवा दिन सक्ने हो भने फाइदा पनि हुनसक्छ ।
५२ गन्तव्यमा ८८ विमानबाट उडान भर्दै आइरहेको भारतीय वायुसेवा कम्पनी जेट एयरलाइन्सले खराब आर्थिक अवस्थाका कारण ५ वैशाखदेखि सबै उडान स्थगित गरेको छ ।
नेपालमा जेटले दिल्ली–काठमाडौं र मुम्बई–काठमाडौं गरी सातामा ३५ उडान गर्दै आएको थियो । सन् २०१७ मा ४ लाख ६९ हजार ३०१ यात्रु बोकेर नेपालमा उडान गर्ने वायुसेवा कम्पनीमध्ये पहिलो स्थानमा रहेको जेट एयरलाइन्स नेपाल वायु सेवा निगमले वाइडबडी विमानबाट सेवा सुरु गरेपछि सन् २०१८ मा दोस्रो स्थानमा झरेको थियो ।
सन् २०१८ मा जेट एयरलाइन्स ४ लाख ५० हजार ९४९ यात्रु बोक्दै दोस्रो स्थानमा रहेको थियो । भारतबाट नेपाल आउने पर्यटकका साथै यूरोपबाट नेपाल आउने पर्यटकको रोजाइमा पनि जेट एयरलाइन्स पर्ने गरेको थियो ।
दिल्ली र मुम्बईबाट यूरोपका धेरै शहरमा सीधा उडान हुने भएकाले यू्रोपबाट नेपाल आउनेको रोजाइमा जेट एयरलाइन्स छनोटमा पर्ने गरेको थियो।
सन् २०१९ को जनवरीदेखि नै आर्थिक अवस्था खराब हुँदै गएपछि जेटले विभिन्न गन्तव्यको उडान कटौती गर्यो । सन् २०१९ को पहिलो तीन महीनामा लगातार जेट एयरलाइन्सका यात्रु घट्दै आएका थिए ।
लगातार घाटामा गएपछि एयरलाइन्सको रु. १३ हजार करोडभन्दा बढी कर्जा पुगेको र विमान उडाउन इन्धनको पनि पैसा तिर्न नसकिने अवस्था आएपछि कम्पनी बन्द गरिएको हो ।
सन् १९९३ मा स्थापना भएको जेट एयरलाइन्स भारतको दोस्रो ठूलो वायु सेवा कम्पनी हो । कम मूल्यमा टिकट बिक्री गर्ने स्पाइस जेट र इन्डिगो जस्ता वायु सेवा कम्पनी खुलेपछि जेट धराशयी बन्दै गएको विभिन्न सञ्चार माध्यममा उल्लेख गरिएको छ ।
महँगो पर्यटन
सन् २०१८ मा नेपालमा करीब ४४ लाख २६ हजार यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गर्दा १०.१९ प्रतिशत यात्रु बोकेको जेट एयरलाइन्सले उडान बन्द गर्दा नेपाल आउने पर्यटक प्रभावित हुने पर्यटन व्यवसायी सुमन पाण्डे बताउँछन्।
“जेटले यूरोपका पर्यटकलाई काठमाडौं ल्याउनुका साथै सस्तो मूल्यमा भारतीय पर्यटकलाई पनि ल्याउने गरेको थियो”, उनी भन्छन्, “पर्यटकीय सिजनमा प्रायः सबै वायुसेवा कम्पनी भरीभराउ हुने भएकाले नेपाल आउने पर्यटकको लागत बढ्न सक्छ।”
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग रिह्याभिटेसनका लागि गत १ अप्रीलबाट बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म आगामी जून ३१ सम्म बन्द हुने भएकाले विदेशी वायुसेवा कम्पनीले चाहेको समयमा उडान भर्न पाउने अवस्था छैन।
जेट एयरलाइन्सले उडान गरिरहेको सल्टमा नै वायु सेवा कम्पनीले उडान थप नगर्ने हो भने पर्यटकीय सिजन (मार्च–मे) मा नेपालको यात्रा खर्चिलो बन्ने देखिन्छ।
जेट एयरलाइन्सले उडान बन्द गरेको असर काठमाडौं–दिल्ली र काठमाडौं–मुम्बईको उडानमा मात्र नभएर अन्य सेक्टरमा पनि देखिन थालेको छ। विगतमा रु. ८ देखि १० हजार सम्ममा पाइने काठमाडौं–दिल्लीको टिकट मूल्य रु. ३० हजार नाघेको छ ।
इतिहाद एयरलाइन्सका नेपाल स्थित एक अधिकारी सातामा ३५ उडान गर्ने कम्पनीले सेवा बन्द गर्दा नेपालमा उडान गर्ने अन्य कम्पनीमा यात्रुको चाप बढ्ने बताउँछन् ।
“यात्रुको चाप बढ्नु भनेको टिकट मूल्य बढ्नु हो”, उनी भन्छन्, “चीनतर्फबाट नेपाल आउने बाहेक प्रायः सबै क्षेत्रमा जेट एयरलाइन्सको उडान बन्दको प्रभाव पर्छ ।”
व्यवसायीलाई झनैं फाइदा
नेपाल वायु सेवा निगमले आगामी १८ वैशाखदेखि काठमाडौं–दिल्ली सेक्टरमा साताको ३ उडान थप गर्ने योजना बनाएको छ ।
जेट एयरलाइन्सका सबै उडान बन्द भएपछि निगमले मुम्बई र बेंग्लोरमा पनि सातामा एक–एक उडान थप गर्ने तयारी गरेको छ । दुई वाइड बडी र दुई न्यारो बडी गरी ४ विमानबाट नेपाल वायु सेवा निगमले हाल ८ गन्तव्यमा साताको ३३ उडान गरिरहेको छ ।
ओशो ट्राभलका प्रमुख श्याम थपलिया जेटको उडान बन्दपछि नेपाल वायु सेवा निगमलाई व्यवसाय विस्तार गर्ने राम्रो अवसर देख्छन् ।
नेपाल वायु सेवा निगमका वाणिज्य निर्देशक टंक दाहाल हतारमा उडान थप गर्नुभन्दा पनि नियमित उडान सुनिश्चित हुने गरी मात्र उडान थप गरिने बताउँछन् । “दुई सातापछि एउटा एयरबस ३२० नियमित मर्मतका लागि पठाउँछौँ”, उनी भन्छन्, “अहिलेको सेड्युल प्रभावित नहुने गरी उडान थप गर्ने हाम्रो योजना छ ।”
जेट बन्द हुँदा नेपालमा उडान गर्ने २८ वायु सेवा कम्पनी मध्ये सबैलाई फाइदा हुने टिकेटिङको काम गर्दै आएका ट्राभल एजेन्सीका अधिकारीहरू बताउँछन् । फ्लाई दुबई, एयर अरेबिया, ओमान लगायत एयरलाइन्सले खाडी देशको व्यवसायमा, टर्किस, कतार, इतिहादले यूरोपको व्यवसायमा र नेपाल वायु सेवा निगम, इन्डिगो, स्पाइस जेट लगायत एयरलाइन्सले भारतका विभिन्न शहरको व्यवसायमा लाभ लिन सक्ने उनीहरूको भनाइ छ।