संकट परास्त गर्ने ‘नेपाली सूत्र’
शरीरका घाउ, चोटविरुद्ध शरीरभित्रैको प्रतिरोधात्मक क्षमताले भूमिका खेलेजस्तै खराब राजनीतिका कारण सिर्जित आमनिराशालाई आशामा बदल्ने नेपालीसामु छुट्टै सामाजिक प्रतिरोध क्षमता छ ।
ग्रेगोरियन् वर्ष २०२० लाई अत्यन्त तामझामकासाथ स्वागत गरिएको थियो। सरकारले संकल्प गरेको ’भ्रमण वर्ष २०२०’ को स्वागतका लागि राजधानीको दशरथ रङ्गशालाबाट शहर नै उजिल्याउने गरी आतिशबाजी गरिएको थियो।
नयाँ वर्ष उल्लासमय र समृध्दिको वाहक हुनेमा आशा बाँकी नै थियो । त्यसैले उर्लदो पर्यटकलाई सेवा दिँदै पर्यटनको लाभांश भित्र्याउने प्रतिस्पर्धामा सबै व्यवसायी जुटे। हतार–हतार नयाँ होटल खोलिए, ऋण काढ्दै हवाइजहाज, हेलिकप्टरदेखि वातानुकुलित पर्यटकवाहन खरीद गरिए। तर, नयाँ क्यालेण्डरको दुई पातो पनि पल्टिन नपाउदै राजमार्गमा तीब्र गतिमा हुइकिएको गाडीमा अचानक ब्रेक लगाइएको जस्तो परिस्थितिले पर्यटन व्यवसायी मात्रै नभएर आम नेपालीलाई नराम्ररी झस्कायो।
सन् २०१९ ले बिदा लिँदै गर्दा चीनको वुहान शहरमा पहिलो पल्ट देखापरेको संक्रामक रोग कोभिड–१९ चीनको विशाल सरहद पार गर्दै विश्व महाव्याधी बन्ने अनुमान थोरैले मात्र गरेका थिए। तर, विश्वव्यापीकरण र कनेक्टिभिटीबाट रोग मात्र के अछुतो हुन सक्थ्यो र !
चीनको शहरवाट शुरू भाइरस दुई–तीन महिना भित्रै इरान, कोरिया, ताइवान जस्ता एसियाली मुलुक हुँदै यूरोपतिर डढेलो झैं फैलिन थाल्यो। र, यसको लपेटामा चीनको सानो दक्षिणी छिमेकी नेपाल पनि पर्न गयो।
कोरोना भाइरस मात्र नभएर राजनीतिक हिसाबले पनि सन् २०२० सुखदायी रहन सकेन। हिजो पर्यटकीय लाभ लिने अपेक्षामा लगानी गर्नेहरू पर्यटक आगमन नै ठप्प भएपछि बैंकको किस्ताबन्दी, कर्मचारीलाई तलब र घरबेटीलाई भाडा बुझाउन हम्मे हुने अवस्थामा पुगे।
महाव्याधीले जनस्वास्थ्यलाई गिजोल्दै अर्थप्रणालीलाई धिमा बनाउन थालेपछि जुन प्रकारको सुझबुझ र तयारी राजनीतिक तहमा देखिनु पर्ने थियो, त्यस विपरित नेपालको राजनीति सत्ताको खेलमा झनै गिजोलियो।
अत्यन्तै आशा गरिएको २०२० निमेषभरमा ’एन्नस होरिविलस’ अर्थात् त्रासदको वर्षमा रुपान्तरित भयो।
महामारी ‘अवसर’
नेतृत्वकर्ताका निम्ति कोभिड महामारी गुमाएको जनविश्वास जित्ने एउटा सुनौलो मौका हुन सक्ने थियो। तर महामारी नियन्त्रण निम्ति कस्तो सर्वदलीय सहमति बनाउने भन्ने कुरामा उनीहरूको ध्यान जान सकेन। बरू महामारीको निहुँमा पैसा कुम्ल्याउने, सत्ता टिकाउने, उछिट्याउने ध्याउन्नमा उनीहरू लागे।
आमनागरिकलाई बन्दाबन्दीमार्फत घरको चौकोषभित्र बन्दी बनाउँदै उनीहरू भने गाडी हुइकाउँदै गूट भेलामा निस्किए। सामान्य स्वास्थ्य मापदण्डसमेत पालना गरेनन्।
सरकारका निम्ति कोभिड–१९ महामारी निस्कण्टक शासनको मौका ठहरियो। संक्रमणको जोखिममका कारण सडक र चोकमा भेला भएर सरकारको विरोध–प्रतिरोध सम्भव नहुँदा सरकारका निम्ति यो मुर्दा शान्तिको मौका देखियो। आपतकालीन औषधि र स्वास्थ्य उपकरणमा खरीदका लागि अपारदर्शी तरिका अपनाइदै ’सेटिङ्’ मार्फत बजारमूल्य भन्दा दसौं गुणासम्म चर्को भाउमा ती समाग्री खरीद गरिए।
यस्तो खरिदारीप्रति अख्तियार दुरूपयोग अनुसन्धान आयोग मौन बसिदियो भने मिडिया र सार्वजनिक मञ्चमा खरीदबारे प्रश्न उठेपछि मुलुकका कार्यकारी प्रमुख स्वयं प्रश्नकर्तामाथि आक्रमक बन्दै खरीदको बचाउमा उत्रिए।
महाव्याधी नियन्त्रण तथा रोकथाम निम्ति युध्दस्तरमा लाग्नु पर्ने बेला प्रम खड्गप्रसाद शर्मा ओलीले दल विभाजन र संवैधानिक परिषद् सम्वन्धी अध्यादेश जारी गरे। नागरिकको जनस्वास्थ्य जस्तो अह्म मुद्दामा चरम उदासीनता राज्यका तर्फवाट त दर्शाइयो नै, आपतकालका बेला सत्तालिप्सा त्यागेर सरकार झक्झकाउनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको असन्तुष्ट खेमा अघि सरेन।
परिणामतः नेतृत्वतहको साख धुलिसात भयो नै, आम नागरिक स्वास्थ्य उपचार जस्तो मौलिक अधिकारवाट बञ्चित मात्र भएनन् चरम आर्थिक, सामाजिक, मनोवैज्ञानिक मूल्य चुकाउन बाध्य भए।
हाम्रो विडम्बनाचाहिँ, विश्व एउटा अत्यासलाग्दो कालखण्डबाट मुक्त हुँदै गर्दा हामी अर्कै खाले अध्यारो सुरूङ्मा पुनः प्रवेश गर्दैछौं। यो कुनै दैवी विपत नभएर विशुध्द मानिसको अहँकारको उपज हो, जसका मुख्य कर्ता सरकार हाक्ने नै हुन्।
‘कालो बादलमा चाँदीको घेरा’ भने झैं, खोप अनुसन्धाताको अथक प्रयासले मानव जातिका निम्ति आशाको किरण ल्याइदिए। फाइजर, मोडर्ना जस्ता कम्पनीद्वारा विकसित कोभिडविरुध्दको खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको सुखद समाचार बाहिरियो।
हाम्रो महान पर्व दशैंताका बाहिरिएको यो सुखद खबर पश्चिमेलीका महान पर्व क्रिसमससम्म आइपुग्दा कार्यान्वयन मै आइसकेको छ। बेलायत, फ्रान्स, जर्मनी स्पेनदेखि संयुक्त राज्य अमेरिकामा यो खोप आपतकालीन प्रयोग निम्ति ती देशका सरकारले अनुमति दिइसकेका छन्। प्रारम्भिक चरणमा स्वास्थ्यकर्मीलगायतका दीर्घरोगी र जेष्ठ नागरिकलाई उपलब्ध गराइएको खोप एकाध महीना भित्रै आम नागरिकसम्म पुग्नेछ। दक्षिण एसिया र खासगरी भारतमा आगामी मार्च–अप्रिलसम्म खोप आम नागरिकका निम्ति उपलब्ध हुने अपेक्षा गरिएको छ।
तर हाम्रो विडम्बनाचाहिँ, विश्व एउटा अत्यासलाग्दो कालखण्डबाट मुक्त हुँदै गर्दा हामी अर्कै खाले अध्यारो सुरूङ्मा पुनः प्रवेश गर्दैछौं। यो कुनै दैवी विपत नभएर विशुध्द मानिसको अहँकारको उपज हो, जसका मुख्य कर्ता सरकार हाक्ने नै हुन्।
समाजको ’शक अब्जर्बर’
सन् २०२० ले स्थिरताको भाष्य÷कथ्य (न्यारेटिभ)लाई विनिर्माण गरिदिएको छ। नेपालीजनको सात दशकदेखिको सपना संविधानसभा र त्यसको जगमा बनेको संविधान, २०१५ सालयताको आम निर्वाचनबाट झण्डै दुई–तिहाईको सरकार र स्थिर सरकारका कारण समृध्दिको यात्रा आदि इत्यादि कथ्य एक व्यक्ति अर्थात् प्रम ओलीको सम्पूर्ण सत्ता नियन्त्रणको सनकका कारण विनिर्माण भइसकेको छ।
२०१७ साल पुस १ को तत्कालीन राजा महेन्द्रको ’कू दे’ता’ को झलक दिने ओलीको गत पुष ५ को प्रतिनिधिसभा विघटनको कदमले मुलुकलाई पुनः अनिश्चयको भुमरी र अस्थिरताको यात्रातर्फ धकेलेको छ। ओलीको गैरसंवैधानिक कदमप्रति सम्पूर्ण राजनीतिक दल र नागरिक तप्का एकाकार भइसकेका छन् र उनको कृत्यलाई न्यायालयमा समेत चुनौती दिइसकिएको छ। अदालतले के निर्णय गर्ला, त्यो भविष्यको गर्भमा छ। तर के निश्चित छ भने, आगामी दिन राजनीतिक दृष्टिले अस्थिर र कष्टकर हुनेछन्।
नेपाली जनता र खासगरी जुझारू युवा पंक्तिले राष्ट्रवाद, सुशासन वा लोकतन्त्र कुनै पनि नाममा अधिनायकवाद मौलाउने मौका दिएका छैनन्। यस आलोकमा हेर्दा ओलीको कुचेष्टा पनि चाँडै नै धुलिसात हुने पक्का छ। यद्यपि, एक व्यक्तिको सनक वा महत्वाकांक्षा निम्ति मुलुकले निःसन्देह ठूलै मूल्य चुकाउनु पर्नेछ।
हुन त राजनीतिक क्रिया–प्रतिक्रियाका कारण नेपाली समाज भीरको अन्तिम छेऊसम्म पुगेको यो पहिलो घटना होइन। २००७, १०१७ साल मात्र होइन, वर्तमान पुस्ताले भोगेको माओवादी सशस्त्र द्वन्द्व, राजदरबार हत्याकाण्ड, राजा ज्ञानेन्द्रको ’माघ १९’ को लोकतन्त्रको हरण यस्ता कहालिलाग्दा परिघटना थिए, जसले नेपाली समाजलाई जरैदेखि हल्लाएका थिए । तर, राजनीतिक नेतृत्वको अगुवाई र आमजनको ऐक्यवध्दताका कारण समाज पटकपटक भीरबाट सकुशल मैदानमा फर्कियो ।
नेपाली जनता र खासगरी जुझारू युवा पंक्तिले राष्ट्रवाद, सुशासन वा लोकतन्त्र कुनै पनि नाममा अधिनायकवाद मौलाउने मौका दिएका छैनन्। यस आलोकमा हेर्दा ओलीको कुचेष्टा पनि चाँडै नै धुलिसात हुने पक्का छ। यद्यपि, एक व्यक्तिको सनक वा महत्वाकांक्षा निम्ति मुलुकले निःसन्देह ठूलै मूल्य चुकाउनु पर्नेछ।
पटक–पटकको भड्खालोबाट हामी कसरी उम्किदै आएका छौं? अथवा, राजनीतिको उवड–खावडबाट समाजलाई सकुशल राख्ने त्यस्तो ’शक अब्जर्बर’ अर्थात् आघात शोष्यक के हो? राजनीति निःसृत आघात वा प्रहारबाट नेपाली समाज कसरी सुरक्षित हुँदै आइरहेको छ? नेपाली समाजको तन्तु वा चरित्र के हो? यी समुच्च प्रश्नहरूले हाम्रो समाजको संरचना र राजनीतिसँग त्यसको अन्तर–सम्बन्ध उधिन्न सघाउने छन्।
मानवशास्त्री सुरेश ढकाल राजनीतिक र सामाजिक ’कोर्स’ लाई अलग गरि हेर्दछन्। राजनीतिक घटनाले समाजलाई अत्यन्तै उत्साही वा निरुत्साही पार्ने हुँदा राजनीतिक आघातका कारण समाज दुर्घटनामा पर्ने त होइन भनेर प्रश्न उठ्नु स्वभाविक हुने उनको तर्क छ। किनकि, समाज राजनीतिप्रति निरपेक्ष रहन सक्दैन।
राजनीतिक परकम्प समाजतिर फैलिए पनि त्यसले समाज नै विघटन गरि नहाल्ने ढकालको मत छ। “राजनीतिको आफ्नै प्रक्रिया हुन्छ, तर समाजलाई जोड्ने तन्तु बेग्लै हुन्छन्“, ढकाल खुलाउँछन्, “खासमा राजनीति केन्द्रमा भएकाले यसले सिधै सम्बन्ध अर्थतन्त्रसँग हुन्छ, जुन समाजतिर फैलन्छ। जसरी घटना विशेषले राजनीतिमा दीर्घकालसम्म खत बनाउँदछ, त्यस्तो खत समाजको हकमा भने अल्पकालीन हुन्छ। मानिसको शरीर जस्तै खत वा रोग पनि समयक्रमसँगै पुरिन थाल्छन्।“
तर, सतहमा जे जस्तो देखिएता पनि अन्तर्यचाहिँ फरक रहेको उनको बुझाइ छ। ढकाल आफ्नो तर्क बिस्तार गर्छन्, “अहिले राजनीति तातिएको भए पनि समाजको ठूलो हिस्सा आफ्नै जिजीविषामा व्यस्त छ। हामी शहरिया जमात धेरै पढ्ने, सुन्ने भएको हुँदा एउटा अभिमत निर्माण गर्छौं। तर, त्यो अभिमतप्रति हामी आफै कति विश्वस्त हुन्छौं त?“
राजनीतिक परकम्प समाजतिर फैलिए पनि त्यसले समाज नै विघटन गरि नहाल्ने ढकालको मत छ। “राजनीतिको आफ्नै प्रक्रिया हुन्छ, तर समाजलाई जोड्ने तन्तु बेग्लै हुन्छन्“, ढकाल खुलाउँछन्, “खासमा राजनीति केन्द्रमा भएकाले यसले सिधै सम्बन्ध अर्थतन्त्रसँग हुन्छ, जुन समाजतिर फैलन्छ। जसरी घटना विशेषले राजनीतिमा दीर्घकालसम्म खत बनाउँदछ, त्यस्तो खत समाजको हकमा भने अल्पकालीन हुन्छ। मानिसको शरीर जस्तै खत वा रोग पनि समयक्रमसँगै पुरिन थाल्छन्।“
आफ्नो तर्कलाई पुट दिदै ढकाल भन्छन्, “ति खत वा घाउ शरीरको प्रतिरोधी क्षमताका कारण निको हुन थाल्दछन्। समाजमाथिको राजनीतिको आघात पनि पनि त्यस्तै हो, जुन समाज आफैले समयक्रममा विसेक पार्दछ।“
शायद ढकालले अथ्र्याए झैं प्रतिरोधी क्षमता वा पुनरूज्जीवन (रिजेनेरेसन) नै नेपाली समाजको ’शक अब्जर्वर’ हो। २००७, ०१७, ०३६, ०४६, जेठ १९, माघ १९, ०६२–६३, पुष ५ फगत अंक वा पात्रोका तिथिमति मात्र होइनन्, यी राजनीतिक घाउका दीर्घकालीन खत हुन्।
तर, राजनीतिक घाउको संक्रमणले समाज नै तहस–नहस भएको हामीसामु उदाहरण छैन। किनकि, त्यो संक्रमण प्रतिरोधी खोप वा ’शक अब्जर्बर’ समाजमा पहिले देखि नै विद्यमान छ । यी तत्व वा तन्तुले नै हाम्रो आशा कहिल्यै मर्न दिएका छैनन्। सन् २०२० मा लागेको घाउ २०२१ ले पनि निको पार्न सकोस्।
ग्रेगोरियन नयाँ वर्ष २०२१ को सबैमा शुभकामना !