विद्युत प्रणाली सुधार्न सरकारले एडीबीसँग रु.१८ अर्ब २५ करोड ऋण लिँदै
विद्युत प्रसारण र वितरण प्रणालीको आधुनिकीकरणका लागि सरकार र एसियाली विकास बैंक (एडीबी) बीच रु.१८ अर्ब २५ करोड रुपैयाँ (१५६ मिलियन अमेरिकी डलर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ।
नेपालको विद्युत प्रणालीलाई सुधार गरी विश्वसनीय बनाउन एडीबीसँग ऋण लिन लागिएको हो।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले सम्झौतापत्रमा हस्ताक्षर गरे।
सहसचिव नेपालले विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनामार्फत विद्युत प्रसारण एवं वितरण प्रणालीमा सुधार गर्ने, विद्युत ग्रीडको आधुनिकीकरण गरी विद्युत आपूर्तिलाई दिगो र भरपर्दो बनाउने र नेपाल विद्युत प्राधिकरणको क्षमता विकास एवं सुदृढीकरण गर्ने उद्देश्य रहेको बताए।
विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको कुल लागत करिव रु. २२ अर्ब ८१ करोड रहेकोमा रु. १८ अर्ब २५ करोड एसियाली विकास बैंक र बाँकी रु. ४ अर्ब ५६ करोड नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको स्रोतबाट व्यहोरिनेछ ।
विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाबाट विद्युत चुहावटका कारण हुने उर्जा नोक्सानीलाई न्यूनीकरण गरी बचत हुने उर्जा छिमेकी मुलुकमा समेत निर्यात गर्न सकिने र यसबाट देशको आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने अर्थ मन्त्रालयले जनाएको छ ।