योमरी अर्थात् सबैलाई मनपर्ने रोटी
उपत्यकाका नेवार समुदायले यसवर्ष पनि आज बुधबार योमरी पुन्ही मनाइरहेका छन्।
हरेक वर्षको मंसिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाका दिन नेवार समुदायमा योमरी पुन्ही पर्व मनाइन्छ।
नेपाल भाषामा यो को अर्थ मनपर्ने र मरीको अर्थ रोटी हुन्छ । सबैलाई मनपर्ने भएकैले यसलाई योमरी भनिएको पनि बताइन्छ ।
चामलको पिठोबाट बनाइने योमरीमा भित्र चाकु तथा तिल राखिन्छ । गर्मीबाट जाडो बढ्दै जाँदा खाइने यो रोटीले शरीरमा गर्मी उत्पन्न गराउने पनि भनाइ छ ।
नेपाल भाषामा थिल्ला पुन्ही पनि भनिने यो पर्वमा देवीदेउतालाई चढाएर मात्र परिवार बसेर योमरी खाने चलन छ ।
योमरी पुन्हीको भोलिपल्ट आफन्त, नातागोता सबैलाई बोलाएर भोज गर्ने प्रचलन अन्य पुन्हीमा भने पाइदैन ।