के फेरि लोडसेडिङ दोहोरिन लागेको हो त ?
चिसो चुलिएसँगै साँझ–बिहान दिनदिनै झ्याप–झ्याप बिजुली जान थालेकाे छ। यसले उपभोक्तालाई फेरि लोडसेडिङका अध्याँरा दिन फर्कने हुन् कि भन्ने संशयले त्रसित बनाउन थालेको छ। सामाजिक सञ्जालमा अकस्मात विद्युत कटौतिप्रति सरकार र नेपाल विद्युत प्राधिकरणको चर्को आलोचना पनि भइरहेको छ ।
एक दशक लामो लोडसेडिङको कहर भोगिसकेका सर्वसाधारणका घरमा पछिल्ला तीन वर्षमा निर्वाधसरह बिजुलीको आपूर्ति भइरहेको थियो । तर, पछिल्ला महीनाहरुमा बिना सूचना बिजुली जान थालेपछि आजित उपभोक्तालाई लोडसेडिङको त्रासले झस्काउन थालेको हो ।
कतिपयले प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङको कुशल व्यवस्थापन हटेसँगै फेरि लोडसेडिङ हुन लागेको भनेर समेत आक्रोश पोखिरहेका छन् ।
उपभोक्ताको गुनासोप्रति नेपाल विद्युत प्राधिकरण पनि बेखबर छैन। प्राधिकरणका प्रवक्ता मदन तिम्सिना पूरानो विद्युत वितरण प्रणालीका कारण बेला–बेला विद्युत जाने समस्या पहिलेदेखि नै कायम रहेको बताउँछन् । तर, यसको अर्थ लोडसेडिङ नै भएको भन्नेमा सत्यता नभएको उनको तर्क छ ।
तिम्सिना साँझ–बिहानको कुनै कुनै बेला माग अनुसारको विद्युत व्यवस्थापनमा चाप परेपनि लोडसेडिङ नै गर्नुपर्ने अप्ठ्यारो नपरेको बताउँदै भन्छन्, “लोडसेडिङ हुन लाग्यो भनी फैल्याइएको अफवाह गलत हो, यस्तो अफवाहले झन् विद्युत प्रणालीलाई अस्तव्यस्त तुल्याउँछ ।”
काठमाडौंमा अहिले विद्युतको उच्चतम माग करीब ३७७ मेगावाटजति छ । यो गत वर्षको भन्दा करीब ५० मेगावाट थोरै हो । तर, माग घट्दा पनि विद्युतको सुचारु आपूर्ति हुन नसकेपछि व्यवस्थापनमा त्रुटी भएको भनी आलोचनाहरु हुँदै आएका छन् । तर, प्राधिकरणका अधिकारीहरु त्यसलाई स्वीकार्दैन् ।
प्राधिकरणका प्रवक्ता तिम्सिनाका अनुसार, विद्युतको वितरण प्रणाली, ट्रान्सफर्मर आदि निकै पूरानो छन् । बढेको विद्युत मागको भारलाई थेग्न तिनको क्षमताले पुग्दैन । जसकारण, बेलाबखत ती प्रणालीमा समस्या आइपर्छन्।
अर्कातिर, नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले पनि विद्युतको आपूर्तिमा गडबडी उत्पन्न हुन्छ । यसको असर विद्युतको नियमित आपूर्तिमा पर्नजान्छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने काठमाडौं उपत्यकामा प्रसारण प्रणाली पूर्ण नभएकाले विद्युत व्यवस्थापनमा व्यवधान उत्पन्न भइरहेको बताउँछन् । “कहिले कता कहिले कता ओभरलोड हुन्छ, जसलाई विद्यमान प्रणालीले थेग्दैन, जसले गर्दा विद्युत आपूर्तिमा अवरोध हुनपुग्छ,” उनले भने ।
प्रवक्ता तिम्सिनाका अनुसार, विद्युत प्रणालीमा गत वर्षभन्दा उच्चतम माग पनि कम्तीमा पनि ५० मेगावाटले बढेको छ । गत १३ पुसको साँझ विद्युतको उच्चतम माग १ हजार ४३४ मेगावाटसम्म पुग्यो । चिसोका कारण बढ्ने विद्युत खपतले गर्दा मागअनुसार विद्युत उपलब्ध गराउन पछिल्ला दिनमा प्राधिकरणलाई हम्मे–हम्मे परिरहेको छ।
काठमाडौंको दक्षिणी भेगमा काठमाडौंको विद्युत आपूर्ति प्रणालीमा सुधार ल्याउन महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन निर्माण नहुँदा पनि काठमाडौंको विद्युत आपूर्ति प्रणाली खल्बलिइरहेको छ ।
दुई दशकअघि निर्माण शुरु भएको यो प्रसारण लाइन ललितपुरका खोकना, बुङमति क्षेत्रका स्थानीयले अवरोध गरेपछि अघि बढ्न सकेको छैन । यो आयोजना नबन्दा हाल विद्युत आपूर्ति गर्ने वानेश्वर, पाटनका फिडरहरुले मागअनुसारको आपूर्ति थेग्न नसकिरहेको न्यौपानेले बताए । “लोेड व्यवस्थापन मिलाउन प्राविधिक कामहरु गरिरहेका छौं, छिट्टै यसको समाधान हुन्छ,” उनले भने ।
प्रवक्ता तिम्सिनाका अनुसार, विद्युत प्रणालीमा गत वर्षभन्दा उच्चतम माग पनि कम्तीमा पनि ५० मेगावाटले बढेको छ । गत १३ पुसको साँझ विद्युतको उच्चतम माग १ हजार ४३४ मेगावाटसम्म पुग्यो । चिसोका कारण बढ्ने विद्युत खपतले गर्दा मागअनुसार विद्युत उपलब्ध गराउन पछिल्ला दिनमा प्राधिकरणलाई हम्मे–हम्मे परिरहेको छ।
प्राधिकरणको लोड सेन्टरका एक अधिकारीका अनुसार, बिजुलीको उच्चतम माग भएका बेला लोड थेग्न नसक्दा विभिन्न स्थानमा पालैपालो १५–२० मिनेट विद्युत कटौति गरेर व्यवस्थापन गरिदैँ आइएको छ । ती अधिकारीले यो नयाँ चलन नभएको पनि बताए ।
विद्युतको उच्चतम माग लामो समय हुँदैन । खासगरी साँझको ६ बजेपछि करीब एक घण्टा सबैभन्दा धेरै विद्युत माग हुन्छ । चिसो दिनहरुमा यस बेला विद्युत व्यवस्थापन गर्न मुस्किल पर्छ । नेपालमा जाडोका महीनाहरुमा विद्युतको आन्तरिक आपूर्ति घट्छ भने घर न्यायो पार्ने उपकरण चलाउने कारणले गर्दा माग बढ्छ।
अधिकांश विद्युत परियोजनाहरु नदी प्रवाहमा आधारित (रन अफ द रिभर) प्रकृतिका रहेका हुँदा कात्तिकपछि चैतसम्मै खोलामा पानीको प्रवाह घट्न पुग्छ । जसले गर्दा विद्युत उत्पादन गृहहरुको उत्पादन क्षमता पनि खुम्चिन्छ । जस्तो, नेपालका निजी ऊर्जा उत्पादकहरुको जलविद्युत उत्पादन क्षमता ७२५ मेगावाट पुगिसके पनि खोलामा पानीको प्रवाह घट्ने हिउँदका दिनहरुमा यसको आधा पनि उत्पादन हुँदैन । प्राधिकरणकै आयोजनाहरुको उत्पादन क्षमता पनि खुम्चिन्छ।
अर्कातिर, चिसो बढ्ने हुँदा घर र कोठालाई न्यायो बनाउन विद्युतीय उपकरणहरुको प्रयोग बढ्छ । यसले विद्युत मागलाई बढाइदिन्छ । माग बढ्ने तर आपूर्ति घट्ने समस्यासँग जुध्न प्राधिकरणले भारतबाट ल्याउने विद्युतको परिमाण बढाउने गर्छ ।
अहिले नै पनि प्राधिकरणले बिजुलीको उच्चतम माग हुने साँझ बिहान ६ सय मेगावाटभन्दा धेरै बिजुली भारतबाट आयात गरिरहेको छ । प्राधिकरणका आयोजनाले करीब ५ सय मेगावाट र निजी क्षेत्रका आयोजनाले ३१० मेगावाट जति मात्रै विद्युत आपूर्ति गर्ने कारणले गर्दा भारतबाट आयात बढाउनुपरेको तिम्सिना बताउँछन् ।
फागुनसम्मै चिसो कायम रहने र खोलामा पानीको प्रवाह नबढ्ने कारणले गर्दा विद्युतको माग र आपूर्तिको सन्तुलनमा बेलाबेला समस्या आइरहने जोखिम हुन्छ । फागुनपछि भने क्रमशः चिसो घट्ने कारण पिक आवरमा विद्युतको माग खुम्चिन्छ र खोलामा पानीको वहाव बढेसँगै उत्पादन पनि बढ्न शुरु गर्छ ।
अहिले नेपालमा १ हजार ३३६ मेगावाट उत्पादन गर्ने क्षमताका विद्युत गृहहरु सञ्चालनमा छन् । वर्षायाममा यी परियोजनाहरुले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने हुँदा देशभित्रको विद्युत माग लगभग थेग्छन् । रातमा त विद्युत खेर नै जान्छ ।