महामारीमा यसरी बचाउन सकिन्छ पर्यटन
महामारीका कारण अहिले पर्यटन क्षेत्र ठूलो संकटमा छ। यसअघि १० वर्षे माओवादी सशस्त्र द्वन्द्वको समयमा पनि पर्यटन व्यवसाय अप्ठेरोमा परेको थियो। त्याेबेला नारायणी, शेर्पा, ब्लुस्टारसहितका होटल त बन्द नै भए। अहिले सबै होटल टिक्नका लागि संघर्षमा छन्।
महामारीका कारण याे बेला नेपालका ठूला होटल बन्द भए महामारी सकिएपछि पनि पर्यटक नआउने चिन्ता हुन्छ। त्यसैले एउटा क्षेत्रले आफू मात्रै एक्लै बाँच्ने कल्पना गर्नु हुँदैन। सबैले एक–अर्को क्षेत्रमा सहकार्य गर्नुपर्छ।
पर्यटनका विविध क्षेत्र जस्तो होटल, ट्रेकिङ, ट्राभल, टुर अपरेटर्स सबै एकअर्कासँग सम्बन्धित हुन्छन्। त्यसैगरी पर्यटन क्षेत्र पनि समग्र पर्यटकीय गतिविधिको एकीकृत रूप हो। होटल मात्र नभइ एअरलायन्स, टुर अपरेटर्स, कार्गोसहितका अन्य सबै क्षेत्रलाई चलायमान बनाउन पर्यटक आउनै पर्छ।
नेपालमा प्यासिफिक वा एटलान्टिक रुटबाट आउने पर्यटकलाई महत्व दिइन्छ। लामो दूरीबाट आउनुभन्दा पहिले छोटो दूरीबाट ल्याएर यो उद्योग चलाउँदै गर्नुपर्छ। युरोप र अमेरिकाबाट पर्यटक आउनुभन्दा पहिले अरु क्षेत्रबाट ल्याएर टिकाउने रणनीति त्यहीँ आधारमा बनेको हो। अहिले त्यो रणनीतिलाई पनि कोरोनाले साथ दिएन्।
पछिल्लो समय केही व्यवसायीले ‘भर्चुअल टुर’ शुरु गरेका छन्। यो समय कटाउन सहयोगी मात्र भएको छ। होटलहरुले महामारीमा संस्था बचाउन कर्मचारीको तलब कटौती गरेका छन्। यसले होटलको खर्च ३० प्रतिशतमा झार्ने आशा छ।
अहिलेको महमारीको असरबाट उम्कन न्यूनतम् दुई वर्ष टिक्नै पर्छ। त्यसका लागि सरकारले सहयोग नगरी हुँदैन। सरकारले पर्यटन क्षेत्रसहितलाई पुनस्थापना गर्न ल्याएको राहत प्याकेज कार्यान्वयनको चरणमा छ। रु.५० अर्बको पुनरुत्थान कोषजस्तै पर्यटन क्षेत्र बचाउन अर्को बलियो योजना र कार्यक्रम चाहिन्छ। साझा एजेण्डा बनाएर अगाडि बढ्नुपर्छ ।
अहिल्यै गर्न सकिने कुरा
हामी दुई ठूला मुलुकका बीचमा छौँ। दुवै धेरै पर्यटक आउने देश हुन्। ती देशको जनसंख्या पनि ठूलो छ। हामी ती देशबाट वा हुँदै अपेक्षा अनुसार पर्यटक ल्याउन चुकेका छौँ। यो बेला हामीले छोटो दूरी र यसबाट पाउने अवसरलाई हेर्नुपर्छ। छोटो दूरीको उडानलाई प्रवद्र्धन गर्नुपर्छ।
चितवनको अयोध्यापुरीस्थित होमस्टेमा अतिथिलाई स्वागत गर्दै स्थानीय । तस्वीरः डब्लूडब्लूएफ नेपाल
हामीले पर्यटन प्रवद्र्धनका लागि छोटो गन्तव्य र छिमेकी देशको प्राथमिकता भुल्नु हुँदैन। र, अहिलेदेखि नै छोटो दूरीकअ पर्यटक दृष्टिगत गरेर बजारीकरण गर्नुपर्छ। पर्यटन एक न एक दिन त पक्कै खुल्छ। यस्तो बेला जुन देश तयार भएर बस्छ, उसैले फाइदा लिने हो। हामी तयारी भएर बसेनौ भने फाइदा लिन पनि सक्दैनौ।
पर्यटन प्रवद्र्धनका लागि केही न केही गर्नैपर्छ। उदाहरणको रूपमा अहिलेको समयमा पनि बीबीसी तथा सीएनएनमा उडिसासम्बन्धी सामग्री देख्न सकिन्छ। जतिसुकै कर्मचारी कटौती गरेर वा खर्च खटाएर पनि प्रवद्र्धनलाई नगरे भोलि सकारात्मक नतिजा ल्याउन सकिँदैन।
मार्केटिङको हिसाबले आन्तरिक पर्यटन प्रवद्र्धन पनि हाम्रो आवश्यकता हो। भारतमै हेर्ने हो भने महामारीले थला परेको पर्यटन बिस्तारै उठ्ने प्रयासमा छ। होटलको ‘अकुपेन्सी’ ३३ प्रतिशत पुगिसकेको छ। चीन, इन्डोनेसियासहितका मुलुकको आन्तरिक पर्यटनको बजार निकै ठूलो हुँदै गएको छ। आन्तरिक पर्यटकले नै ती देशको पर्यटन टिक्न सक्छ।
सरकारले सातामा दुई दिन बिदा दिने र आन्तरिक पर्यटन प्रवद्र्धनकाे विषय अगाडिआएको छ। यसले आन्तरिक पर्यटनलाई पक्कै सकारात्मक गति दिन्छ। दुई दिने बिदाले खासगरी मोफसलका होटल, रेस्टुरेन्ट, लज, रिसोर्टसहितको क्षेत्रमा सहयोग मिल्छ।
आन्तरिक पर्यटन प्रवद्र्धनमा सरकारको नीति पनि स्पष्ट हुनुपर्छ। सरकारले ल्याएको नीति कार्यान्वयन हुने खालको हुनुपर्छ। सरकारले नीति ल्याइसकेपछि कार्यान्वयन पनि सहज गर्नुपर्छ। त्यसलाई साथ दिने निजी क्षेत्रको पनि दोधारे नीति हुनु भएन्। आफ्ना एजेण्डा स्पष्ट राख्ने र सानोदेखि ठूलो सबै होटल तथा पर्यटन व्यवसायी एक भएर अगाडि बढ्नुपर्छ।
पर्यटन क्षेत्र एक्लै बाँच्न सक्दैन। सबैभन्दा ठूलो सहयोग उड्डयनको हुन्छ। जसले पर्यटक भित्र्याउने काम गर्छ। होटल नभएर पर्यटनले बास पाउँदैनन्। अरु पनि धेरै क्षेत्र समानान्तर अघि बढ्नुपर्छ।
पर्यटनका अन्य क्षेत्रसँग तुलना गर्दा ब्यांकको ऋणमा होटल क्षेत्रको सहभागिता बढी हुन सक्छ। एउटा पनि होटल डुब्नु र बन्द हुनु हुँदैन। एउटा क्षेत्रले मात्रै पर्यटन स्थापित हुने होइन। पर्यटनमा लहरो तान्दा पहरो गर्जने अवस्था हुन्छ। ह्याण्डिक्राफ्ट, कार्पेटदेखि लिएर कृषि उत्पादनसम्ममा यसको सम्बन्ध हुन्छ।
विभिन्न रूपमा छरिएका पर्यटकीय उत्पादनले नेपाललाई गुणस्तरीय पर्यटक भित्र्याउन देशको रुपमा बुझ्न सकिँदैन। भुटानको जस्तो न्यूनतम खर्च गर्नै पर्ने देश हाम्रो होइन। गुणस्तरीय पर्यटन एउटा छुट्टै विषय हो। कुनै एउटा होटलको दर ४ देखि ५ डलर भन्दा कम नहुने गरी तय गरेको हुनसक्छ। त्यो होटलको निम्ति त्यो दर गुणस्तरीय हुन सक्ला। अर्को कुनै होटलले ५०० डलरको दर तय गरेको हुन्छ। उसले ४५० डलरसम्म तिर्ने पर्यटकलाई मात्रै राख्छु भन्न सक्छ।
हाम्रो सम्भावना
नेपाल कहिले पनि 'मास' पर्यटनमा जान सक्दैन। जंगल, हेरिटेज, संस्कृतिसहितको जुन 'प्रडक्ट' बिक्री गरे पनि हामीले सोही अनुसारको दर बनाएर दिनुपर्छ।
वन्यजन्तु पर्यटनमा नेपाल एसियामै 'पायोनियर' हो। तर, हामीले जसरी राष्ट्रिय निकुन्ज जोगाएर काम गरेका थियौं त्यसको महत्व अहिले भएन। निश्चित समूहको रुचीले गर्दा निकुन्ज पनि बिग्रियो। होटल पनि नटिक्ने र गुणस्तरीय पर्यटक पनि आउन नसक्ने अवस्था सिर्जना भयो।
वन्यजन्तु पर्यटनलाई खुला गर्याे भने अझै पनि नेपालको पर्यटन प्रवद्र्धनमा निकै ठूलो महत्व बढ्न सक्छ। पर्यटक भनेको पाँचतारे वा तारे होटलमा बस्ने मात्रै होइनन्। अरु क्षेत्रमा पुग्ने र अरु क्षेत्रबाट गरेको योगदानबाट सरकारलाई कति फाइदा हुन्छ भन्ने एउटा निश्चित 'बेन्चमार्क' राख्नुपर्छ। त्यसपछि मात्रै गुणस्तरीय पर्यटक ल्याउने र टिकाउने विषय आउँछ। यसका निम्ति तोकिएको शर्त पूरा गरेको अवस्थामा मात्रै पर्यटन व्यवसाय बाँच्न सक्छ।
चितवनमा जंगल सफारी गर्दै पर्यटक । तस्वीरः ध्रुव सिंह
आन्तरिक प्रतिस्पर्धाले हामीले तिर्न आएको पर्यटकसँग पनि पैसा लिन सकेका छैनौ। यसका लागि होटल, ट्राभल, टुर अपरेटर्सलाई निश्चित मापदण्ड राखेर लाइसेन्स दिने काम गर्नुपर्छ। कुनै मापदण्ड नै तय नगर्ने हो भने त्यो गुणस्तरीय पर्यटक हुन सक्दैन। नियमन पनि कडा गर्नुपर्ने हुन्छ।
कुनै पर्यटन क्षेत्र वा उद्योग अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आइटा), उफ्टा, सिंगापुरको टुर अपरेटर्स, थाई टुर अपरेटर्ससहितको सदस्य हुन चाहिने मापदण्ड पूरा गर्न सक्ने संस्था पर्यटनमा हुनुपर्छ। कुनै विदेशीले नेपालमा आएर सगरमाथा र एकसिंगे गैंडा हेर्छु भन्दा उसले आफ्नाे जिन्दगीभर कमाएको पैसा गलत व्यक्ति वा संस्थाको हातमा पर्याे भने त्यो पर्यटक डुब्न सक्छ। सधैलाई नराम्रो सन्देश जान्छ ।
हामी हरेकलाई पर्यटनमा समृद्धि चाहिएको छ। यसका लागि उपभोक्ताको अधिकार र सुरक्षाको ग्यारेन्टी गर्ने आधार पनि हुनुपर्छ। यसको अर्थ निश्चित समूहलाई मात्रै व्यापार दिनुपर्छ भन्ने होइन। होलसेलरदेखि रिटेलर्ससम्मको इच्छालाई बुझ्नुपर्छ भन्ने हो। पर्यटन व्यवसायी जति पर्यटक आए पनि सेवा दिन तयार भएर बस्नुपर्छ।
-पर्यटन व्यवसायी तथा टेम्पल टाइगरका अध्यक्ष मिश्रसँगकाे कुराकानीमा आधारित