चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ यसरी चल्दैछ ‘अप्रेसन महाहन्ट’, अहिलेसम्म १६ जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु चोरी–शिकार नियन्त्रणका लागि २५ मंसीरदेखि संचालित ‘अप्रेसन महाहन्ट’ का क्रममा अहिलेसम्म १६ जना पक्राउ परिसकेका छन्। सेनाले चलाएको यो अप्रेसनमा एक हजार सुरक्षाकर्मी खटाइएको छ।
पक्राउ परेकामध्ये दुई जनाबाट अखेटोपहार बरामद भएको छ। अन्य १३ जना भने राति माछा मार्नका लागि निकुञ्जमा नै बसेकाहरु पक्राउ परेका हुन्। बाहिनीबाटै महाहन्टका लागि विशेष फौज खटिएको छ। निकुञ्ज सुरक्षार्थ नेपाली सेनासहित एक हजार हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको बटुकदल गणका गणपति अरुण श्रेष्ठले जानकारी दिए।
निकुञ्जको सुरक्षा नेपाली सेनाको बटुकदल गणले गर्दै आएको छ। श्रेष्ठका अनुसार विशेष फौज र निकुञ्जमा रहेका सेनालाई संयुक्तरुपमा तालिम दिएर अप्रेसन महाहन्ट शुरु गरिएको हो।
नियमित सुरक्षाका अतिरिक्त महाहन्टमा विशेष सुरक्षा फौजले निकुञ्ज कर्मचारी, सरोकारवाला संरक्षणमा सम्बद्ध निकायसँग समन्वय गरी निकुञ्जको विशेष सुरक्षा गर्ने उनले बताए। महाहन्टका क्रममा चार कुकुर र पाँचवटा ड्रोनसमेत परिचालन गरिएको छ। हात्ती, गाडी, मोटरसाइकल, साइकल, पैदल, डुङ्गा गस्तीसमेत गरिँदै आएको छ।
हाल भएका पोष्टका अतिरिक्त अन्य ठाउँमा रातको समयमा पनि सुरक्षाकर्मीले सुरक्षा दिनेछन्। वर्षात् सकिएपछि हिउँदको समयमा निकुञ्जको भित्री भाग र मध्यवर्ती क्षेत्रभित्र पर्यटन मार्ग खुल्ला हुने, पात झरेर जङ्गल उजाड हुने, खरखडाइ खुल्दा मानिसको आवतजावत बढ्ने, खोला घटेर सहजै मानिस वारपार गर्नसक्ने हुनाले यो समयलाई चोरी–शिकारको दृष्टिले अति संवेदनशील समय मानेर विगत केही वर्ष यतादेखि महाहन्ट सञ्चालन गरिँदै आएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिने सेनाले २०६७ सालबाट अप्रेसन सञ्चालन गर्दै आएकामा २०७१ सालदेखि भने महाहन्ट सञ्चालन गर्दै आएको छ। पुसदेखि वर्षात् शुरु नभएसम्म महाहन्ट जारी रहन्छ।
विगतमा मङ्सिरदेखि जेठ मसान्तसम्मको समयमा ८० प्रतिशत चोरी–शिकार हुने गरेको पाइएको छ। चैतदेखि जेठसम्म ६० प्रतिशत चोरी–शिकारी भएको तथ्याङ्कले देखाएको छ। खोलानाला घटेकाले जनावर पानीको खोजीमा टाढाटाढा जाने र पातपतिङ्गर झरेर जङ्गल सफा भएको समय पारेर चोरी शिकारी हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा थप मजबुद बनाउन महाहन्ट सञ्चालन गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए।
महाहन्ट सञ्चालन अघि पनि निकुञ्ज सुरक्षार्थ नियमित गस्ती हुँदै आएको छ। जसमा पैदल, साइकल, मोटरसाइकल, गाडी, हात्ती र डुङ्गा गस्ती पर्दछन् । ‘रियल टाइम पेट्रोल मनिटरिङ’ प्रणालीबाट गस्ती टोलीले गस्ती गरेको ठाउँ र दूरी हेर्न सकिन्छ ।
यसै प्रणालीअन्तर्गत निकुञ्जका पाँचवटा सेक्टरमा रहेका गुल्मपतिले समेत अनुगमन गर्ने गरेका छन्। निकुञ्जको अमलटारी, बबई, मेघौली, सौराहा र खगेन्द्रमल्लीमा सेनाका गुल्म रहेका छन्। ती गुल्ममा एक÷एक वटा ड्रोन राखेर निरीक्षण गरिँदै आएको छ।
निकुञ्जमा ५१ ठाउँमा स्थायी पोष्ट रहेकामा महाहन्टका समयमा १२० भन्दा बढी ठाउँमा अस्थायी पोष्ट राखेर सुरक्षाकर्मी र कर्मचारी रहेर निकुञ्जको गस्ती गरिरहेका छन्। बराल महाहन्टको समयमा अनुभव प्राप्त नेपाली सेनासमेत परिचालन हुने हुँदा निकुञ्जका शङ्कास्पद सबै क्षेत्रमा पुगेर निगरानी गरिने बताउँछन्।
साउनयता मात्र चोरी शिकारीका कारण मरेका चार वटा गैँडा फेला परेका छन्। विगत लामो समयदेखि शून्य चोरी शिकार रहेको यस निकुञ्जमा यस वर्ष पुनः चोरी शिकारी बढेको हो। यससँगै निकुञ्ज सुरक्षामा नयाँ रणनीति अपनाइएको छ।