दाहालको दाबी- 'प्रतिनिधि सभा पुनर्स्थापना गरेरै छाड्छौं'
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले हठात विघटन गरेको प्रतिनिधि सभा पुर्नस्थापना गरेरै छाड्ने बताएका छन्।
दाहाल र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपाले काठमाडौमा मंगलबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले सरकारले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक, अलोकतान्त्रिक तथा निरंकुश कदम चालेको आरोप लगाए। प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्नसक्ने विशेषाधिकार यसअघिका संविधानमा भएपनि राजनीतिक स्थिरताको निम्ति नयाँ संविधानमा त्यो प्रावधान हटाइएको उल्लेख गर्दै दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरेको बताए।
दाहालले अहिले प्रतिनिधि सभा भंग नभई ओली नेतृत्वको सरकार भंग भएको दाबी गरे। उनले प्रधानमन्त्री ओलीलाई संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता तथा समानुपातिक समावेशीताको विरोधी रहेको आरोप लगाउँदै भने, "उहाँ कम्युनिष्ट आदर्श, मूल्य मान्यता र विचारमा स्खलित भइसक्नुभो। संविधानमाथि यति निर्मम प्रहार आजसम्म कसैले गरेको थिएन।"
प्रतिनिधि सभा विघटनको विरुद्धमा सबै राजनीतिक दल, बुद्धिजिवी, नागरिक आन्दोलनमा उत्रिएको र सर्वोच्च अदालतका पूर्वन्यायाधीशदेखि हरक्षेत्रका मानिसले असंवैधानिक र अलोकतान्त्रिक कदम भनिरहेको परिवेशमा सिंगो देशको आवाजलाई सर्वोच्च अदालतले सम्मान गर्नेसमेत बताए। उनले प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्चबाट फैसला आउने विश्वाससमेत व्यक्त गरे। दाहालले अदालतको फैसलालाई प्रभावित पार्न नभई त्यसका लागि सहजीकरण गर्न जनता सडकमा आएको जिकिर गरे।
'प्रतिगमन नसच्याए आन्दोलनको आँधीबेरी'
दाहालले लोकतन्त्रमाथिको प्रहारलाई सच्याएर प्रतिगमन फिर्ता नगरे आन्दोलनको आँधीबेरी सिर्जना गर्नेसमेत बताए। प्रधानमन्त्री ओलीले एक वर्ष अघिदेखि नै यसको योजना बनाएको दाबी गर्दै दाहालले राजनीतिक दल सम्बन्धी अध्यादेश, स्थायी कमिटी बैठक चलिरहेका बेला निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्तालाई संयोग मान्न नसकिने बताए।