संघीय सरकारले अधिकार नदिंदा खुम्चियौं
देशको प्रमुख व्यापारिक नाका र प्रदेश–२ को एक मात्र महानगरपालिका वीरगञ्ज मुलुककै आर्थिक गतिविधिको केन्द्र पनि हो। व्यवसायबाट राजनीतिमा आएका विजय सरावगी महानगरको मेयर भएपछि वीरगञ्जको आर्थिक नापनक्शा फेरिने अपेक्षा अझ बढी छ। वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य भइसकेका सरावगी नगरप्रमुख बनेयताको डेढ वर्षमा महानगरमा विकासको जग तयार भएको बताउँछन्। सरावगीसँग हिमाल ले गरेको संवादको सारसंक्षेपः
व्यवसायबाट पूर्णकालीन राजनीतिमा लाग्दाको अनुभव कस्तो छ ?
मेरो पारिवारिक पृष्ठभूमि राजनीतिक नै थियो । मेरो बुवा नेपाल विद्यार्थी संघको निर्वाचित केन्द्रीय कोषाध्यक्ष हुनुहुन्थ्यो । मेरो बाजे उद्योग वाणिज्य संघ वीरगञ्जको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । विगतमा मैले प्रत्यक्ष राजनीति नगरे पनि उद्योग वाणिज्य संघमा थिएँ । अब भने प्रत्यक्ष राजनीतिबाट टाढा हुन्नँ ।
निर्वाचनताका २० वर्षमा नभएको विकास पाँच वर्षमा गर्छु भन्नुभएको थियो । निर्वाचित भएको डेढ वर्षमा वीरगञ्ज महानगरमा विकासका के कस्ता आधार तयार भएका छन् ?
वीरगञ्जमा बृहत् योजना विना नै शहरीकरण र विकास तथा जग्गा खण्डीकरण भइरहेको थियो । महानगरमा बस्ती र समग्र व्यवस्थापन गर्ने गरी भू–उपयोग नीति बनाइरहेका छौं । अबको ६ महीनामा गुरुयोजना तयार हुन्छ ।
महानगरका शहरी र ग्रामीण भेगका वडाहरूबीच सहज कनेक्टिभिटी बनाउन २८ किलोमिटर सडक निर्माण गरिरहेका छौं । थप ५० किलोमिटर सडक बनाउनुपर्छ । वीरगञ्ज शहरलाई व्यवस्थित गर्न ग्रामीण क्षेत्रबाट भइरहेको बसाइँसराइ रोक्नुपर्ने चुनौती छ । पर्यटकीय पूर्वाधार बनाउने योजना छ ।
किनकि पूर्वाधारकै अभावमा अहिले रक्सौल नाकाबाट भित्रिने पर्यटकलाई यहाँ एक दिन पनि रोक्न सकिएको छैन । सिर्सिया नदीलाई व्यवस्थापन गर्नुछ । ट्रकहरू यत्रतत्र रोकिने समस्या समाधान गर्न ट्रान्सपोर्ट हब बनाउनुपर्नेछ ।
यति धेरै आयोजनाका लागि स्रोत कसरी जुटाउनुहुन्छ ?
सबै आयोजना सरकारले मात्र सञ्चालन गर्न सक्दैन । म ‘बुट मोडल’ (निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण) मा विश्वास गर्छु । सरकारले धेरै ऋण लिएर पूर्वाधारमा लगानी गर्दा शिक्षा, स्वास्थ्यमा लगानी गर्न स्रोतको अभाव हुन्छ ।
त्यसैले निजी क्षेत्रलाई प्रतिस्पर्धा गराएर आयोजना निर्माण र सञ्चालन गर्न दिनुपर्छ । रोजगार सिर्जनाका लागि पनि लगानी हुनैपर्छ । वीरगञ्ज महानगरभित्र ५०० बिघा भन्दा बढी ऐलानी जग्गा छ, उक्त जग्गा प्रयोग गर्ने अधिकार दिन हामीले संघीय सरकारलाई आग्रह गरेका छौं ।
त्यो जग्गामा औद्योगिक ग्राम बनाउने हाम्रो प्रस्ताव छ । सरकारी जग्गामा वृक्षरोपण गर्न वा पार्क बनाउन सहज भए पनि पूर्वाधार निर्माण गर्न निकै कठिन छ ।
कार्यकालको डेढ वर्षको अवधिमा संघीय सरकारबाट कस्तो सहयोग पाउनुभयो ?
संविधानले दिएका अधिकार देऊ भनेर संघीय सरकारसँग निरन्तर लडिरहनुपरेको छ । संघीय सरकारले कानून नबनाउँदा समस्या कायमै छ । शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा संविधानले दिएका अधिकार उपयोग गर्न पाएका छैनौं ।
जस्तैः विद्यालय शिक्षाको अधिकार स्थानीय तहलाई दिइए पनि हामीले गरेको शिक्षक सरुवा अदालतले रोकेको छ । संघीय सरकारले समायोजन गरेका कर्मचारीलाई एक तह बढुवा गरेपछि स्थानीय तहमा विगतदेखि काम गर्दै आएका कर्मचारीहरूले पनि बढुवाको माग गरेका छन् ।
जनताको अपेक्षा अनुसार काम कति भएका छन् ?
जनताका अपेक्षा धेरै छन्, हामीसँग सीमित स्रोत छ । त्यसैले सबै अपेक्षा पूरा गर्न सकिएको छैन । तर, मैले इमानदार प्रयास गरिरहेको छु । जनताको अपेक्षा अनुसार काम गर्न हामीलाई ३०० करोड रुपैयाँ चाहिन्छ । जबकि अहिले हामीले ४२ करोड रुपैयाँ मात्र कर उठाउन सकेका छौं ।
महानगरले विभिन्न शीर्षकमा लगाएको करमा विवाद देखिंदा पछि हट्नुपरेको थियो । कर प्रणाली सुधारमा के गर्दै हुनुहुन्छ ?
कर भनेको तिर्न सक्नेबाट उठाउने हो । विगतमा कर संकलनमा परम्परागत तवरले सोच्दा समस्या आयो । आगामी वर्ष त्यस्तो समस्या नआओस् भनेर करको विषयमा अध्ययन गर्न उपमेयरको संयोजकत्वमा विज्ञ सम्मिलित आयोग बनाएका छौं ।
अर्को कुरा, जनता कर तिर्न तयार छैनन् । हरेक वडाका घरघरमा २१ दिनभित्र कर तिर्न आग्रह गर्दै पत्र लेखेका छौं । तर, तोकिएको म्यादभित्र कर नतिर्नेको संख्या ठूलो छ ।
स्थानीय सरकारमा सुशासनबारे उठेको प्रश्नमा के भन्नुहुन्छ ?
आफ्नो अधिकारका लागि जनता सचेत नहुँदासम्म सुशासन कायम गर्न चुनौतीपूर्ण हुन्छ । कार्यालयहरूमा छिटो काम गराउन घुस खानेसँगै घुस दिने बानी पनि परिसकेको छ । कुनै कर्मचारी वा वडाध्यक्षले घुस मागेर काम रोकेका छन् भन्ने जानकारी आएका ठाउँमा मैले कारबाही गरेको छु ।
वडा कार्यालयलाई धेरै किसिमका सिफारिश गर्ने अधिकार दिंदा समस्या आएको मलाई लागेको छ । तर, स्थानीय सरकार सञ्चालन ऐनले नै वडाध्यक्षलाई अधिकार दिएकोले मैले हस्तक्षेप गर्न मिल्दैन । आफ्नो क्षेत्राधिकारमा भने सुशासन कायम गर्न म सचेत छु ।
आफ्नो पार्टी (संघीय समाजवादी फोरम) सँग तपाईंको राम्रो सम्बन्ध छैन भन्ने चर्चा छ, विवादको जड के हो ?
पार्टीसँग अझै पनि टकराव नै छ । यसको मुख्य कारण पार्टीबाट आउने अनावश्यक दबाब हो । मबाट अञ्जानमा गल्ती होला, तर कानून विपरीतका काम आफ्नै पिताले भने पनि गर्दिनँ ।
महानगरको ठेक्का कसलाई दिने, समितिमा कसलाई नियुक्त गर्ने, जागिर कसलाई लगाउने भन्ने दबाब आउँछ । म यस्ता धन्दा गर्न महानगरमा आएको होइन । सबै काम सिस्टमले गर्छ । जुनसुकै तहबाट आएको अनुचित दबाब मान्दिनँ । पार्टीका केही साथीलाई महानगरको कोषबाट लाभ लिनुपर्छ भन्ने लागेको होला । मबाट त्यस्तो अपेक्षा पूरा हुँदैन ।
तपाईं व्यवसायीका साथै वीरगञ्ज उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष पनि हुनुहुन्छ । वीरगञ्जका उद्योगीका प्रमुख समस्या के छन् ?
उद्योगीहरूले उठाउँदै आएका आधारभूत समस्या उस्तै छन् । मुख्य कुरा नीतिगत स्थिरता छैन । अर्थतन्त्र आयातमुखी भयो भन्ने चिन्ता सबैमा रहे पनि उद्योगहरूलाई संरक्षण गरिएको छैन । सामान आयात गरेर व्यापार गर्दा बढी नाफा हुन थाल्यो भने उद्योग सञ्चालन किन गर्ने भन्ने प्रश्न आउँछ ।
देशमै कच्चा पदार्थ पाइने चिनी, कागज जस्ता उद्योगमा समेत हामी प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनौं भने कच्चा पदार्थ आयात गरिएका उद्योगले कसरी प्रतिस्पर्धा गर्न सक्छन् ? हाम्रो उद्योगले कुन क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्छन् भन्ने सामान्य अध्ययन समेत भएको छैन ।
नाकाबन्दीपछि वीरगञ्जको व्यावसायिक वातावरण जर्जर बन्यो, कतिपय उद्योगी–व्यवसायीहरू पलायन भए । वीरगञ्ज पूर्ववत् गुलजार हुने संभावना कति छ ?
विगतमा देखिएको राजनीतिक समस्या अब आउँछ जस्तो लाग्दैन । अहिले देशैभर उद्योग भन्दा पनि व्यापार गर्नेको संख्या बढ्दो छ । छिमेकी देशको तुलनामा औद्योगिक उत्पादनको लागत घटाउन सक्यौं भने मात्र आयातमा निर्भर अर्थतन्त्रलाई ठीक ठाउँमा ल्याउन सकिन्छ । त्यसमा वीरगञ्जले पनि महत्वपूर्ण योगदान गर्न सक्छ ।
तपाईंको कार्यकालको बाँकी साढे तीन वर्षमा वीरगञ्जमा के कस्ता परिवर्तन हुन्छन् ?
साढे तीन वर्ष होइन, एक वर्षमै धेरै परिवर्तन हुन्छ । निर्वाचनका क्रममा जनतासँग गरेका सबै वाचा कार्यकालको अन्त्यसम्ममा पूरा हुन्छन् । कर्मचारी समायोजन, केन्द्र सरकारको अड्चनका बावजूद विगत डेढ वर्षमा धेरै काम शुरु भएका छन् ।
शुरुआतमा सरकारी प्रक्रियाबारे जानकार नहुनाले पनि समस्या भयो, अब भने काम नगर्ने छुट मलाई छैन । आज वीरगञ्जको फोटो खिचेर राख्नुस्, एक वर्षपछि कति काम भयो भनेर आफैं तुलना गर्नुहोला ।
प्रस्तुतिः शरद ओझा/सुरेश बिडारी