‘एन्टी जेम्स बन्ड’
झूट र विरोधाभाषलाई लेखनको मूल विषयका जोन ल क्यारेले जीवनमा थोरै मात्रै अन्तर्वार्ता दिए। आजीवन साहित्यिक पुरस्कार लिन अस्वीकार गरे। उनी पुरस्कारबाट होइन पाठकबाट लेखकको गुणस्तर थाहा पाउनुपर्ने विचार राख्थे।
जोन ल क्यारेको पहिलो र दोस्रो उपन्यासलाई पाठक र समीक्षकले ठिकै मात्रै रुचाए। तेस्रो ‘द स्पाइ हु केम इन् फ्रम द कोल्ड’ भने उत्पात लोकप्रिय भयो। तर, त्यही बेला उनको जीवनमा अचानक उनका बुवा झुल्किए।
ल क्यारेका बुवा रोनाल्ड उर्फ रोनी “म जोन ल क्यारेको बाबु र एजेण्ट ‘रोन ल क्यारे’ हुँ, म उसको उपन्यास बारे चलचित्र बनाउँदै छु“, भन्दै थुप्रै मान्छेसँग पैसा उठाउँदै थिए।
रोचक त के भने, जोन ल क्यारे डेभिड कर्नबेलको साहित्यिक उपनाम मात्र थियो। जोन र रोनको नाममा संयोगले अनुप्रास मिलेपछि बाबुलाई के चाहियो ? उनी पनि रोनाल्ड कर्नवेलबाट बने– रोन ल क्यारे।
विरोधाभाषका लेखक
ल क्यारेले आजीवन दोहोरो जीवन बाँच्ने, झुटको खेती गर्ने, र अरुलाई झुक्याउँदा झुक्याउँदै आफ्नो पहिचानबारे आफैं अन्योलमा पर्ने पात्रहरु बारे लेखे। उनले त्यस्ता पात्रहरुका मनोविज्ञान मिहीन ढंगले उधिनेर प्रस्तुत गर्न सफल भए, किनकी उनको जीवनमा सबैभन्दा नजिक, प्रभाव पार्ने पात्र नै त्यस्तै स्वभावका वास्तविक चरित्र थिएः उनका बुवा रोनी। बाबुले आफ्नो एजेण्ट हुँ भन्दै चलचित्र सेटमा गएको, निर्मातासँग भेटेको र अनगिन्ती मानिसको पैसा खाएको ल क्यारेले निकै पछि मात्रै थाहा पाए।
ल क्यारे जासुसी कथा पनि लेख्थे। ती कथाहरु पनि यस्तै ढाँटहरुको सुक्ष्म मनोवैज्ञानिक अध्ययनले भरिपूर्ण हुन्थे। समीक्षकहरु भन्छन्– ल क्यारेका उपन्यास कुनै एक विधामा अटाउँदैनन्, तिनीहरुलाई ‘जासुसी कथा’ भनेर मनोरञ्जनको मात्र संज्ञा दिन मिल्दैन। जासुसी कथामा मानिसको मनोविज्ञानको गहिराईसम्म पुग्ने कलामा उनी उस्ताद नै थिए।
त्यसैले पनि गएको डिसेम्बर १२ मा उनको निधन भएपछि विश्वभरका पाठक शोकमग्न छन्। धेरै पाठकको समान भनाइ छ– उनीजस्तो लेखक अरु कोही छैन्, हुन पनि सक्दैन।
ल क्यारेका बुवा ठग थिए। तर, आफ्ना छोराहरु भने उच्च वर्गीय समाजका हिस्सा बनून् भन्ने चाहन्थे। त्यसैले उनले छोराहरुलाई एउटा राम्रो निजी विद्यालयमा भर्ना गरिदिएका थिए। रोनाल्ड कहिले लिमोजिनमा विद्यालय आइपुग्थे त कहिले हिरासतमा हुन्थे। बाबुको अनुपस्थिति बारे बताउनुपर्दा ल क्यारे भन्थे– मेरा बुवा ब्रिटिश सरकारका लागि जासुसी गर्छन्, त्यसैले बेला बेलामा हराउँछन्।
उपन्यासकार इएन फ्लेमिङले सृजना गरेको पात्र जेम्स बन्डको छवि ‘ग्ल्यामरस’ छः उनी हेर्दा आकर्षक र फेसनेबल छन्, उनी अनेक किसिमका हतियार सजिलै चलाउँछन्, आफ्नो बोली व्यवहारले मानिसलाई प्रभावित पार्छन्, र जहाँ जान्छन् त्यहाँ नयाँ प्रेमिका बनाउँछन्। स्माइली भने होचो कदका पेट लागेका अधबैंसे हुन्छन्, केही सामान चलाउन जान्दैनन्, सामाजिक भेटघाटमा अप्ठ्यारो मान्छन्, अन्तर्मुखी छन्। उनका अनेक मनोवैज्ञानिक समस्या छन्, श्रीमतीले समेत उनलाई धोका दिन्छिन्।
ल क्यारेले दोहोरो जीवन बाँच्नुपर्ने बाध्यता पनि त्यहीँबाट शुरु भएको थियो। आफ्नो आत्मकथामा उनी भन्छन्, “हामी (म र दाजु) हुर्किँदै गर्दा परिवार छिन्नभिन्न भएको याद छ, हामीले आफ्नो नयाँ पहिचान बनाउनु थियो। त्यो पहिचानका लागि म नजिकका साथीहरुका लवाइखवाइ, बोली र व्यवहारबाट अंश– अंश बटुल्थें।”
जेम्स बन्ड भर्सेस जर्ज स्माइली
१६ वर्षको उमेरमा ल क्यारे निजी विद्यालय छोडेर जर्मनी गए। थुप्रै वर्ष त्यही बिताएर जर्मन भाषा र साहित्य बारे जानकार उनलाई बेलायतको गुप्तचर सम्बन्धी निकायले काममा भर्ना गर्यो। प्रसिद्ध गुप्तचर सँस्थाहरु एमआई फाइभ र एमआई सिक्समा काम गर्दा गर्दै उनले पहिलो उपन्यास लेखे। ती संस्थामा काम गर्ने अधिकारीले आफ्नो नाममा उपन्यास लेख्ने नपाउने हुनाले उनले साहित्यिक उपनाम राख्नु परेको थियो।
पहिलो पुस्तकमा नै ल क्यारेले आफ्नो सबभन्दा लोकप्रिय पात्रको प्रवेश गराएका थिएः जर्ज स्माइली। स्माइली पनि ल क्यारे जस्तै गुप्तचर हुन्छन्, तर त्यो बेला (अहिलेसम्मै पनि) लोकप्रिय गुप्तचर पात्र जेम्स बन्डभन्दा बिल्कुल फरक।
उपन्यासकार इएन फ्लेमिङले सृजना गरेको पात्र जेम्स बन्डको छवि ‘ग्ल्यामरस’ छः उनी हेर्दा आकर्षक र फेसनेबल छन्, उनी अनेक किसिमका हतियार सजिलै चलाउँछन्, आफ्नो बोली व्यवहारले मानिसलाई प्रभावित पार्छन्, र जहाँ जान्छन् त्यहाँ नयाँ प्रेमिका बनाउँछन्। स्माइली भने होचो कदका पेट लागेका अधबैंसे हुन्छन्, केही सामान चलाउन जान्दैनन्, सामाजिक भेटघाटमा अप्ठ्यारो मान्छन्, अन्तर्मुखी छन्। उनका अनेक मनोवैज्ञानिक समस्या छन्, श्रीमतीले समेत उनलाई धोका दिन्छिन्।
सन् १९६१ मा प्रकाशित ल क्यारेको पहिलो उपन्यास एउटा हत्याको कथा ‘कल फर द डेड’ बजारमा त्यति चलेन, तर पछिका उपन्यासमा स्माइलीको पात्र निकै चर्चित बन्यो। त्यस्तो अनाकर्षक पात्रलाई लिएर पनि सफल पुस्तकहरु लेखेपछि ल क्यारेलाई ‘एण्टि बोण्ड’ पनि भनियो।
ल क्यारेको तेस्रो उपन्यास ‘द स्पाइ हु केम इन् फ्रम द कोल्ड’ एउटा पूर्वी युरोपियन देशमा गरिएको गुप्तचर मिशन बारे थियो। अर्को देश बारे जानकारी खोज्दा के गर्नुपर्छ ? कसरी गोप्य रुपमा जानकारी आदानप्रदान गर्नुपर्छ ? गुप्तचरको निष्ठा र विश्वास कतातिर हुन्छ ? गुप्तचरी गरेर अर्को देशको गोप्य रहस्यहरू खोतल्दै जाँदा अर्को देशलाई हानी पुग्यो भने के गर्ने ? के आफ्नो देशको हितका लागि अर्को देशको अहित गर्न मिल्छ ?
उपन्यासमा कुनै उत्तर थिएन, कुनै राष्ट्रवादी भाषण सहितको सुखान्त थिएन, खाली थिए त उत्तर खोजिरहेका, मनोवैज्ञानिक समस्यासँग जुधिरहेका मानिसहरु।
अचम्म चाहिँ के थियो भने यी सबै नैतिक, राजनीतिक र मनोवैज्ञानिक प्रश्नसँगै यो पुस्तकमा जासुसी कथामा हुनुपर्ने रहस्य र बलियो कथानक पनि थिए। प्रायः लेखकले यी दुई चीजमध्ये एक मात्र गर्न सक्छन्, कि त बलियो पात्र बनाएर मनोवैज्ञानिक समस्या देखाउन सक्छन्, कि रहस्य र बलियो कथानक बनाउन सक्छन्। पाठकहरुले यो नौलो शैलीलाई निकै रुचाए।
धेरैको बुझाई थियो– ल क्यारेले उपन्यासमा आफ्नै जासुसी कामको अनुभव राखेको हुनुपर्छ। तर उनले सधैं यसलाई अस्वीकार गरे। “त्यो बेला मैले खासै केही महत्वपूर्ण काम गरिन। नचिनेका मान्छेहरुको लागि नबुझेका सन्देश ओसारपसार गर्थें, त्यति नै हो।”
उनले उपन्यास नितान्त काल्पनिक हो भने पनि पाठक र समीक्षकले पत्याएनन्। उपन्यास अत्यन्त सफल भएपछि ल क्यारे सरकारी जागिर छोडेर पूर्णकालीन लेखक बने। त्यसपछिका उनका पुस्तकले पनि बेलायती गुप्तचरी, नैतिक द्वन्द्व र अन्तर्राष्ट्रिय सम्बन्धहरुको सत्य चित्रण नै गर्छन् भन्ने पाठकको विश्वास रह्यो।
ल क्यारे शुरुवाती कालमा पूर्वी र पश्चिमी शक्तिहरुबीच शीतयुद्धकालमा हुने गुप्तचरी बारे लेख्थे। शीतयुद्धको अन्त्य भएपछि धेरैले उनलाई सोधे रेः अब त तिम्रो कमाई खाने बाटो नै रहेन, के लेख्छौ ?
तर ल क्यारे शीतयुद्धको अन्त्य र पश्चिमा आदर्शको जीतको खुशियाली मनाउनतिर लागेनन्। उनी संसारका अन्य ठूला समस्या र आफ्नै देशका नकारात्मक प्रवृत्तिमाथि प्रहार गर्नतिर लागे। त्यसपछिका उपन्यासमा उनले हतियार व्यापार, औषधी व्यापार, अन्तर्राष्ट्रिय सम्बन्धमा सैनिक शक्तिको बढ्दो प्रभाव, नागरिकमाथि सरकारहरुको बढ्दो निगरानी लगायतका विषयमा लेखे।
अध्याँरो तर अद्भूत
मेरो लागि व्यक्तिगत रुपमा यीमध्ये धेरै विषयमा प्रवेश ल क्यारेकै पुस्तबाट भएको हो। किशोरावस्थामा ‘द स्पाइ हु केम इन फ्रम द कोल्ड’ पढेपछि मैले शीतयुद्ध बारेका सामग्री खोजी खोजी पढें। ‘द लिटल ड्रमर गर्ल’ पढेपछि मैले दिनरात इजरायल र प्यालेस्टिनीको द्वन्द्व र इतिहास बारे घोत्लिए।
ल क्यारेका करीब दुइ दर्जन पुस्तकमध्ये मैले आधा जति पढें। पहिले त उनका पुस्तक पढिसकेपछि पढ्ने चीज बाँकी नै नहोला कि जस्तो लाग्छ, त्यसैले आधा चाहिँ पढनै बाँकी छ।
दोस्रोचाहिँ, उनका किताब पढ्न सजिलो छैन। उनले कहाँ कता जानकारी लुकाएका हुन्छन्, थाहा पाउनै गाह्रो। एक वाक्य मात्र छुट्यो भने कथाको उतारचढाव नै नबुझिने हुन सक्छ।
मलाई सम्झना छ, कुनै पत्रिकामा ले क्यारेको धेरै प्रशंसा पढेपछि मैले उनको लोकप्रिय उपन्यास ‘द स्पाइ हु केम इन फ्रम द कोल्ड’ एउटा पुस्तकालयबाट ल्याएकी थिएँ। पुस्तक सानो भएपनि मलाई पढिसक्न निकै दिन लाग्यो, र पढुञ्जेल अँध्यारोमा छामछुम गरेजस्तो लाग्यो।
कथाको ‘टोन’ अँध्यारो थियो। जीवनदेखि, गुप्तचरीदेखि, राष्ट्रवाददेखि, आदर्शदेखि मोहभंग भएका, कहिल्यै नहाँस्ने मानिसहरु निराशामा केही गर्दै थिए। तर किन गर्दैथिए वा के भइरहेको भन्ने बारे पनि थाहा नपाइने। बेला बेलामा त किन यति मेहनत गरेर पढेको हुँला जस्तो पनि लाग्थ्यो।
‘त्यस्ता मानिसले अरुसँग मात्रै होइन, सधैं आफुसँग पनि झुट बोल्नु पर्ने हुन्छ। सर्कसमा चटक देखाउने मानिस वा मञ्चमा एउटा भूमिका खेल्ने अभिनेता वा जुवा तासमा झुक्याएर पैसा ठग्ने मानिस वा कुनै पनि सानोतिनो ठगले केही बेर मात्रै छुट्टै व्यक्तित्व बनाउँदा हुन्छ, अरु बेला आफ्नै व्यक्तित्वमा फर्किए हुन्छ। तर जासुसले भने त्यसो गर्न मिल्दैन। हरक्षण, एक्लै हुँदा पनि, ऊ आफुले बनाएको व्यक्तित्वमै रहनु पर्छ। उसले आफुलाई अरुबाट मात्रै होइन, आफैंबाट पनि जोगाउनु पर्छ। र, अन्त्यमा उसले आफु को हुँ भन्ने नै बिर्सिन्छ‘, ल क्यारे भन्थे।
जब सकिनसकी अन्त्यसम्म छिचोले, अचानक घाम लागे जसरी सबै कुरा छर्लङ भयो। त्यो लेखाई र कथाको शक्तिले म अच्चम्भित भएँ, अन्त्यको त्यो गहिरो नैतिक अन्योलमा धेरै दिन रुमलिएँ। र, आजसम्म पनि त्यो पुस्तक पढ्दाको अनुभव बिर्सेकी छैन, जसलाई लेखक ग्राहम ग्रीनले ‘सर्वोत्कृष्ट जासुसी उपन्यास’ भनेका छन्।
'द पर्फेक्ट स्पाइ'
पाठक र समीक्षकले सर्वोत्कृष्ट मानेको उनको उपन्यास हो– द पर्फेक्ट स्पाइ, जसले अन्तर्राष्ट्रिय द्वन्द्व मात्र होइन, आन्तरिक द्वन्द्वमा पनि उत्तिकै ध्यान दिएको छ। जासुसको जीवन कस्तो हुन्छ ? सधैं झुट बोल्ने मानिसको मनोविज्ञान कस्तो हुन्छ ? उपन्यासमा यस्ता प्रश्न खोतलिएको छ।
‘त्यस्ता मानिसले अरुसँग मात्रै होइन, सधैं आफूसँग पनि झूट बोल्नुपर्ने हुन्छ। सर्कसमा चटक देखाउने मानिस वा मञ्चमा एउटा भूमिका खेल्ने अभिनेता वा जुवा तासमा झुक्याएर पैसा ठग्ने मानिस वा कुनै पनि सानोतिनो ठगले केही बेर मात्रै छुट्टै व्यक्तित्व बनाउँदा हुन्छ, अरु बेला आफ्नै व्यक्तित्वमा फर्किए हुन्छ। तर जासुसले भने त्यसो गर्न मिल्दैन। हरक्षण, एक्लै हुँदा पनि, ऊ आफूले बनाएको व्यक्तित्वमै रहनु पर्छ। उसले आफूलाई अरुबाट मात्रै होइन, आफैंबाट पनि जोगाउनु पर्छ। र, अन्त्यमा उसले आफू को हुँ भन्ने नै बिर्सिन्छ‘, ल क्यारे भन्थे।
ल क्यारेको संसारमा शत्रुलाई ड्याङ ड्याङ गोली हान्दै हिँड्ने ह्याण्डसम जासुस छैनन्। उनका जासुस शत्रुसँग मित्रता गाँस्दै शत्रुकै खेमामा छिर्छन्, शत्रुलाई सबभन्दा प्रिय मित्र बनाउँछन्। तर, देशप्रति पनि उत्तिकै निष्ठा राख्छन्। दुईमध्येमा एक छान्नु पर्यो भने कसलाई चुन्ने ? त्यो जासुसलाई पनि थाहा नहुन सक्छ।
ल क्यारेको पुस्तकमा कुनै सजिलो फिल्मी समाधान वा सुखान्त छैन। तर, के हाम्रो जीवन पनि त त्यस्तै छैन र ? जीवनका प्रारम्भिक प्रभाव, कुनै पीडादायी घटना, वा अमिट छाप बनाउनेलाई हामी के नै पो गर्न सक्छौ र ?
अब्बल जासुस को हो ? अब्बल जासुस त्यो हो जो जासुस नै होइन, ऊ शत्रुको खेमामा यसरी स्थापित भइसकेको हुन्छ कि शत्रु पक्षको आफ्नै सरह हुन्छ। त्यस्तो अवस्थामा जासुसी गर्दा उसले के सोचिरहेको हुन्छ ? उसले कसलाई धोका दिइरहेको हुन्छ ? धोका दिँदा उसले सन्तुष्टि पाउँछ कि पाउँदैन ?
मनोवैज्ञानिक द्वन्द्वले पाठकको ध्यान खिँच्न सफल यस्ता पात्रको रचना गर्ने क्षमताको बिज ल क्यारेमा बाल्यकालमै रोपिएको देखिन्छ। आत्मकथामा उनले भनेका छन्, “ग्राहम ग्रीनले भनेका छन्, बाल्यकाल लेखकको धन हो। र, त्यो हिसाबले म करोडपति हुँ।
ल क्यारेले अगाडि लेखेका छन्, “मलाई बाल्यकाल बारे धेरै याद छैन, खाली एउटा ठूलो तनाव मात्रै थाहा छ, जसले मलाई यो उमेरसम्म पनि छोडेको छैन। आज आएर आफैंलाई सुन्दा र हेर्दा म कता कता हराएका आफ्ना पहिचानका अवशेष पाउँछु, र त्यसमा सबभन्दा प्रमुख थिए मेरा बाबु। बाबुको आफूबारे सानोभन्दा सानो सत्य पनि स्वीकार नगर्ने स्वाभावले मलाई एउटा अनुसन्धानको बाटोमा डोर्यायो, जहाँबाट म कहिल्यै फर्किइनँ।”
‘द पर्फेक्ट स्पाइ’मा उनले ठग बाबु जस्तै पात्र रिक पिम बनाएका छन्। ल क्यारे आजीवन आफ्ना बाबुको सोचाइ र अपराधसँग जुझ्दै बसे, त्यसलाई बुझ्ने कोशिश गरे। सबभन्दा नजिकको त्यस्तो सम्बन्धको आलोकमा संसारलाई बुझ्नुपर्ने बोझबाट कहिल्यै मुक्त भएनन्। त्यही सत्यलाई उनले उपन्यासमा उतारेका छन्। जीवनको उत्तरार्द्धमा ल क्यारेले भनेका थिए, “मेरो बाबु, कहिलेकाहीँ म उनको वरीपरी हिँड्छु, कहिले लाग्छ अझै पनि त्यो मैले चढ्नै नसक्ने एउटा अजंगको पहाड हो।”
ल क्यारेको पुस्तकमा कुनै सजिलो फिल्मी समाधान वा सुखान्त छैन। तर, के हाम्रो जीवन पनि त त्यस्तै छैन र ? जीवनका प्रारम्भिक प्रभाव, कुनै पीडादायी घटना, वा अमिट छाप बनाउनेलाई हामी के नै पो गर्न सक्छौ र ?
ल क्यारेका उपन्यास, र खासगरी ‘द पर्फेक्ट स्पाइ’ले लेखाइ र सत्य बीचको सम्बन्ध पनि उजागर गर्छन्। उपन्यासमा उनको जीवनको सत्य उम्लेर आएको छ। उनको लेखाइमा भावनात्मक सत्य भएरै हुनसक्छ, उपन्यासले धेरै पाठकको मन छोएको छ।
मलाई लाग्छ, हामी कलामा भावनाको सत्य नै खोजिरहेका हुन्छौ, र जुन कलामा त्यो सत्य भेटिन्छ, त्यसैले हाम्रो मन छुन्छ। ल क्यारेले साहित्यमा एउटा मापदण्ड छाडेर गएका छन् –ह्रदयको सत्य र अन्तर्द्वन्द्व उजागर गर्ने।
पश्चिमा आदर्शका आलोचक
झूटो बोल्ने मानिसहरुको चित्रण गर्दा गर्दै पनि ल क्यारेले सधैं पश्चिमा आदर्शका नैतिक कमजोरीको आलोचना गरे। युद्धहरु, व्यवसायिक संसार, अन्तर्राष्ट्रिय जगतमा सैनिक बलमिच्याइँ र त्यसले कम सैनिक शक्ति भएका देशमा पारेको नकारात्मक प्रभाव, आतंकवाद र आतंकवादलाई आफ्नो हितमा प्रयोग गर्न नहिच्किचाउने पश्चिमा आदर्श आदिको आलोचना गर्दा गर्दै अन्त्यमा उनले ब्रेक्जिटको आलोचनामा पनि उपन्यास लेखे।
अन्तिम उपन्यास ‘एजेन्ट रनिङ इन द फिल्ड’ प्रकाशित हुँदा उनको उमेर ८७ वर्षको थियो। यत्तिका उमेरसम्म पनि युवावय झैं शिल्प र शैली नगुमाई अनवरत लेखिरहने लेखक कमै छन्। तर त्यो भन्दा पनि महत्वपूर्ण उनको अन्तिम समयसम्मको स्पष्ट नैतिक चेत हो। यस्तो लेखाइलाई ल क्यारे प्रजातन्त्रकै एक रुप मान्दथे। ‘प्रजातान्त्रिक भनिएका मुलुकमा पनि सरकारको निगरानी बढ्दै जाँदा, पत्रकारितामाथि नियन्त्रण बढ्दै जाँदा, त्यसको प्रतिरोध गर्न सक्षम एउटा मञ्च साहित्य पनि हो’, उनी भन्थे।
ल क्यारेका पुस्तकमाथि अनेकन् चलचित्र र टिभी सिरियल बनेका छन्। उनले जीवनमा थोरै मात्रै अन्तर्वार्ता दिए, र आजीवन साहित्यिक पुरस्कारहरु लिन अस्वीकार गरे। उनी पुरस्कारबाट होइन पाठकबाट लेखकको गुणस्तर थाहा पाउनुपर्ने विचार राख्थे।