यो वर्ष रु. १ खर्ब ५७ अर्ब मूल्य बराबरको धान फल्यो, उत्पादकत्व अहिलेसम्मकै उच्च
प्रमुख कृषि बाली धान खेतीका बेला रसायनिक मल युरियाको चर्को अभाव भएपनि यो वर्ष धान उत्पादन बढेको तथ्यांक कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको छ ।
मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार, यो वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान फलेको छ, जुन गत वर्ष भन्दा ७० हजार ८३१ टन धेरै हो । यो वर्ष फलेको धान अहिलेसम्मकै उच्च हो ।
समयमैं मनसुनी वर्षा शुरु भएर गत वर्षको भन्दा करीब एक तिहाई बढी वर्षा भएको, करीब १ प्रतिशत बढी खेतमा रोपाई बढेकोे तथा देशमा रसायनिक मलको अभाव भएपनि धान उत्पादनमा ७० प्रतिशत योगदान रहेका तराईका जिल्लामा भारतबाट युरिया मल ल्याई किसानले प्रयोग गरेका कारण धान उत्पादन बढेको कृषि मन्त्रालयले जनाएको छ । यसका अलावा गुणस्तरीय उन्नत बीउको प्रयोगले धान उत्पादन बढाएको मन्त्रालयले दाबी गरेको छ ।
आर्थिक वर्ष २०७३/७४ मा १४.५ रहेको बीउ प्रतिस्थापन दर यो वर्ष २३.४२ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, यो वर्ष धानको उत्पादकत्व ३.८२ टन प्रति हेक्टर पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो । गत वर्ष धानको उत्पादकत्व प्रति हेक्टर ३.८० टन थियो ।
मौद्रिक मूल्यमा यो वर्ष करीब रु. १ खर्ब ५७ अर्ब मूल्य बराबरको धान उत्पादन भएको अनुमान गरिएको छ । यसमा परालको मूल्य जोडिएको छैन । यो वर्ष कृषि मन्त्रालयले मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल रु. २ हजार ७३५ र मध्यमस्तरको धानको मूल्य प्रतिक्विन्टल रु. २ हजार ८८५ तोकेको थियो । कुल धान उत्पादनको ६० प्रतिशत मोटा र बाँकी मध्यम र मसिनो भएको अनुमान गर्दा यो परिमाण मूल्यमा धान उत्पादन भएको अनुमान गरिएको छ ।
कृषि मन्त्रालयले देशैभरिका कृषिसम्बन्धित कार्यालयहरुले संकलन गरी पठाएको तथ्यांक, मनसुनी वर्षाको तथ्यांक, उन्नत र हाइब्रिड बीउबीजनको उपलब्धताको तथ्यांक, रोग किराको प्रभाव आदिको विश्लेषण गरी धान उत्पादनको तथ्यांक सार्वजनिक गरेको हो । हिमाली क्षेत्रको पर्यावरणका विषयमा अध्ययन गर्ने संस्था इसिमोडसँगको सहकार्यमा रिमोट सेन्सिङ विधिमार्फत भू उपग्रह तस्वीरको विश्लेषणले पनि धान उत्पादनको आँकडा निकाल्न सहयोग गरेको मन्त्रालयले जनाएको छ ।
गत वर्ष ५ असारमा भित्रिएको मनसुनी वर्षा यो वर्ष ३० जेठबाटै शुरु भएको थियो । गत सालको मनसुन अवधिका तुलनामा यो वर्ष ३१ प्रतिशत बढी वर्षा भएका कारण धान रोपाई छिटो र बढी क्षेत्रफलमा हुन सकेको थियो । छिटो धान रोपाई हुनसक्दा उत्पादन बढ्ने सम्भावना ज्यादा हुन्छ । यो वर्ष १४ लाख ७३ हजार क्षेत्रफलमा रोपाई भएको थियो, यो गत वर्षको तुलनामा करीब १४ हजार हेक्टर धेरै हो ।
यो वर्ष सबैभन्दा धेरै प्रदेश नम्बर २ मा १४ लाख ३२ हजार टन धान फलेको थियो । त्यसपछि प्रदेश नम्बर १ मा १२ लाख ७५ हजार टन धान फलेको थियो । सबैभन्दा थोरै कर्णाली प्रदेशमा १ लाख ३७ हजार टन धान फलेको थियो ।
धान उत्पादन कहिले कति ?
आर्थिक वर्ष धान उत्पादन (मेट्रिक टन)
२०७७/७८ ५६ लाख २१ हजार ७१०
२०७६/७७ ५५ लाख ५० हजार ८७८
२०७५/७६ ५६ लाख १० हजार ०११
२०७४/७५ ५१ लाख ५१ हजार ९२५
२०७३/७४ ५२ लाख ३० हजार ३२७