संखुवासभामा प्रहरी र नेत्रविक्रम चन्द समूहबीच गोली हानाहान
संखुवासभामा प्रहरी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान भएको छ। जिल्ला सदरमुकाम खाँदबारीबाट करीब ६० किलोमिटर उत्तरपूर्वमा पर्ने चैनपुर नगरपालिका–४ मैदानेमा दिउँसो करीब सवा ३ बजेतिर प्रहरी र चन्द समूहका कार्यकर्ताबीच गोली हानाहान भएको हो।
मैदानेमा चन्द समूहका जिल्ला इन्चार्ज युवराज राई लगायतका नेता, कार्यकर्ता बसिरहेको विशेष सूचनाको आधारमा पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीले टोलीले उक्त क्षेत्र घेरा हालेर ‘फायरिङ खोलेको’ थियो। त्यसपछि चन्द समूहका कार्यकर्ता ५/६ राउण्ड फायर गर्दै त्यहाँबाट भागेका संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरले बताए।
दुवै समूहबीच गोली हानाहान भएपनि कुनै क्षति भने भएको छैन। प्रहरीले केही विस्फोटक सामग्री चाहिँ बरामद गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार चन्द समूहका कार्यकर्ता भागेको जंगल क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। यसअघि पनि मैदानेमा २ पटक सुरक्षार्की र चन्द समूहबीच भिडन्त भइसकेको छ।
स्रोतका अनुसार राईसहितका कार्यकता बसेको थाहा पाएपछि प्रहरी उनीहरूलाई नियन्त्रणमा लिने उद्देश्यले गएको थियो। उनीहरूलाई आत्मसमर्पण गर्न आग्रह गर्दै प्रहरीले पहिले फायर खोलेको थियो। तर, चन्द समूहका कार्यकर्ताले समेत जवाफी फायरिङ गरेर भागेका थिए। त्यसपछि भने प्रहरीले दर्जन बढी फायरिङ गरेको थियो।