स्रोत नखुलेको १२ लाख रूपैयाँसहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको १२ लाख रूपैयाँसहित रौतहट प्रहरीले दुई जना भारतीयलाई नियन्त्रणमा लिएको छ।
भारतबाट नेपालतिर आइरहेका भारत बिहार राज्यको सीतामढी जिल्लाको बैरगनिया थानाअन्तर्गतको फूलबरिया गाउँका ४० वर्षीय ललन कुमार तथा त्यहीँकै २३ वर्षीय रोहित जयसवाललाई रौतहट प्रहरीले गौर नगरपालिका–४ मा स्रोत नखुलेको १२ लाख नेपाली रूपैयाँसहित नियन्त्रणमा लिएको हो।
नेपाल–भारत सीमा क्षेत्रमा दुवै जनालाई जाँच गर्दा दुवै जनाले बोकेको हाते झोलाभित्र राखिएको ६/६ लाख नेपाली रूपैयाँ बरादम गरिएको प्रहरीले जनाएको छ।
दुवै जनालाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि गौर भन्सारमा बुझाएको प्रहरीले जनाएको छ।
यसैगरी रौतहट प्रहरीले लागू औषधसहित दुई भारतीयलाई पक्राउ गरेको छ। गौर नगरपालिका–४ बसपार्कमा रहेको प्रहरी चौकीको टोलीले पैदल यात्रु तथा सवारी साधनलाई जाँच गर्ने क्रममा भारतको बिहार राज्य मोतिहारी जिल्लाको हसनपुर बलुवा गाउँका २३ वर्षीय अनिलकुमार जयसवालको सेतो हाते झोलाबाट नोर्फिन दुई एमएलको एम्पुल ४५० वटा, डाइजेपाम दुई एमएलको एम्पुल ४५० वटा, फेनारागोन दुई एमएलको एम्पुल ४५० वटा गरी एक हजार ३५० वटा एम्पुल बरामद भएको छ।
ठूलो परिमाणमा लागूऔषध बरामद भएपछि जयसवालका साथी बिहारको मोतिहारी जिल्लाको कुडवा चैनपुरका २२ वर्षीय रवि कुमारलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।