काठमाडौं-तराई द्रुतमार्ग प्रविधिमैत्री हुने, अप्टिकल फाइबर बिछ्याउँदै टेलिकम
नेपाल टेलिकमले काठमाडौं-तराई/मधेश द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने भएको छ। टेलिकम र द्रुतमार्ग आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउने सम्बन्धी एक सम्झौता भएको छ।
राजधानीलाई मधेशसँग जोड्ने तुलनात्मक रूपमा छोटो (७२.५ किमि)को यो मार्गमा अप्टिकल फाइबर बिछ्याउने नेपाल टेलिकमले नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन सो सडक आयोजनासँग सम्झौता गरेको हो।
अप्टिकल फाइबर बिछ्याउने प्रावधानहरूसहित आयोजना र टेलिकमबीच १० पुसमा एक सहमति भएको टेलिकमले जानकारी दिएको छ।
नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र द्रुतमार्ग सडक आयोजनाका तर्फबाट आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलबाट सम्झौतामा हस्ताक्षर भएको छ।
विभिन्न प्याकेजमा चरणगत रूपमा निर्माण हुने द्रुत सडक आयोजना निर्माणका क्रममा नै अप्टिकल फाइबरसँग सम्बन्धित ठेक्का समावेश गरी आवश्यक संरचना निर्माण गर्दै जाने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ।
अत्यन्त तीव्र गतिमा निकै ठूलो परिमाणमा डाटा आदान प्रदान गर्न सकिने अप्टिकल फाइबर प्रविधि जडानका लागि जमिन खन्ने, पाइप बिछ्याउने र त्यसमा केबल राख्ने कार्य गर्नुपर्ने हुन्छ। यस कार्यमा लाग्ने आर्थिक व्ययभार नेपाल टेलिकमले व्यहोर्ने छ।
अप्टिकल फाइबर बिछ्याउने कार्यको प्राविधिक सुपरभिजन लगायतका कार्य कम्पनीका तर्फबाट गर्ने पनि टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।