सवारी चालक अनुमतिपत्रको परीक्षा खुल्यो, मंगलबारदेखि फारम भर्नेको आइतबार लिखित परीक्षा
कोभिडका कारण नौ महीनादेखि बन्द रहेको सवारी चालक अनुमति पत्रको अनलाइन फाराम १४ पुसदेखि र लिखित परीक्षा १९ पुसदेखि गर्ने गरी तयारी शुरू भएको छ।
सरकारले कोरोना भाइरस संक्रमण (कोभिड–१९)को जोखिमका कारण नौ महीनादेखि बन्द गरेको सवारी चालक अनुमति पत्रको परीक्षा खुला गरेको छ। सरकारले १४ पुस (मंगलबार)बाट सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम खुला गर्ने निर्णय गरेको हो।
मंगलबार अनलाइन फाराम भरेका आवेदकको १९ पुसमा (आइतबार) लिखित परीक्षा लिने गरी आवश्यक तयारी भइरहेको सम्बन्धित यातायात व्यवस्था कार्यालयले जनाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू परिपालना गर्ने व्यवस्था गरी अनलाइन फाराम खुला गर्ने निर्णय १० पुसमा भएको यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले बताए। उनका अनुसार अनलाइन परीक्षा फाराम भर्न देशैभरका सम्बन्धित यातायात कार्यालयलाई अनुमति दिइएको छ।
मोटरसाइकलको दैनिक १००, स्कुटर र गाडीको ५०/५० वटा लिखित परीक्षाको कोटा मागेको चाबहिल यातायात कार्यालयले जानकारी दिएकाे छ। यातायात व्यवस्था विभागले उक्त कोटालाई स्वीकृति दिएको अवस्थामा आगामी आइतबारबाटै लिखित परीक्षा सञ्चालन हुनेछ।
अनलाइन फाराम खुला गरेपछि कहिलेबाट लिखित तथा प्रयोगात्मक परीक्षा शुरू गर्ने र कुन मितिबाट शुरू गर्ने भन्ने निर्णय पनि सम्बन्धित कार्यालयले नै व्यवस्थापन मिलाउने भुसालको भनाइ छ।
यातायात व्यवस्था कार्यालय चाबहिलका सूचना अधिकारी रोहित पोखरेलका अनुसार अनलाइन फाराम खुला भएपछि दैनिक कोटा तोकेर परीक्षा लिन अनुमति मागिएको छ। लाइसेन्सको सर्भर र कोटाको स्वीकृति यातायात व्यवस्था विभागले दिनुपर्ने हुन्छ।
चाबहिल कार्यालयले मोटरसाइकलको दैनिक १००, स्कुटर र गाडीको ५०/५० वटा लिखित परीक्षाको कोटा मागेको पोखरेलले बताए। यातायात व्यवस्था विभागले उक्त कोटालाई स्वीकृति दिएको अवस्थामा आगामी आइबारबाटै लिखित परीक्षा सञ्चालन गर्ने गरी तयारी भइरहेको पनि उनले जानकारी दिए।
आइतबार नभ्याइएको अवस्थामा मात्रै सोमबारबाट परीक्षा सञ्चालन गर्ने गरी तयारी यातायात व्यवस्था कार्यालय चाबहिलको छ।
पोखरेलका अनुसार परीक्षार्थीको चाप अनुसार परीक्षा सञ्चालन गर्ने गरी योजना तय भएको छ। परीक्षार्थी धेरै भए दैनिक र कम भए सातामा ३ दिन परीक्षा लिने तयारी छ। नौ महीनापछि लाइसेन्स परीक्षा सञ्चालन गर्न लागिएको आवदेनकको चाप बढ्ने र धेरै परीक्षा लिनुपर्छ भन्ने अनुमान गरिएको छ।
कोभिडका कारण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्ने भएकोले हाललाई दैनिक परीक्षा सञ्चालन गर्न एक सयसम्मको मात्रै कोटा मागिएको छ। सहज भएको अवस्तथामा विस्तारै कोटा बढाउँदै लैजान सकिने बुझाइ पनि यातायात कार्यालय चाबहिलका सूचना अधिकारी पोखरेल बताउँछन्।