नेकपा एकीकरणका ‘सूत्रधार’ मानिएका चिनियाँ नेता यचौ काठमाडौंमा !
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको संकटसँगै राजनीतिक अनिश्चय बढेका बेला चिनियाँ उच्च अधिकारीको टोली काठमाडौं आइपुगेको छ। प्रतिनिधि सभा विघटनपछिको राजनीतिक घटनाक्रमलाई नजिकबाट केलाउन पैचिङको विशेष प्रतिनिधिका रूपमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नेता कुअ यचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबार मध्यान्ह काठमाडौं आइपुगेको हो।
सीपीसीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री यचौको टोलीले चार दिने नेपाल बसाइको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतसँग भेटवार्ता गर्ने बताइएको छ।
नेकपाले विभाजनको बाटो समातेका बेला यचौको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच एकताका लागि ७ फागुन २०७४ मा सात बुँदे समझदारी हुने बित्तिकै यचौ नेपाल भ्रमणमा आएका थिए।
उनले त्यसबेला तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका नेतालाई भेटेको सार्वजनिक भएको थियो। उनले यी दुई कम्युनिष्ट पार्टीको एकीकरणका लागि सूत्रधारका रुपमा काम गरेको रूपमा अर्थ्याइएको थियो।
यचौ नेपाल मामिलामा जानकार चिनियाँ नेता मानिन्छन्। ३० भदौ–३ असोज २०७५ मा तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहालले चीन भ्रमण गर्दा क्वाङ्चौमा यचौले दाहाललाई स्वागत गरेका थिए। दाहाललाई स्वागत भेट गर्न आएका यचौ टिसर्टमा आएपछि त्यसलाई कूटनीतिक प्रचलन विपरीतको तथा चिनियाँ असन्तुष्टिका रूपमा अर्थ्याइएको थियो।
नेकपा स्रोतका अनुसार, नेकपाले यति छिटै विभाजनको बाटो समात्ने अपेक्षा चिनियाँ कम्युनिष्ट पार्टीले गरेको थिएन। अझै पनि, नेकपाको विवादलाई साम्य पार्न सकिन्छ कि भन्ने बाटो खोज्ने पहलस्वरूप यचौ नेपाल भ्रमणमा आएको स्रोतको दाबी छ।
“नेकपाले फुटको बाटो समाते नेपालमा भारतीय प्रभाव बढ्ने बुझाइ चिनियाँ कम्युनिष्ट पार्टीको छ। अर्कातिर, यचौको नेपाल भ्रमण नेकपा फुटका विषयमा चीन कति गम्भीर छ भन्ने सन्देश पनि हो,” स्रोतले भन्यो।
नेकपा विवादकै बीच नेपालस्थित् चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओलीका साथै नेकपाका शीर्ष नेताहरूलाई भेट्दै आएकी छन्। गत जेठमा पनि नेकपामा तीव्र विवाद भएका बेला यान्छी सक्रिय भएर विवाद मिलाउन भूमिका खेलेकी थिइन्।