ऊर्जामन्त्री रायमाझी भन्छन्- ‘एमसीसी लागू गर्दा देशमा आक्रमण हुन्छ भन्ने विश्वास लाग्दैन’
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू गर्नुपर्ने बताएका छन्।
आइतबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै नवनियुक्त ऊर्जामन्त्री रायमाझीले कुनैपनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न नहुने भन्दै एमसीसीलाई लागू गरेर अगाडि बढ्नुपर्ने बताएका हुन्।
उनले एमसीसी सम्झौतामा देशको स्वाभिमान कमजोर पार्ने विषय भएमा सच्याएर भएपनि कार्यान्वयनमा लैजानुपर्ने बताए।
“एमसीसीमा कतिपय सम्झौता गर्दाखेरी देशको स्वाभिमानलाई कमजोर पार्ने खालका बुँदाहरू छन् भने त्यसलाई सुधार गर्न सकिन्छ तर, हामीले विदेशी लगानीलाई ल्याउन हुन्न भन्ने कुरा, यो अपराध नै हो, यो हाम्रो देश ‘कोल्याप्स’ हुन्छ, हाम्रो देशमा आक्रमण हुन्छ भन्ने कुराहरूमा मलाई विश्वास छैन”, मन्त्री रायमाझीले भने।
पछिल्लो समयका हरेक सरकारले एमसीसीलाई अनुमोदन गर्दै आएकोले पनि पास गरेर अगाडि बढ्नुपर्ने बताए।
एमसीसी लागू गर्न नसक्ने हो भने भारतसँग जोड्ने ट्रान्समिसन लाइन निर्माण हुन नसक्ने र यसले देशको ऊर्जा उत्पादनमा ठूलो नोक्सानी पु¥याउने मन्त्री रायमाझीले बताए।