प्रदेश सभाको हिउँदे अधिवेशन ७ माघमा बोलाउन सिफारिस गर्ने प्रदेश १ सरकारको निर्णय
प्रदेश नं. १ को आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आगामी ७ माघमा बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ।
बैठकले प्रदेश सभाको बैठक ७ माघ दिउँसो २ बजेका लागि आह्वान गर्न सिफारिसको निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए। नेकपाको दाहाल नेपाल पक्षले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेका बेला प्रदेश सभा बैठक बोलाउन सिफारिस गरिएको हो।
यसअघि मुख्यमन्त्री राईले शनिबार आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका थिए। आजै बिहान सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटनमन्त्री विजयकुमार विश्वासले राजीनामाको घोषणा गरेका थिए। आजको मन्त्रिपरिषद बैठकमा उनीहरु तीनै जना सहभागी थिएनन्।