प्रदेश १ का एक मन्त्री र दुई राज्यमन्त्रीले दिए राजीनामा, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी
प्रदेश नं. १ का एक मन्त्री र दुई राज्यमन्त्रीले राजीनामा दिएका छन्। राजीनामा दिनेमा सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा विवादपछि फुटतर्फ नेताहरु अघि बढ्दा प्रदेशमा पनि त्यसको असर देखिएको छ। मुख्यमन्त्री शेरधन राईले शनिबार अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका थिए। आफूविरूद्ध अविश्वास प्रस्ताव ल्याउन हस्ताक्षर गरेको भन्दै उनले आङ्बोलाई हटाएका थिए।
कुल ९३ सांसद रहेको प्रदेश सभामा नेकपाका ६७ सांसद छन्। पार्टी विभाजनपछि शेरधन राई नेतृत्वको ओली समूहमा २२ सांसद छन्। दाहाल–नेपाल पक्षमा ४० सांसद छन्। चार सांसद अहिलेसम्म खुलेका छैनन्।
यसैबीच दाहाल–नेपाल पक्षले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी गरेको छ। आजै आगामी मुख्यमन्त्रीमा भीम आचार्यको नाम राखेर अविश्वास प्रस्ताव दर्ताको तयारी छ।
आचार्य संसदीय दलको नेताको चुनावमा यसअघि शेरधन राईसँगै पराजित भएका थिए। राईलाई पूर्व माओवादी खेमासहित माधव नेपाल पक्षका जीवन घिमिरे समूहले साथ दिएको थियो।