लेस्टर र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिँदा एभर्टन दोस्रो स्थानमा उक्लियो
इङ्लिस प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेपछि शेफिल्ड युनाइटेडलाई पराजित गर्दै एभर्टन दोस्रो स्थानमा उक्लिएको छ।
लेस्टर सिटीले घरेलु मैदान किङ पावर स्टेडियममा म्यानचेस्टरसँग २-२ को बराबरी खेलेको छ। म्यानचेस्टरका अक्सेल टुआन्जेबेले ८५औँ मिनेटमा आत्मघाती गोल उपहार दिएपछि लेस्टरले बराबरी गरेको हो।
यसअघि दुई पटक अग्रता लिएर पनि म्यानचेस्टरले जित निकाल्न सकेन। उसका लागि मार्कस राशफोर्ड र ब्रुनो फर्नान्डेसले गोल गरे। लेस्टरका हार्भे बार्नेसले एक गोल गरे। अंकतालिकामा लेस्टर २८ र म्यानचेस्टर २७ अंकसहित तेस्रो र चौँथो स्थानमा छन्।
अर्को खेलमा एभर्टनले शेफिल्ड युनाइटेडलाई १-० गोलले हराउँदै चौँथो स्थानबाट दोस्रो स्थानमा फड्को मारेको छ। एभर्टनका लागि गिल्फी सुगार्डसनले गोल गरेका थिए। जितसँगै एभर्टनको २९ अंक पुगेको छ। म्यानचेस्टरले भने लेस्टर र एभर्टनभन्दा एक खेल कम खेलेको छ।
उता चेल्सीलाई ३-१ गोलले हराएपछि आर्सनललाई केही राहत मिलेको छ। यो सिजन खराब प्रदर्शन गरिरहेको आर्सनलको जितपछि १७ अंक पुगेको छ र तालिकाको १४औँ स्थानमा छ। चेल्सी भने २५ अंकसहित सातौँ स्थानमा यथावत रहेको छ।
यसैगरी म्यान्चेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई २-० गोल अन्तरले पराजित गर्दै पाचौँ स्थानमा उक्लिएको छ। १४ खेल खेलेको सिटीको २६ अंक छ। गए रातिको खेलमा सिटीका लागि इल्काए गुन्डोगान र फेरान टोरेसले गोल गरे।