विश्वभरि फैलियो कोरोनाभाइरसको नयाँ ‘भेरिएन्ट’
बेलायतमा पहिलो पटक पत्ता लागेको कोरोनाभाइरसको नयाँ ‘भेरिएन्ट’ एसिया, उत्तर अमेरिका, अष्ट्रेलिया र अफ्रिकामा पनि पुगिसकेको पाइएको छ।
बढी संक्रामक मानिएको नयाँ भेरिएन्ट अहिलेसम्म युरोपियन देशहरुसँगै क्यानडा, जापान र दक्षिण अफ्रिकामा भेटिएपछि धेरै देश पुगिसकेको अनुमान गरिएको छ। बेलायतबाट क्रिसमस मनाउन घर फर्किएकाहरुबाट युरोपका धेरै देशमा कोरोनाको नयाँ स्वरुप भित्रिएको बताइएको छ।
पछिल्लोपटक युरोपका स्पेन, स्विट्जरल्याण्ड, स्वीडेन, फ्रान्स लगायतमा यो भाइरस फेला परेको छ। त्यसअघि डेनमार्क, जर्मनी, इटाली र अष्ट्रेलियामा समेत कोरोनाको नयाँ ‘भेरिएन्ट’ फेला परेको थियो।
क्यानडामा एक जोडी दम्पतीलाई संक्रमण भएको छ। उनीहरुको यात्रा विवरण नखुलेको कारण फैलने संभावना बढेको त्यहाँका अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ। उनीहरु क्यानडाको टोरोन्टो नजिकका बासिन्दा हुन् र अहिले ‘सेल्फ–आइसोलेसन’ मा छन्।
उता जापानमा पनि बेलायतबाट फर्किएका पाँच जनामा यो भाइरसको संक्रमण पत्ता लागेको थियो। त्यसबाहेक अरु दुई जना यस्ता संक्रमित पत्ता लागिसकेका छन्। तीमध्ये एक जना जापानमा स्थायी बसोबास गरिरहेका बासिन्दा हुन्।
उनी २० वर्षभन्दा माथिको उमेरकी महिला भएको र उनले विदेशबाट आउने कसैलाई पनि नभेटेको जनाइएको छ। अर्का पुरुष भने ३० वर्षभन्दा माथि उमेरका पाइलट हुन्। उनी १६ डिसेम्बरमा लण्डनबाट फर्किएका थिए।
जापानले सोमबारबाट लागू हुने गरे गैरआवासीय विदेशीहरुलाई एक महीनाका लागि प्रवेशमा प्रतिबन्ध लगाएको छ। कोरोनाभाइरसको नयाँ स्वरुप पत्ता लागेपछि विश्वव्यापी रुपमा यात्रा प्रतिबन्धहरु ल्गाउन थालिएको छ। शुरुमा बेलायतका लागि लगाइएको यात्रा प्रतिबन्ध अन्य देशका लागि पनि लागू गर्न थालिएको छ।
स्पेनको राजधानी मड्रिडमा चार जना यस्ता संक्रमित फेला परेका छन्। सबै बेलायतबाट फर्किएकाहरु हुन्। तर, उनीहरु गम्भीर बिरामी भने नभएको जनाइएको छ।
स्विट्जरल्याण्डमा भेटिएका तीनमध्ये दुई जना बेलायत नागरिक हुन्। स्विट्जरल्याण्ड मात्र युरोपको यस्तो देश हो जसले क्रिसमस र नयाँ वर्ष मनाउन पर्यटकहरुलाई स्वागत गरिरहेको छ। करीब १५ दिनअघि देखि बिदा मनाउन बेलायतबाट हजारौँ पर्यटक त्यहाँ पुगेका छन्।
यसैबीच युरोपका धेरै देशले धमाधम कोरोनाविरुद्धको खोप लगाउन थालेका छन्। उत्तर–पूर्वी जर्मनीका स्वास्थ्यकर्मीहरुले आफूहरु खोपका लागि अर्को दिन पर्खन सक्ने अवस्थामा नरहेको बताएका छन्। जर्मनीले भर्खरै फाइजर र बायोनटेकको खोपलाई अनुमति दिएको छ। उता हङ्गेरी, स्लोभाकिया लगायत देशले पनि खोप दिन शुरु गर्ने जनाइसकेका छन्।
विज्ञहरुले कोरोनाभाइरसको नयाँ ‘स्ट्रेन्स’ पुरानोभन्दा बढी संक्रामक भए पनि बढी घातक नभएको बताएका छन्। तर, यसमा थप अनुसन्धान आवश्यक रहेको उनीहरुको भनाइ छ।