माइतीघरमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन: ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’
नागरिक समाजका अगुवाहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन्। ‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीहरूले शंख बजाउँदै संसद विघटनको विरोध गरे।
नेपालको संविधानमाथि प्रहार भएकोले विरोध प्रदर्शन गर्नु परेको बृहत नागरिक आन्दोलनमा सहभागी अधिकारकर्मीहरूले बताएका छन्। सरकारले संसद विघटन गरेर देशलाई प्रतिगमनतर्फ लगेको भन्दै सरकारको यो कदम संसद विघटन मात्रै नभई संविधान माथिकै आक्रमण भएको उनीहरूको भनाइ छ।
प्रदर्शनमा सहभागी नागरिक अधिकारकर्मीहरूले संविधान भित्रैबाट अहिलेको समस्याको समाधान खोज्नुपर्ने बताएका छन्। प्रदर्शनमा सहभागीले ‘जो रक्षक उही भक्षक’, ‘संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’, ‘संसद विघटनको दुस्साहस, लोकतन्त्रको उपहास’, ‘म नागरिक संविधानको पालक, नेताज्यु तपाईं नी ?’, ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘संविधान माथिको प्रहार, इतिहासको ठूलो अत्याचार’ लेखिएका प्लेकार्ड बोकेका थिए।
बृहत नागरिक आन्दोलनले आगामी दिनका लागि थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ। नागरिक अगुवाहरूले १८ पुससम्म एक दिन बिराएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको बताएका छन्।