संसद विघटनविरुद्धको प्रदर्शनमा सहभागी बन्न देउवाको अपील
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएकाविरुद्ध १३ पुसमा हुने प्रदर्शनमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैलाई अपील गरेका छन्।
कांग्रेसले १३ पुस, सोमबार देशका १६५ निर्वाचन क्षेत्रमा गर्ने विरोध प्रदर्शनमा सक्रिय सहभागी बन्न देउवाले अपील गरेका हुन्।
‘विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्वपदाधिकारीहरूको बैठक आयोजना गरेर बैठकमार्फत् संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं’, देउवाले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रूपले एकमतसाथ उभिएको छ।’
कांग्रसेसको जारी केन्द्रीय कार्यसमिति बैठकले १३ पुसमा देशभर प्रदर्शन गर्ने निर्णय गरेको थियो। अहिले कांग्रेसको सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित रहेको देउवाले बताएका छन्।
‘पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमकाविरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु’, देउवाले भनेका छन्।