‘एक गाउँ, एक भैरव दाइ’
नेपालका सबै गाउँमा मानिस छँदैछन्, मिहिनेत गर्ने पाखुरा छँदैछन्। जमिन, पानी, बोटविरुवा, हावा, घामजस्ता प्राकृतिक साधन धेरथोर मात्रामा छँदैछन्। मात्र उत्प्रेरकको मात्र खाँचो छ। सबै गाउँमा एक-एक जना भैरव दाइ पुर्याउन सके आधारभूत आवश्यकता पूरा हुनेरहेछ।
यो वर्ष भैरव दाइ, म र ध्रुव बस्नेत बितेको २५ वर्ष भइसक्ने थियो। हामी गोरखाको ५ हजार मिटर अग्लो लार्के भञ्ज्याङमा थियौँ। बाँच्ने आश थिएन, उपाय थिएन र बाँच्नुपर्ने कारण पनि थिएन किनभने त्यसअघि एकपछि अर्काे गल्ती गरेर, आफ्नै बुद्धिले, आफ्नै मिहिनेतले हामी त्यो हालतमा पुगेका थियौँ।
एउटा त्यस्तै सन्जोगले हामी तीनै जना बाँच्यौँ।
म भैरव दाइलाई पुनर्जीवनको २५ वर्ष पार गरेकोमा हार्दिक बधाई र शुभकामना दिन्छु। उहाँले यही जुनीमा दुईटा खण्ड गरेर ९२ वर्ष पार गर्नुभएको छ। यसमा पनि म उहाँलाई शुभकामना दिन्छु, उहाँको सु–स्वास्थ्य र दीर्घ जीवनको कामना गर्छु।
चुनाव हार्दाको फाइदा
भैरव दाइ र मेरो भेट २०४७ सालमा भए जस्तो लाग्छ । २०४८ सालको शुरूमा आमचुनाव भएको थियो। भैरव दाइ चुनावमा उठ्नु भएको थियो। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट भक्तपुरमा।
म संलग्न संस्था नेपाल वातावरण पत्रकार समूहका साथीहरू मिलेर भैरव दाइलाई सहयोग गर्ने भएका थियौं। म दाइको चुनावी अवस्था कस्तो रहेछ भनेर बुझ्न दुवाकोट गएको थिएँ। त्यहाँ निक्कै जनासँग कुरा गर्दा प्रायः सबैले के भन्थे भने ‘भैरव दाइ त राम्रो तर उहाँको पार्टी चाहिँ राम्रो भएन।’ त्यतिबेला नेपाली कांग्रेस र एमालेको एकछत्र जस्तो राज थियो। नेमकिपा सानो पार्टी भएकाले उनीहरूले त्यसो भनेका होलान्।
चुनावमा भैरव दाइ दोस्रो भएर हार्नुभयो।
उहाँ हारेको ठिकै भयो भन्ने लागेको छ मलाई। किनभने उहाँ हारेकैले हामीले उहाँको संगत गर्न पायौं। जित्नु भएको भए उहाँ पूर्ण रूपमा राजनीतिमा लाग्नुहुन्थ्यो। चुनाव हारेकैले राम्रा काममा लागिराख्न पाउनुभयो।
नेपाल वातावरण पत्रकार समूहमा रहँदा भैरव दाइले हेर्ने एउटा मुख्य काम थियो– नीति निर्माताहरूले वातावरणीय विषयमा निर्णय गर्नुभन्दा पहिले उनीहरूले जे जस्ता कुरा जान्नुपर्छ सो बारे बताउने। एउटा यस्तो कार्यक्रम थियो- जिल्लास्तरका नेता, जिल्ला विकास समितिका पदाधिकारी र जिल्ला तहका नेताहरूसँग कुराकानी गर्ने। दोस्रो, केन्द्रमा सांसदहरूसँग– खासगरी वातावरण संरक्षण समितिका सदस्यहरूसँग कुराकानी गर्ने। उनीहरूलाई वातावरण बारे जानकारी दिने। त्यतिबेलासम्म वातावरणको मुद्दा अलि नयाँ, नौलो कुरा थियो।
निर्णय गर्ने सांसदको अधिकारको भैरव दाइ सम्मान गर्नुहुन्थ्यो तर, निर्णय लिनुभन्दा अगाडि त्यो निर्णय लिन चाहिने जानकारी चाँहि लिनुहोस् भन्नुहुन्थ्यो। उहाँले वातावरणबारे जान्ने एक से एक विद्वानलाई जिल्ला-जिल्लामा लगेर वातावरणबारे कुरा बुझाउनु भएको थियो, नीति निर्मातामा यसबारे चेतना जगाउनुभएको थियो।
म सम्झन्छु, यसक्रममा उहाँले हर्क गुरुङलाई हुम्ला पुर्याउनुभयाे, ताप्लेजुङ पुर्याउनुभयाे। यो अरु धेरैको बुतामा हुने काम हो जस्तो मलाई लाग्दैन। विषयविज्ञलाई दिन पुग्ने पैसा वातावरण पत्रकार समूहसँग थिएन। तर पनि भैरव दाइले उहाँहरूलाई जिल्ला-जिल्लामा जान मनाउनुभएको थियो।
केन्द्रीय तहमा भैरव दाइले ‘हाम्रो कुरा सुन्नुहोस्, विज्ञका कुरा सुन्नुहोस’ भन्दा ‘सुन्दिनँ’ भन्ने सांसद हुँदैनथे। म सम्झन्छु, आत्मराम ओझा वातावरण संरक्षण समितिको सभापति हुनुहुन्थ्यो। उहाँले निश्चित बैठकमा भैरव दाइ र उहाँलाई सहयोग गर्ने म र दिलिप काफ्लेलाई पनि बोलाउनुहुन्थ्यो। बैठक शुरू गर्दा उहाँ यसरी सम्बोधन गर्नुहुन्थ्यो- ‘माननीय सदस्यहरू र माननीय सदस्य सरहका भैरव दाइ !
संसदको चुनाव हारे पनि यसरी भैरव दाइले संसदको वातावरण समितिमा सदस्य सरहको मान्यता पाउनुभएको थियो। त्यतिबेला उहाँको अथक प्रयासले गर्दा वातावरण बारेमा ख्याल गर्नुपर्छ भन्ने सिद्धान्त स्थापित भएको थियो ।
कुनै पनि नौलो कुरा स्थापित गर्न र कुनै काम सम्पन्न गर्न कोही मान्छेले सचेत भएर लगातार लागिरहनुपर्छ। वातावरण संरक्षणको कुरा स्थापित गर्ने काममा भैरव दाइले ठूलो भूमिका खेल्नुभयो त्यतिबेला।
सधैं सक्रिय, सधैं युवा
मैले चिनेका भैरव दाइको अर्को पाटो पनि छ। उहाँ जहिले पनि नौला र उपयोगी विचार लिएर आउने। कोही कोही मान्छे नौला भए पनि उट्पटयाङ विचार ल्याउने हुन्छन् तर, भैरव दाइ त्यस्तो होइन।
वातावरण पत्रकार समूहमा हुँदा हामीलाई वातावरण पत्रकारिता गर्ने मान्छेले वातावरणबारे थाहा पाउनुपर्छ भन्ने लागेर उहाँले कुराकानीको श्रृंखला चलाउनुभएको थियो। त्यस श्रृंखलाका एकजना वक्ता बद्रीविक्रम थापा हुनुहुन्थ्यो। त्यो श्रृंखलाको शुर"मै हो कि जस्तो लाग्छ। उहाँले वन संरक्षण गर्ने चलन पहिले कस्तो थियो भनेर बताउनुभयो। वातावरण जोगाउन तीन वटा कुरा सुधार्नुपर्छ भन्नुभएको थियो। ती हुन्ः पानी, बानी र खानी।
अहिले मलाई लाग्छ उहाँका कुराको सार थियोः हामीले चुरे संरक्षण गर्ने हो भने पानी संरक्षण गर्न जे-जे काम गर्नुपर्छ त्यही गर्नुपर्छ, मान्छेको बानी सुधार्न जे-जे गर्नुपर्छ त्यही गर्नुपर्छ। आज जसरी भए पनि कमाउँ, आज पैसा कमाइने हुँदा आफैंले गरेको कामले गर्दा भोलि आफैं मरिन्छ भने पनि मरियोस् भन्ने चलन हटाउनुपर्छ। बाँकी रह्यो खानी। उहाँले के भन्नुभएको थियो भने खानी चलाउने हो भने त्यसबाट हुने हानी कसरी कम गर्न सकिन्छ भनेर हेर्नुपर्छ।
श्रृंखलामा नामी वैद्य सिद्धिगोपाल वैद्यले आफ्ना पालाका उपयोगी कुरा बताउनुभएको थियो। पछि रेडियो सगरमाथा शुरू भएपछि, त्यसअघि वातावरण पत्रकार समूहको एउटा कोठामा हुने गरेको यो कुराकानीलाई भैरव दाइले रेडियोमा लानुभयो। प्रविधिको उपयोग गरेर काठमाडौं उपत्यकाभरका मानिसलाई ती कुरा सुनाउनुभयो– ‘उहिले बाजेका पालामा’ शीर्षकमा। यसमा उहाँले अनुभवी बाजेबजैलाई बोलाएर उहाँहरूका कुराकानी रेडियोका स्रोतालाई सुनाउनुभयो। त्यसरी बोल्नेमध्ये केहीका भनाइलाई किताबका रूपमा पनि निकाल्नुभयो।
एउटा काम सकेपछि चुप लागेर नबस्ने बानी थियो भैरव दाइको। काम भएन भने छटपट भइहाल्ने उहाँलाई। त्यसैले हुम्लामा उज्यालो अभियानपछि उहाँले चेपाङ वस्तीमा रेडियो सेट पुर्याउने अभियान चलाउनुभयो । जो निरक्षर छ, विकट ठाउँमा बसेको छ, गरीब छ उसका लागि पत्रिका र टेलिभिजन त्यत्ति काम लाग्दैन भनेर उहाँले चेपाङ समुदायमा रेडियो सेट पुर्याउनुभयो ।
‘हुम्लामा उज्यालो’ भनेर उहाँले काम गर्नुभयो। हुम्ला सडकले जोडिने मामिलामा पनि सबभन्दा पछि परेको जिल्ला हो। त्यस्तो ठाउँमा केन्द्रीय प्रशारण लाइनको बिजुली सजिलै पुग्ने कुरा थिएन। त्यसैले, हुम्लालाई उज्यालो पुर्याउनुपर्छ, त्यहाँ सोलार, टुकी पुर्याउनुपर्छ भनेर अभियान चलाउनुभयो। यसले गर्दा दाउरा बालेर घरका कोठा उज्यालो पार्दा त्यसबाट निस्कने धुँवाले मानिसको स्वास्थ्यमा पुर्याउने हानी अलिकति भए पनि घट्यो।
एउटा काम सकेपछि चुप लागेर नबस्ने बानी थियो भैरव दाइको। काम भएन भने छटपट भइहाल्ने उहाँलाई। त्यसैले हुम्लामा उज्यालो अभियानपछि उहाँले चेपाङ वस्तीमा रेडियो सेट पुर्याउने अभियान चलाउनुभयो। जो निरक्षर छ, विकट ठाउँमा बसेको छ, गरीब छ उसका लागि पत्रिका र टेलिभिजन त्यत्ति काम लाग्दैन भनेर उहाँले चेपाङ समुदायमा रेडियो सेट पुर्याउनुभयाे। त्यो पनि त्यत्तिकै उपयोगी काम हो जस्तो लाग्छ मलाई।
त्यसपछि बाजुराका स्कूल स्कूलमा शब्दकोष पुर्याउने भनेर काम गर्नुभयो।
मैले एउटा कुरा सुनेको थिएँ- जो मानिस आफैंले काम गर्नुपर्दैन उसका लागि कुनै पनि काम असम्भव हुँदैन। भैरव दाइले त काम पनि गर्नुपर्थ्यो। तैपनि उहाँका लागि कुनै पनि काम असम्भव भएन। अघि मैले भनेका कामका लागि कतैबाट पनि पैसा आएको थिएन।
भैरव दाइको एउटा बानी के भने सामूहिक फाइदा, सामूहिक उन्नतिका लागि हो भने कसैसँग पैसा माग्न उहाँलाई लाज लाग्दैन। ‘मेरो फाइदाका लागि पो हात फैलाउनु हुँदैन, सामुदायिक कामका लागि पैसा माग्न केको लाज !’ भन्नुहुन्छ। यी अभियान चलाएका बेला जसलाई भेटे पनि पैसा मागिहाल्नुहुन्थ्यो। आफूले चिताएको काम गर्न चाहिने साधन यसरी जुटाउनुहुन्थ्यो।
‘कर्ण शाक्य’ जन्माउने मान्छे !
अघि भैरव दाइको किताबको चर्चा भयो। भैरव दाइ किताब मात्रै जन्माउने मान्छे होइन। उहाँ त लेखक पनि जन्माउने मान्छे। कर्ण शाक्यले ‘सोच’, ‘खोज’, ‘म सक्छु’, ‘मोज’ जस्ता किताब लेख्नु भएको छ। ‘सोच’मा उहाँले लेख्नुभएको छ, ‘सोच किताबले मलाई पहिचान दियो जसको ९९.९ प्रतिशत श्रेय भैरव दाइलाई दिन चाहन्छु।’ भैरव दाइले लेखक जन्माउनु भएको प्रमाण हो यो।
पोहोर साल झापाका मेरो दाइको नम्बरबाट मलाई फोन आयो। फोन उठाएँ- ‘मोहनजी, म भैरव रिसाल।’ यस्तो सुन्दा म छक्क परेँ। ‘म यसपालिको जन्मदिन मनाउन जसबिरे जान लागेको। बाटोमा तपाईँको घर पसेको।’
९१ वर्ष पूरा गर्न केही दिन मात्र बाँकी रहेका भैरव दाइ जसबिरे जान झापा पुगिसक्नुभएको सुन्दा मलाई अचम्म लाग्यो किनभने भैरव दाइको उमेरमा काठमाडौंबाट इलामको जसबिरे निकै टाढा पर्छ।
‘ल दाइ, शुभयात्रा, राम्रोसँग जानुहोला’, त्यतिबेला मैले यत्ति भनेँ।
कुराकानी सकेको केही घण्टापछि मैले पूर्वमन्त्री शैलेन्द्रकुमार उपाध्यायलाई सम्झिएँ। सात, आठ वर्षअघि उनी ८२ वर्षको उमेरमा सगरमाथा चढ्न भनेर गएका थिए। उतै बिते। मलाई उनी सगरमाथा चढ्न होइन आत्महत्या गर्न गएका हुन् भन्ने लागेको थियो। यो यस्तो आत्महत्या थियो जसलाई कसैले पनि कलंक ठान्दैनथे। भैरव दाइले पनि आत्महत्या गर्ने यस्तै सम्मानित तरिका छान्नु भएछ जस्तो लागेको थियो मलाई। भित्र मनमा उहाँ फर्किनुहुन्न होला भन्ने डर लागेको थियो।
भैरव दाइ कुशलतापूर्वक फर्कनुभयो।
मृत्यु पछाडी मान्छेलाई जलमा वा जमिनमा, आगोमा वा वायुमा समाहित गर्ने चलन छ। नौला विचार ल्याइरहने भैरव दाइले यी कुनै पनि बाटो रोज्नुभएन। उहाँले अस्पतालमा समाहित हुने बाटो रोज्नुभयो। उहाँले आफ्नो शव त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताललाई दिने निर्णय गरिसक्नुभएको छ, जहाँ विद्यार्थीहरूले उहाँको कंकाल हेरेर मानव शरीरको बनोटबारे सिक्न सक्नेछन्। उहाँले विद्यार्थीहरूबीच सँधैभरी बाँचिराख्ने बाटो रोज्नुभयो। यो पनि एउटा नौलो बाटो हो जस्तो लाग्छ मलाई।
भैरव दाइलाई यस्ता काम गर्न केले हौसला दिन्छ भनेर बेला बेलामा सोच्छु। यसो गर्दा मलाई मान्छेहरूसँग सम्पर्क गरिराख्ने बानीले उहाँलाई यसो गर्ने बनाएको हो कि जस्तो लाग्यो। उमेर खाएको होस् वा युवा, जोसँग भेट भए पनि उहाँ कुरा गरिहाल्नुहुन्छ। जोसँग अहिल्यै काम लिइहाल्नुपर्ने छैन, ऊसँग पनि सम्पर्क गरिराख्नु हुन्छ। यही बानीले उहाँलाई राम्रो पत्रकार बनायो। सामूहिक कल्याणका लागि पैसा जुटाउन सक्ने बनायो। नयाँ नयाँ कुरा गर्ने ऊर्जा दियो।
मृत्यु पछाडी मान्छेलाई जलमा वा जमिनमा, आगोमा वा वायुमा समाहित गर्ने चलन छ। नौला विचार ल्याइरहने भैरव दाइले यी कुनै पनि बाटो रोज्नुभएन। उहाँले अस्पतालमा समाहित हुने बाटो रोज्नुभयो। उहाँले आफ्नो शव त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताललाई दिने निर्णय गरिसक्नुभएको छ, जहाँ विद्यार्थीहरूले उहाँको कंकाल हेरेर मानव शरीरको बनोटबारे सिक्न सक्नेछन्। उहाँले विद्यार्थीहरूबीच सँधैभरी बाँचिराख्ने बाटो रोज्नुभयो।
अर्काको पैसाको हिनामिना नगर्ने भैरव दाइको अर्काे राम्रो बानी हो। माथि मैले भनेका कामका लागि भैरव दाइले निक्कै पैसा उठाउनुभएको थियो। न रसिद, न भर्पाइ, न खर्चको बिल, न लेखापरीक्षण ! उहाँलाई पटक-पटक पैसा दिनेले के ठान्छन् भने भैरव दाइले मैले दिएको एक पैसा पनि हिनामिन गर्नुहुन्न। यो महत्वपूर्ण कुरा हो जस्तो लाग्छ मलाई।
उहाँमा भएका आरिस लाग्ने यी गुण सिक्न मैले धेरै कोशिश गरेँ तर दुःखको कुरा अरुको पैसाको हिनामिना नगर्ने बाहेक उहाँका अरु गुण सिक्न जति गर्दा पनि सकिनँ।
गुरु पत्रकार
भैरव दाइले पत्रकारिता पेसा २०१७ साल अगाडिको अलि स्वतन्त्र वातावरणमा पनि गर्नुभयो। त्यो बेला स्वतन्त्रता त थियो तर, पत्रकारिता भने एकदमै प्रारम्भिक चरणमा। पत्रकारिताको गोरेटो खन्नुपर्ने बेला थियो। उहाँहरूले कहीँ कतै बाटो नभएको ठाउँमा झाडी फाँडेर हामी पछिल्लो पुस्ताका लागि बाटो बनाइदिनुभयो।
त्यही बाटोमा हिँडेर हामी अलिकति अगाडी आइपुग्यौं। ‘हामीभन्दा अगाडिकाले खनेको बाटो कस्तो नराम्रो !’ भनेर हामीले गुनासो पनि गर्याैं होला। अलिअलि रिसायौं होला। तर जे भने, जे सोचे पनि हामी अहिले पत्रकारिताको जुन बाटोमा हिँड्दैछौँ त्यो बाटो खन्ने उहाँहरु हुनुहुन्थ्यो।
पछि भैरव दाइको किताब पढ्दै जाँदा मैले थाहा पाएँ— मैले २०५९ सालमा गरेजस्तो काम भैरव दाइले १७ वर्ष पहिल्यै गर्नुभएको रहेछ। राष्ट्रिय योजना आयोगको बैठकमा बसेर त्यहाँ उठेका कुरामध्ये जुन जुन राससले छाप्न मिल्थ्यो, राससको समाचारमा राख्नु भएछ। राससले दिन नसक्ने कुरा अंग्रेजी दैनिक ‘द मदरल्यान्ड’लाई दिनुभएछ। म विदेशीहरूले मात्र यो तरिका अपनाउने गर्छन् भन्ने गर्थें, भैरव दाइले त पहिल्यै यो तरिका अपनाइसक्नुभएको रहेछ।
जसबिरेका ‘जस’
२०१७ सालपछि पञ्चायतकालको एकदमै साँघुरो वातावरणमा पनि भैरव दाइले पत्रकारिता गर्नुभयो। उहाँले काम गर्ने राष्ट्रिय समाचार समितिका समाचारमार्फत् पञ्चायती व्यवस्थाको विरोध गर्न सम्भव थिएन। राजाको विरोध गर्न त कसैलाई पनि छुट थिएन। तर अन्य विकृतिका विरुद्ध भैरव दाइले राम्रोसँग पत्रकारिता गर्नुभयो।
लडाइँका बेलामा रिपोर्टिङ कसरी गर्ने भनेर तालिम लिँदा मलाई अनुभवीहरूले के भनेका थिए भने आफूले संकलन गरेका सामग्री आफ्नो सञ्चारमाध्यमबाट दिन सकिएन, आफ्नाे देशका सञ्चारमाध्यमबाट दिन सकिएन भने जसले, जुन ठाउँकाले दिन सक्छ उसैलाई दिनू।
२०५९ सालमा कात्तिकमा हामी बाजुराको पाण्डुसेन पुगेको रात सेना र प्रहरीले आठ जना गाउँलेलाई मारिदिए। हामीले त्यसबारे भिडिओ खिचेका थियौँ तर, त्यो नेपालका टेलिभिजनबाट प्रसार गर्न सम्भव थिएन। त्यसैले मैले ती सामग्री बीबीसीका नेपाल संवाददाता ड्यानियल ल्याकलाई दिएँ। उनले ती सामग्री समेतका आधारमा बीबीसीमा रिपोर्ट प्रसार गरे।
पछि भैरव दाइको किताब पढ्दै जाँदा मैले थाहा पाएँ- मैले २०५९ सालमा गरेजस्तो काम भैरव दाइले १७ वर्ष पहिल्यै गर्नुभएको रहेछ। राष्ट्रिय योजना आयोगको बैठकमा बसेर त्यहाँ उठेका कुरामध्ये जुन जुन राससले छाप्न मिल्थ्यो, राससको समाचारमा राख्नु भएछ। राससले दिन नसक्ने कुरा अंग्रेजी दैनिक ‘द मदरल्यान्ड’लाई दिनुभएछ। म विदेशीहरूले मात्र यो तरिका अपनाउने गर्छन् भन्ने गर्थें, भैरव दाइले त पहिल्यै यो तरिका अपनाइसक्नुभएको रहेछ।
जसबिरेका ‘जस’
भैरव दाइ जेल पनि जानुभयो। २०४२ सालमा पञ्चायती व्यवस्था २५ वर्ष पुगेको उपलक्ष्यमा राजाले सन् २००० सम्ममा नेपालीलाई एशियाली मापदण्ड अनुसारका आधारभूत आवश्यकता पूरा गरिसक्ने घोषणा गरे। भैरव दाइले एशियाली मापदण्ड ठगी खाने भाँडो हो भनेर लेख लेख्नुभयो। लेखेबापत उहाँ जेल जानुभयो।
२०५४/ ५५ मा भैरव दाइ, राजेन्द्र दाहाल, म र गोविन्द पोख्रेल इलामको माईपोखरी गएका थियौं। फर्किदाँ म र भैरव दाइ बाटोमा पर्ने जसबिरे गाउँमा बास बस्यौं। त्यतिबेलाको कुरा अहिले सम्झँदा भैरव दाइको त्यो लेखको कुरा अलि मिलेन जस्तो लाग्यो।
जसबिरेमा मैले आलु प्रशस्त फलेको, किसानले दूध बेच्ने गरेको देखेँ। पाखाभरि चियाका बुट्यान थिए। उत्कृष्ट चिया उत्पादन हुन्थ्यो। बाटो अप्ठ्यारो थियो तर पनि हामी गाडी चढेर त्यहाँ पुगेका थियौंं। ट्वाइलेट घर घरै थिए। एशियाली मापदण्ड पूरा गर्न भनेर राजाले सन् २००० को म्याद तोकेका थिए। जसबिरे गाउँका मानिसका एशियाली मापदण्ड अनुसारका आधारभूत आवश्यकता त्यसअघि नै पूरा भइसकेका थिए।
जसबिरे गाउँलाई यस्तो बनाउन भैरव दाइको भूमिका रहेछ। काम त जसबिरेका गाउँलेले गरे तर यसो गर्दा राम्रो हुन्छ भनेर बाटो देखाइदिने काम उहाँले गर्नुभएछ।
बाँगोटिंगो कुरा गर्ने, आफ्ना फाइदा जसो गर्दा हुन्छ त्यो नगर्ने नेपालीहरूको पुरानो बानी हो। ‘यसो गर्दा पत्रकारिता राम्रो हुन्छ’ भनेर कसैले मलाई बाटो देखाइदियो भने म दुईटामध्ये एउटा काम गर्छु। त्यसो भन्ने मान्छे उस्तै रहेछ भने म उसलाई ‘तेरो अर्ती तैसँग राख’ भनिदिन्छु। त्यसो भन्न नमिल्ने रहेछ भने ‘अँ, तपाईँले भनेको ठिकै हो तर, यहाँ, त्यहाँ, वहाँ, यो, त्यो, ऊ’ एउटा न एउटा निहुँ बनाएर त्यो सल्लाह पन्छाउँछु।
यस्तो बानी भएका मजस्तालाई तह लगाउने उपाय भैरव दाइसँग रहेछ।
जसबिरेमा बोलाइएको गाउँलेहरूको एउटा बैठकमा जाँदा उहाँले एउटा मकैको घोगा लिएर जानुभएछ। बैठक शुरू भएपछि उहाँले मकैको खोसेला फालेर देखाउनुभएछ। त्यस घोगामा जम्मा एउटा दाना लागेको रहेछ। एउटा दाना रोपेको, एउटा दाना फलेछ। साउँको साउँ मात्र भयो।
त्यति मकै फलाउन जमिनले गरेको मिहिनेत कहाँ गयो ? मलले गरेको मिहिनेत कहाँ गयो ? पानीले गरेको मिहिनेत कहाँ गयो ? मानिसले गरेको मिहिनेत कहाँ गयो? भैरव दाइले सोध्नुभएछ र भन्नुभएछ– साउँको साउँ फलाउने खेती गरेर कहिल्यै उँभो लागिँदैन। त्यसपछि त्यहाँका मानिस साउँभन्दा अलि बढी फलाउने गरी खेती गर्न तयार भएछन्।
भैरव दाइले उनीहरूले गर्न सक्ने काम उनीहरूबाटै गराउनु भएछ।
स्थानीय मानिसले जे-जे काम गर्न सक्दैनथे त्यो काम उहाँले जसले सक्थ्यो वा सक्नु पर्ने हो त्यसबाट गराउनुभएछ। जस्तै, बाटो खन्न त्यहाँका मानिसले सक्दैनथे। त्यो काम गर्न सरकारलाई लगाउनुभएछ। किसानले पालेको गाईको दूध दूग्ध विकास संस्थानले किन्ने व्यवस्था मिलाइदिनुभएछ। चिया खेतीका लागि प्रोत्साहन दिन सरकारलाई लगाउनुभएछ। ट्वाईलेट बनाउन अरु सबै काम किसानले गर्न सक्थे तर प्यान बनाउन सक्दैनथे। त्यो उहाँले जुटाइदिनुभएछ।
त्यहाँका मानिसले अलिअलि काम गरेपछि उनीहरूको हौसला बढाउन राष्ट्रिय योजना आयोगका त्यतिबेलाका उपाध्यक्ष मोहनमान सैंजुलाई इलाम पुर्याउनुभएछ। त्यति भइसकेपछि त्यहाँका मानिसका आधारभूत आवश्यकता पूरा भए।
जसबिरेमा भैरव दाइले जे गर्नु भयो त्यसले के देखायो भने आधारभूत आवश्यकता सम्बन्धी एशियाली मापदण्ड पूरा गर्ने काम असम्भव होइन रहेछ। त्यसैले मैले के ठानेको छु भने भैरव दाइले एशियाली मापदण्डको घोषणालाई ठगी खाने भाँडो होइन, गरे पूरा गर्न सकिने लक्ष्य हो भनी प्रमाणित गरिदिनुभयो। यो उहाँको लेखको आशय विपरीत भयो।
नेपालका सबै गाउँमा मानिस छँदैछन्, मिहिनेत गर्ने पाखुरा मानिससँग छँदैछन्। अलिकति मिहिनेत गर्दा आफ्नो उन्नति गर्ने चाहना जगाउन सकिहालिन्छ। जमिन, पानी, बोटविरुवा, हावा, घामजस्ता प्राकृतिक साधन धेरथोर मात्रामा छँदैछन्। मात्र उत्प्रेरकको मात्र खाँचो छ। सरकारलाई आफूले गर्नु पर्ने काम गराउन दबाब दिनसक्ने भैरव दाइ जस्ता मानिसको खाँचो छ। सबै गाउँमा एक-एक जना भैरव दाइ पुर्याउन सके आधारभूत आवश्यकता पूरा हुनेरहेछ।
तर, बाँकी नेपालमा त्यसो भएन। त्यसैले भैरव दाइको लेख शतप्रतिशत सही हो।
भैरव दाइले जसबिरेमा गरेको कामले त्यहाँका मानिसलाई कति गुण लगाएको रहेछ भने पोहोर साल ९२औं जन्मदिन मनाउन उहाँलाई गाउँलेले नै निम्ता गरे। म माईपोखरी जाँदा आफूलाई भैरव दाइको साथी भनेर चिनाएँ। त्यसो गर्दा मैले जसबिरेका मानिसबाट कत्रो सहयोग पाएको थिएँ !
आधारभूत आवश्यकताकाबारे भैरव दाइले लेख लेखेपछि उहाँलाई १० महीना जेल सजाय दिएको रहेछ। म न्यायाधीश भएको भए १० महीना जेल सजाय गर्नुका सट्टामा अर्को एउटा गाउँ पठाईदिन्थें। त्यो अर्को गाउँको आधारभूत आवश्यकता पूरा हुने वातावरण उहाँले तयार गराइदिनुहुन्थ्यो। यस सजायको विकल्प पनि दिन्थेँ- आफूलाई पायक पर्ने ठाउँमा बसेर आफू जस्ता १० जना उत्प्रेरक तयार गर्ने।
हास्यँ भैरव !
अब म हस्त गुरुङले एउटा किताबमा लेखेको ‘हाँस्ने भैरवको आलु गफ’ शीर्षकको लेखका केही वाक्य उद्धृत गर्छुः ‘काल भैरव, बाघ भैरव, आकाश भैरव, टीका भैरव, श्वेत भैरव र अरु के के भैरवभन्दा त आनन्दसँग हाँस्ने आनन्द भैरव पो राम्रो र उपयोगी हुँदा रहेछन्। आनन्द भैरवको आर्शिवाद पाएका वरिष्ठ पत्रकार भैरव रिसाल हाँस्ने भैरव हुन्। अरु भैरव मुक छन्, यी यस्तरी हाँस्छन् कि उनको हाँसोले अरुलाई पनि त्यसै त्यसै प्रफुल्ल पारिदिन्छ।’
अन्त्यमा, मैले आजको कुरा गर्न थाल्दा बताएको प्रसंगतिर लाग्छु। पच्चीस वर्ष पहिले लार्के भञ्ज्याङमा हामी तीन जना मर्न बसेका थियौं। त्यतिबेला मर्न सकेनौं। यो प्रयास तपाईँ हामीले फेरि गर्नु नै छ। यो प्रयास हामी सामूहिक रूपमै गरौंला। तर, अहिले होइन। लार्केमा हामी मर्न बस्दा सब भन्दा कम उमेरका ध्रुव बस्नेत आज ५० वर्ष पुग्न लागेका छन्। उनलाई ८० वर्ष पुग्न दिऊँ। त्यसबेला मर्ने प्रयास फेरि गरुँला।
त्यसैले अबको ३० वर्ष अहिलेसम्म जस्तै सार्थक र स्वस्थ जीवन जिउनुहोला।
शुभकामना !
(हिमालखबरका नियमित स्तम्भकारसमेत रहेका भैरव रिसालको ९३ औं जन्मदिन (२९ साउन) मा हिमालमिडियाद्वारा आयोजित जुम मिटिङमा प्रस्तुत विचारको सम्पादित संस्करण।)