चकमन्न एकान्तमा साइलेन्सर झिकिएको बाइक गुडाउने को हो ?
एउटा गैरसरकारी कार्यालयभित्र हुने इश्र्या, अपमान, विभेद, बेइमानी, प्रेम, घृणा, तिकडम र पुरुष अहंकारको संयोजन नै उपन्यास ‘चकमन्नमा एकान्त’ को विषयबस्तु हो। मीठो भाषा र रहस्य उपन्यासको विशेषता हो।
“विदेशमा सजिलो लागेर वा के भएर मलाई इडेन बेड्रे भन्न थाले। मलाई पनि त्यही सहज लाग्दै गयो... हुनलाई म इडेन बेड्रे होइन, अदनबहादुर हुँ, यो संस्था ‘साक्षर’ को संस्थापक फाउन्डर।”
ध्रुवचन्द्र गौतमको उपन्यास ‘चकमन्नमा एकान्त’को ‘क्लाइमेक्स’ यही हो। ‘म’ पात्रले यो क्लाइमेक्सलाई ओ. हेनरीका कथाहरुसँग तुलना गरेको छ।
अनि ती क्लाइमेक्सवाला वाक्यहरु उपन्यासको सबैभन्दा ठूलो रहस्योद्घाटन पनि हुन्। यो रहस्योद्घाटन एकैपटक १४० पृष्ठमा भेटिन्छ। त्यसपछि त श्रृङ्खलाबद्धरुपमा रहस्यहरुको उद्घाटन हुँदै जान्छ। पाठकहरुलाई लेखकको ‘सरप्राइज’।
उपन्यासमा सिर्फ तीन ठाउँको दृश्य छन्ः डेरा, कार्यालय र रेस्टुरेन्ट। ‘एक सहरमा एक कोठा’ ३० वर्षीय अविवाहित युवकको ठेगाना हो। कोठामा ‘छैन’ बाहेक केही छैन। भएको सबैभन्दा महत्वपूर्ण चाहिँ उसको कथा हो, जो उपन्यासको प्रमुख पात्र ‘म’ हो।
युवा छ, त्यसैले कोठामा युवतीहरु आइरहन्छन्। कसैलाई बिहे देखाउने प्रलोभन दिन्छ, कसैलाई त्यो पनि दिनुपर्दैन।
कथाको शुरुदेखि नै हरेक रातको ठीक १ बजे चकमन्न भत्काउँदै ‘साइलेन्सर’ झिकिएको बाइक बेतोडले हुइकिन्छ। कथा त बाइकवालाले पो बुन्दै रहेछ। पाठकले अन्त्यमा एकैपटक मात्र बाइकवालाको प्रेम बुझ्न सक्छन्। त्यो प्रेम कतै अभिव्यक्त छैन। वास्तवमा ती प्रेमिल जोडीको भेट नै उपन्यासमा एकपटक मात्र हुन्छ। त्यहाँ न प्रेमिल गफ छ, न प्रेमिल वातावरण नै। कथा बुन्ने ध्रुवचन्द्र गौतम शैली गज्जबको छ।
बेरोजगार युवकले गैरसरकारी कार्यालयमा जागिर पाउँछ। त्यहाँ तथ्यांक बटुल्ने, विश्लेषण गर्ने, निष्कर्ष निकाल्ने र समाज बदल्ने ‘जिम्मेवारी’ का साथ कर्मचारी काममा खटिइरहन्छन्। देश विकासको ‘जिम्मा’ नै त्यहीँ संस्थालाई छ। त्यसैले काममा जोतिनुपर्छ।
यी सब भन्ने कुरा पो हो। देखावटी र ढोंग पनि कति कति! बेला बेला कर्मचारीहरुको ढोंग फुस्किहाल्छ। पुरुष कर्मचारीहरु महिला कर्मचारीलाई ‘छड्के’ हान्न थालिहाल्छन्। सकेसम्म आकर्षित गर्ने ध्याउन्न हुन्छ। अनि यौनिक आशयका व्यंग्य पनि।
हाकिम रिझाउनु र बढुवा हुनु, अर्काको कुरा लगाउनु र हाकिमसँग नजिक हुनु त कर्मचारीले नगरी नहुने काम हो। चाकरीको हदको चित्र बहुत सुन्दर छ। रेस्टुरेन्ट जानु र खाजाको बहानामा पहिला लालीको आमा र पछि लालीसँग गफिनु पनि पुरुष कर्मचारीको दैनिकी नै हो। गफ उही यौनिक न हो। वास्तवमा उनीहरुलाई लालीको जवानीको प्रतिक्षा छ।
मसिनो कथाबस्तुलाई उपन्यासको धागोमा ध्रुवचन्द्र गौतमले निकै मजाले उनेका छन्। कथा पढ्दै जाँदा ‘केही होइन’ जस्तै लाग्दै जान्छ। तर, मसिना घटना नै ठूलो आवाजमा विस्फोट हुन्छन्। अनि पाठकलाई ती घटना ‘रिकल’ गर्न बाध्य पार्छन्।
यस्तैमा नयाँ हाकिम आउँछ, मिस्टर रोजवाटर। उसको सहयोगी भएर आउँछे, मिसेज रोजवाटर। दुवै जनालाई कवितामा रुची छ। यो थाहा पाएपछि कार्यालयका झन्डै ९५ प्रतिशत कर्मचारी कवि हुन्छन्। अन्तर कर्मचारी कविता प्रतियोगिता हुन्छ।
यही कविता प्रतियोगिता उपन्यासको ‘टर्निङ पोइन्ट’ हो। किनभने कार्यालयको पियन सरोजकुमार प्रथम भइदिन्छ। अनि उसैले पाउँछ युरोप भ्रमणको अवसर।
त्यति मात्र कहाँ र, ऊसको बढुवा हुन्छ। अब ऊ पियन रहेन, जस्तो अरुले काम अह्राउन्।
ऊ किताब पढ्छ र तर्क गर्छ। तर, अरु पढेको नाटक गर्छन् र ‘गफ हान्छन्’। वास्तवमा किताब पढेकै हुँदैनन्।
उसको बढुवा भएपछि होच्याउने, खसाल्ने र कार्यालयबाटै निकाल्ने षडयन्त्र शुरु हुन्छ। सरोजकुमारका विरुद्ध सबै कर्मचारी एक छन्। तल्लो वर्गका मानिसको प्रगतिलाई समाजले कसरी पचाउन सक्दैन र विरुद्धमा प्रतिक्रियाहरु जन्मन्छन् भन्ने खुब मजाको व्याख्या उपन्यासमा पढ्न पाइन्छ।
यस्तैमा हाकिमको परिवर्तन हुन्छ। नयाँ हाकिम आउँछ, इडेन बेड्रे। उसँगै आउँछ एउटा अर्को रहस्य। उसकी सुन्दरी श्रीमती पनि रहस्य नै हो। तर, त्योसँग बीचमै डिभोर्स हुन्छ। इडेन बेड्रेले खोइ कतिसँग यस्ता डिभोर्स ग¥यो कुन्नी? कर्मचारी उसको व्यक्तिगत जीवनतिर छिर्न नचाहँदा नचाहँदै पनि छिर्छन्। छिर्नुहुन्न भन्ने सिद्धान्त न हो, व्यवहार त नमिल्न पनि सक्छ नि।
इडेन बेड्रे फोब्स पत्रिकाको धनीहरुको सूचीमा परिसकेको व्यक्ति। अन्तर्राष्ट्रिय छवि पनि निकै राम्रो भएको। ऊ साक्षर संस्थाको ‘बोस’ भएर नेपाल आउनु नै रहस्य हो।
अर्को रहस्य साक्षर नामसँग छ। यो नाम जुराउने कुनै नेपाली थियो, अदनबहादुर। उही त इडेन बेड्रे रहेछ। अदनबहादुर विदेशमा बसेर इडेन बेड्रे हुनु सांस्कृतिक स्खलनको एउटा नमूना हो।
बेड्रे आफ्नो डिभोर्सपछि अफिसकै कर्मचारी मालासँग नजिकिन्छ। एक दिन माला हराउँछे र कहिल्यै फर्किन्नँ। हराउनुअघि ऊ गर्भवती हुन्छे। अनि लामो बिदा लिएर प्रेमी खोज्न निस्किएकी उसले कहिल्यै त्यो मान्छेलाई भेट्दिन। यसरी बिहेअगाडि नै गर्भ बोकेर प्रेमी खोज्न लामो बिदा लिने संस्थाकी ऊ पहिलो र एक मात्र महिला कर्मचारी भने होइन।
अब फेरि कथा सरोजकुमारमै जोडिन्छ। सुरुमा त बेड्रे पनि सरोजकुमारसँग निकै प्रभावित थियो। ऊविरुद्ध लाइने ‘चुक्ली’हरुलाई वास्ता गरिरहेको थिएन। तर, सरोजकुमारले उसका कवितामा ताली बजाएन। उसका नाटकमा ताली बजाएन।
ताली नबजाउनु के ‘बोस’ को अपमान हो ? अपमान पुष्टि गर्न पुरुष कर्मचारीहरुले गर्ने तिकडम गजब छ। उनीहरुलाई महिला कर्मचारीको पनि ‘हैँसे’ हुन्छ। र एक दिन सरोजकुमार कार्यालयबाट निकालिन्छ। किनभने ऊ पियन भएर प्रवेश गरेको थियो र उसले पियन नै भइरहनुपर्छ भन्ने अन्य कर्मचारीको मान्यताविपरित एकैपटक दुई तह बढुवा पाएको थियो। त्यसैले ऊविरुद्ध सबै एक जुट थिए।
पख्नुस् है, सरोजकुरमार कार्यालयबाट निकालिँदा उपन्यासको अन्त्य भइसक्छ। त्यसअगाडि लालीको प्रेमले सार्थकता पाउँछ। उसको प्रेम गोप्य छ। त्यो त बिहेपछि मात्र खुल्छ।
ऊ चुरा लगाएर छिनछिन् बजाउँदै आलुजिरा लिएर आउँछे। खुब रक्सी खुवाउँछे। बिहेको पार्टी दिन्छे। त्यहाँ कुनै दुलहा छैन। बरु अर्को दिनदेखि ऊ फेरि देखिन्न।
ऊ सरोजकुमारसँग कतै टाढा जान्छे। सरोजकुमारको पनि त जागिर सकिइसकेको छ नी।
अनि राति १ बजे फेरि कहिल्यै त्यो साइलेन्सरबिनाको बाइक गुड्दैन। ‘म’ पात्र त्यही बाइकको आवाज सुनेर मात्र निदाउने बानी परेको हुन्छ। अब उसलाई निदाउनै मुस्किल पर्न थालेको छ।
समयले बिस्तारै घाउ निको बनाउँदै जान्छ। निदाउने बानी त पर्छ, तर १ बजेपछि मात्र निदाउन सक्छ। अचेल चकमन्नको एकान्तमा बाइक भने गुड्दैन।
मसिनो कथाबस्तुलाई उपन्यासको धागोमा ध्रुवचन्द्र गौतमले निकै मजाले उनेका छन्। कथा पढ्दै जाँदा ‘केही होइन’ जस्तै लाग्दै जान्छ। तर, ती मसिना घटना नै ठूलो आवाजमा विस्फोट हुन्छन्। अनि पाठकलाई ती घटना ‘रिकल’ गर्न बाध्य पार्छन्।
पढिसकेपछि आँखा चिम्लिएर कथा सम्झँदा ‘के यति कथामै उपन्यास हुनसक्छ?’ भन्ने प्रश्न उब्जन्छ। अनि उत्तर पनि सँगै आउँछ, ‘ध्रुवचन्द्र गौतम हुनुको विशेषता नै यही हो।’ सानो कथामा ठूलो सैद्धान्तिक विषयहरुको उठानले उपन्यासलाई फरक बनाएको छ।