बिटल्सको आँगनमा नारायण–गोपालको छायाँ
बेलायतमा ‘लिभरपुल बिटल्स म्युजियम’मा पुगेपछि लाग्यो, हाम्रा नारायणगोपाल र गोपाल योञ्जन, अम्बर गुरुङजस्ता मनमा बसेका कति संगीतसर्जक छन्, जसका नाममा छुट्टाछुट्टै संग्रहालय खोल्न सकिन्छ, अनि लिभरपुलमा जस्तै पर्यटक भित्र्याउन सकिन्छ।
श्रीभक्त खनाल
बेलायतका शहरहरू जिज्ञासुका लागि उदेकलाग्दा लाग्छन्। यहाँका धेरै गल्ली र स्थानले इतिहास बोकेका छन्। पर्यटक आकर्षित गर्न कतै द्वितिय विश्वयुद्धमा जर्मनीले बम हानेको ठाउँलाई इतिहास ठानेर संरक्षण गरिएको छ त कतै निलो साइन बोर्डमा ‘कार्ल मार्क्स लिभ्ड हेयर’ लेखिएका छन्। अक्सफोर्ड युनिभर्सिटी, ब्रिटिश म्यूजियमजस्ता स्थान आफैंमा ज्ञानका सागर त हुन् नै, पर्यटक आकर्षित गर्न थुप्रै ठाउँलाई विशेष बनाइएको भान पनि लाग्ने रहेछ।
राजधानी लण्डनबाट करीब ३८० किलोमिटर टाढाको शहर हो–लिभरपुल। ‘लिभरपुल फुटबल क्लब’का कारण संसारभर ख्याति कमाएको शहरको अर्को जर्बजस्त परिचय पनि छ। त्यसको कारण हो– द बिटल्स।
सन् १९६० मा लिभरपुलमै स्थापित यो प्रख्यात इङलिस् रक ब्याण्डका संस्थापकहरू जोन लेनन, पल म्याकार्टनी, जर्ज ह्यारिसन र रिन्गो स्टार लिभरपुलमै जन्मे हुर्केका थिए। यो ब्याण्डको ‘रक म्यूजिक’ले संसार हल्लायो। सर्वकालिक सांगितिक ब्राण्ड बन्यो। उनीहरूले आफ्नो पश्चिमा संगीतमा पूर्वीय संगीतलाई पनि ‘फ्युजन’ गर्ने काम गरे र संगीतको कुनै भौगोलिक सिमा नरहेको सन्देश दिए।
अहिले लिभरपुलमा ‘द बिटल्स’ले प्रयोग गरेका सामग्री, सांगितिक प्रस्तुती, रक संगीत आदि समेटेर ‘लिभरपुल बिटल्स म्यूजियम’ उभिएको छ। यो म्यूजियम मात्र होइन ‘लर्निङ सेण्टर’ पनि रहेछ। म्यूजियम आफैंमा सृजनशील नहुन पनि सक्छ, सृजनाशील र गतिशील बनाउन सँगै लर्निङ सेण्टर पनि चाहिने संस्थापकहरूको अवधारणा रहेछ।
बेलायतको लिभरपुल शहर । तस्वीरः प्रिमियर सुइट्स लिभरपुल डटकम
यो म्युजियममा बिटल्स जिज्ञासु मात्र नभइ रक संगीत बारे थुप्रै जानकारीमूलक र अनुसन्धानमुलक सामग्री रहेछन्। थुप्रै कम्पनीहरूले म्यूजियमलाई लक्षित गरेर ‘टुर प्याकेज’ बनाउँदा रहेछन्। एउटा पर्यटकले औसत डेढ घण्टा यहाँ बिताउँदो रहेछ।
यतिमात्र होइन, बिटल्ससँग सम्बन्धित ठाउँहरु पर्यटकीय स्थल पनि बनेका रहेछन्। जस्तो सन् १९६९ मा ‘आबी रोड’ एल्बमको कभर बनाउँदा फोटो खिचाएको लण्डनको ‘जेब्रा क्रसिङ’ संगीत पारखीको ‘आइकन’ बनेको रहेछ। त्यो ठाउँ ठाउँ हेर्न र तस्वीर खिचाउन मात्रै पनि थुप्रै पुग्ने रहेछन्। बेलायतमा देशको सांगितिक इतिहास जोगाउन राज्य नै लाग्दो रहेछ।
...
३० वर्षअघि, १९ मंसीर २०४७ मा रेडियो नेपालका समाचारवाचक हरिशरण लामिछानेले राती ९ बजेको समाचारमा वीर अस्पतालमा चर्चित गायक नारायणगोपालको निधनको समाचार सुनाए। समाचार सुन्नेबित्तिकै थुप्रै शुभचिन्तक श्रद्धाञ्जली दिन अस्पताल पुगे।
नारायणगोपालको विशाल शवयात्रा भयो। उनको शव बोक्न खोज्ने नै सयौं थिए। स्रोताबाट अपार प्रेम पाएका थिए उनले। जीवित छँदाको उनको ख्याति र प्रसिद्धि मरेपछि झनैं चुलियो। काठमाडौं, किलागलमा रहेको उनको घर हेर्न उतिबेलाका हामी ‘टिनएजर्स’ हुल बाँधेर गएको हिजोजस्तै लाग्छ।
बेलायतको लिभरपुलमा रहेको लिभरपुल बिटल्स म्युजियममा संग्रहित द बिटल्स ब्याण्डका सामग्री ।
जहाँ नेपाली गीत संगीतको कुरा हुन्छ, नारायणगोपाल विना त्यो बहसको आदि र अन्त्य असम्भव हुन्छ। नारायणगोपालबारे थप जान्न खोज्नेहरुका लागि महाराजगञ्जस्थित नारायणगोपाल निवास परिसरभित्र ‘नारायणगोपाल संगीत कोष’ रहेको छ। त्यहाँ उपलब्ध किताबका रुपमा छापिएको नारायण गोपालले गाएका गीतहरुको संग्रह र उनले प्रयोग गरेका टेलिफोन, हार्मोनियम, मादल, तबला, टेलिभिजन, सोफा, टेबल, पदक, सम्मान पत्र आदि सजाएर राखिएको छ। अवलोकनका लागि यो स्थान खुल्ला छ।
गत वर्ष मात्रै नारायणगोपाल परिसरमै ‘नारायणगोपाल–पेमला गीत गंगा भवन’ शिलान्यास गरिएको छ। आशा गरौ, भविष्यमा कोषले भएका सामग्रीलाई व्यवस्थित गर्ने र उनीबारे थप सामग्री खोजबिन गर्नेछ। अनुसन्धानात्मक कृतिहरू प्रकाशित गर्नेछ।
नारायणगोपाल संगीत कोषमा रहेका नारायणगोपालका केही सामग्री। तस्वीरः सीताराम बराल
लिभरपुल बिटल्स म्युजियम हेरेपछि के लाग्दो रहेछ भने हामीले नेपाली गीत संगीतको संरक्षण, संरक्षण र सम्बर्द्धनमा गर्नुपर्ने कुरा धेरै रहेछ। र, यस्ता काम कसरी गर्न सकिन्छ भनेर लिभरपुल बिटल्स म्यूजियमबाट सिक्न सकिदो रहेछ।
ती नेपाली कलाकारहरु, जसले साँगितिक क्षेत्रमा खास योगदान पुर्याएका छन्, जो हाम्रा मनमनमा बसेका छन्, उनीहरुको रचनाकर्म मात्र होइन, जन्मे हुर्केको घर पनि साँस्कृतिक सम्पदामा पर्ने रहेछ। ‘नारायणगोपाल यहाँ जन्मेका थिए’, ‘नारायणगोपाल पछिल्लो समय यहाँ बसेका थिए’ भनेर घरैमा बोर्ड टाँसी दिँदा मात्र पनि यसले ठूलो चासो जगाउँदो रहेछ। चासो र चर्चा नै संरक्षण जगेर्नाको पहिलो पाइला रहेछ। अनि यस्ता सांस्कृतिक सम्पदा संरक्षणमा राज्य नै लाग्नु पर्दो रहेछ।
...
नारायणगोपालको महाराजगञ्ज, चक्रपथस्थित पछिल्लो समयको निवास, जहाँ अहिले नारायणगोपाल संगीत कोष रहेको छ। तस्वीरः सीताराम बराल
थोरै भएपनि हामीले नारायणगोपालका भौतिक सामग्री हेर्न पाएका छौं। नारायणगोपालका मितज्यू तथा नेपाली संगीतको स्वर्णिकालका एक हस्ती गोपाल योञ्जनका सामग्री प्रत्यक्ष रूपमा हेर्न भने हामीले नपाउने भएका छौं।
३ असार २०७६ मा ललितपुरस्थित् पुल्चोकको तिखे ढुंगामा भेट हुँदा गोपाल योञ्जनकी श्रीमती रिञ्छेन योञ्जनले गोपालका सामग्रीको पछिल्लो खेम अमेरिका पठाउने तरखर गरिरहेकी थिइन्। किन गोपाल योञ्जनका सामग्री अमेरिका पठाउनु पर्यो ? रिञ्छेनको भनाई थियो– ‘गोपाल जीवित हुँदादेखि नै मैले उसका कम्पोजिसन, क्यासेट टेपहरू, स्पुल, फोटो, नोटेसन, कागजपत्र आदि जोगाएर राख्न थालेकी थिएँ। गोपाल बितेपछि उसका सृजना र सामग्रीलाई व्यवस्थापन गरेर नेपालमै ’म्यूजिक सेण्टर‘ बनाउनु पर्छ भन्ने मेरो मान्यता थियो।’
रिञ्छेनको भनाइ थियो, ‘यसका लागि काठमाडौं महानगरपालिकादेखि संस्कृति मन्त्रालयसम्म धाएँ। चिनजानका मन्त्री गुहारेँ, कतैबाट केही भएन्। हुँदैन कसैले नभन्ने तर कसैले केही नगर्ने। एक्लैले केही गर्न नसकिदो रहेछ, म थाकेँ। राम्ररी राख्न नसक्दा र घर सरिरहँदा भएका सामग्री हराउने र बिग्रने समस्या हुँदै गयो।’
रिञ्छेनको चिनजान अमेरिकाको कोर्नेल विश्वविद्यालयकी प्राध्यापक क्याथरिन मार्चसँग रहेछ। उनले गोपाल योञ्जनका सामग्रीबारे सोधिछिन्। “उनीहरूले नेपाली कलाकारको सम्पत्ति हामी जोगाउँछौ र नेपालीलाई अध्ययन अनुसन्धानका लागि शुल्क लिदैंनौं भने। अनलाइनबाटै यो सुविधा पाइन्छ भनेपछि मैले गोपालका जे जति सामग्री छन्, ती सबै दिन्छु भनेर सन् २०१५ मा विश्वविद्यालयसँग सहमति गरेँ। सडेर, बिग्रिएर, हराएर र चोरिएर जानु भन्दा कसै न कसैले संरक्षण गरेको राम्रो”, रिञ्छेनले भनिन्।
सामग्री अमेरिका पठाउने क्रममा रिञ्छेनले गोपालका बाँकी सृजनाहरू पनि खोज्न थालिन्। कतिपय सामग्री भने भेटिएन। जस्तो नारायणगोपाल–गोपाल योञ्जनले गाएको एउटै मात्र युगल गीत ‘खुकुरीले लेखिएको इतिहास रातो हुन्छ...’ कतै पाइएन। रेडियो नेपालमा पनि भेटिएन। राजा वीरेन्द्रको जन्मोत्सवका लागि बनाइएका अन्य गीतहरू पनि भेटिएनन्।
सन् १९६७ मा गोपाल योञ्जन। तस्वीर स्रोतः द हिमालयन टाइम्स
त्यतिबेला सुनौलो कलरको रोलेक्स घडी देखाउँदै रिञ्छेनले भनेकी थिइन्, “अब गोपालको सामग्री भनेको यही घडी र केही फोटा होलान् अरु छैन्।’ त्यो घडी गोपाल योञ्जनलाई कुनै प्रशंसकले उपहार दिएको रहेछ।
अहिले कोर्नेल विश्वविद्यालय अन्तर्गतको कार्ल ए क्रोच पुस्तकालयमा ‘डिभिजन अफ रेयर एण्ड म्यानुस्क्रिप्ट कलेक्सन्स’को ८५३४ नम्बर गोपाल योञ्जनका सामग्री राखिएका छन्। पुस्तकालयकी क्यारोल एट्किन्सनले यो लेखकसँगको इमेल कुराकानीमा गोपालका सामग्री डिजिटाइज्ड गर्न अनुदान खोजिरहेको बताइन्। सामग्री डिजिटाइज्ड गरिएपछि अनलाइनमा राखिने र संसारभर सबैले निःशुल्क हेर्न सक्ने पनि उनले बताइन्। तर, यसका लागि कति समय लाग्छ, त्यसको जवाफ भने उनीसँग पनि थिएन।
मितज्यू गोपाल योञ्जनका सामग्री अमेरिका पुगेको छ, जसलाई नेपालमै राखेर हामीले ‘गोपाल योञ्जन म्युजियम’ का नाममा पर्यटक आकर्षित गर्न सक्थ्यौं। त्यसो त ‘स्वरसम्राट’ नारायणगोपालका सामग्रीलाई पनि राज्यले खासै वास्ता गरेको कहाँ छ र ? त्यसयता निधन भएका गोपाल योञ्जनका पनि गुरु अम्बर गुरुङका सिर्जना र सामग्रीको हाल के छ ? नातिकाजी, तारादेवी, झलकमान गन्धर्व, अरुणा लामा, फत्तेमान ? यो लहरमा अरु थुप्रै नाम राख्न सकिन्छ, जसको गीत अझैं स्रोताका मनमा बसेका छन्, तर सामग्रीको रेखदेख बारे राज्यलाई शायद कुनै मतलब छैन।
छुट्टिने बेला रिञ्छेनलाई धेरै समयदेखि आममानिसको मनमा लागिरहेको एउटा ब्यक्तिगत प्रश्न सोधेँ।
“मितज्यूहरू पछिल्लो समय किन टाँढिएका थिए ?”
२०२६ सालमा गोपाल र रिञ्छेन योञ्जनको विवाह समारोहमा नारायणगोपाल ।
“मान्छेहरु के भन्छन् भने दुई जनाका श्रीमती नमिलेर नारायणगोपाल र गोपाल योञ्जनका दुई क्याम्प भए। तर त्यसो होइन्”, रहस्य फुकाउँदै रिञ्छेनले भनिन्, “ ‘मेरो पाउँमा आज कोही पाउजु बाँध...’ भन्ने गीत नारायणगोपालले गाउनुपर्ने थियो। कम्पोजर गोपाल थियो। धेरै समय पर्खिएपछि रेडियो नेपालमा रेकर्डिङको ‘डेट’ आयो तर, गाउने दिन नारायणगोपाल आएनन्। आउने/नआउने खबर पनि छैन। एउटा फिल्मको गानामा पनि त्यस्तै भएको थियो। फिल्मी गानाको रिहर्सलका लागि गोपाल दिनभर मितज्यूलाई पर्खेर बस्यो, मितज्यूको अत्तोपत्तो छैन। दुई मितबीच दुरी बढेको हो तर झगडासगडा केही भा’को हैन।”
“नारायणगोपाल मुडी, करिअरको उकालो लाग्दो अवस्था। उहाँलाई त्यो सुनौलो समयमा कम्पोजर पनि बन्नु थियो। कसैको सहारा बिना आफैंलाई ‘स्ट्याबलिस’ गर्न सक्छु भन्ने लाग्यो होला। अनि गोपालले पनि सोच्यो होला, असाध्यै मुडी मान्छेसँग काम गर्न सकिदैन”, रिञ्छेनको विश्लेषण थियो, “दुवैले आ–आफ्नो तरिकाले ‘नेचुरल प्रोसेस’ अनुसार ‘म्युजिकल ग्रोथ’ खोजे। समयले उनीहरूलाई छुट्ट्यायो। समय बित्दै जाँदा धेरै कथा बन्छन्। मानिसले सुन्ने भनेका पनि त्यस्तै कथा हुन् जो सत्यबाट धेरै पर रहन्छन्।’