ओलीले थपे ९ मन्त्री, पूराना ६ जना मन्त्रीको जिम्मेवारी हेरफेर
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल विस्तारका साथै ६ जना मन्त्रीहरूको जिम्मेवारी हरेफेर गरेका छन्। प्रतिनिधि सभा विघटनपछि मन्त्रीले राजीनामा दिएर खाली भएका मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गरिएको हो। २ जना मन्त्रीलाई भने जिम्मेवारीबाट हटाइएको छ।
टोपबहादुर रायमाझीलाई उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मा दिइएको छ। वर्षमान पुनले राजीनामा दिएपछि उक्त मन्त्रालय खाली रहेको थियो। रायमाझीले २०७२ सालमा केपी ओली नेतृत्वको सरकारको बेलामा पनि यही मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
त्यसैगरी,वन तथा वातावरण मन्त्रीमा प्रेम आले नियुक्त भएका छन्। डोटीबाट निर्वाचित आले पहिलोपटक मन्त्री भएका हुन्। मणि थापालाई खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मा दिइएको छ।
खानेपानी मन्त्री रहेकी बीना मगरले राजीनामा दिएपछि उक्त मन्त्रालय खाली रहेको थियो। प्युठान निवासी थापा पहिलो पटक मन्त्री भएका हुन्। माओवादीले गरेको १० वर्षे सशस्त्र युद्धमा केन्द्रीय नेतृत्वमा रहेर उनले काम गरेका थिए। तर, माओवादीको २०६२ असोजमा रोल्पाको चुनवाङ्गमा सम्पन्न बैठकको निर्णयमा असहमति जनाउँदै उनले माओवादी छोडेका थिए।
पार्टी एकीकरण गर्नुअघि माओवादीमा प्रवेश गरेका उनले पार्टी एकीकरणपछि केपी शर्मा ओलीलाई साथ दिँदै आएका थिए।
त्यसैगरी प्रभु साह शहरी विकामन्त्री भएका छन्। नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहमा रहेका उनले माधव नेपाललाई अध्यक्ष बनाइएपछि त्यसको विरोध गर्दै फरक मत राखेका थिए। आफ्नो मागको सुनुवाइ नभएको भन्दै उनी ओली समूहमा फर्केका हुन्।
यसअघि उक्त मन्त्रालय सम्हालेका कृष्णगोपाल शिक्षामन्त्री भएका छन्। त्यसैगरी दावा लामा युवा तथा खेलकूद मन्त्रीमा नियुक्त भएका छन्। यसअघि उक्त मन्त्रालयको जिम्मेवारीमा रहेका जगत विश्वकर्मालाई प्रधानमन्त्रीले हटाएका छन्।
दार्चुलाका गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएका छन्। उनी पनि पहिलोपटक मन्त्री नियुक्त भएका हुन्। यसअघि उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेका हृदयश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन मन्त्री नियुक्त भएका छन्।
पर्यटन मन्त्री योगेश भट्टराईले राजीनामा दिएपछि उक्त मन्त्रालय खाली रहेको थियो। त्यस्तै, जुलीकुमार महतो महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्री बनेकी छन्।
उक्त मन्त्रालयमा रहेका लिलानाथ श्रेष्ठलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ। कानून मन्त्री शिवमाया तुम्बाहाङ्फेलाई भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको जिम्मा दिइएको छ। उक्त मन्त्रालमा रहेकी पद्मा अर्याललाई कृषि मन्त्री भएकी छिन्।
घनश्याम भुसालले राजीनामा दिएपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय खाली थियो। त्यसैगरी श्रममन्त्रीमा गौरीशंकर चौधरी नियुक्त भएका छन्।
यस्तै, विमला विश्वकर्मा उद्योग राज्यमन्त्री नियुक्त भएकी छन्। यसअघि उक्त मन्त्रालयको जिम्मेवारीमा रहेका मोती दुगडलाई जिम्मेवारीबाट हटाइएको छ।