नक्सालमा नगदबिनै तरकारी किन्न पाइने
नक्साल तरकारी बाजारमा क्यूआर कोडबाट भुक्तानी शुरू भएको छ। नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीले क्वीक रिस्पोन्स (क्यूआर) कोडमार्फत् हुने भुक्तानी सेवाको नक्साल तरकारी तथा फलफूल बजारमा शुभारम्भ गरेका छन्। तरकारी बजारका ७५ स्टलमध्ये अधिकांशमा क्यूआर कोडमार्फत् भुक्तानी गर्न सकिने सुविधा शुरू भएको छ।
राष्ट्र ब्यांक, सानिमा ब्यांक र नक्साल तरकारी बजारको समन्वयमा यस्तो सुविधा दिन थालिएको हो।
उक्त कार्यक्रममा गभर्नर अधिकारीले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने नेपाल राष्ट्र ब्यांकको नीति अनुसार क्यूआर कोडबाट तरकारीको पनि भुक्तानी सुरु भएको बताए। यो अभियानलाई देशैभर पुर्याउने पनि गभर्नर अधिकारीले बताए। नक्सालको तरकारी बजारमा थालिएको यो अभ्यास प्रविधिमैत्री कारोबारको शुरूआत भएको पनि गभर्नर अधिकारीले बताए।
कार्यक्रममा नक्साल तरकारी तथा फलफूल व्यवस्थापन समितिका अध्यक्ष विष्णु सापकोटाले तरकारीसँगै समग्र अर्थतन्त्रको भुक्तानी प्रणालीलाई नै प्रविधिमैत्री बनाउने सहयोगी माध्यम बनाउन सक्ने प्रविधिलाई आत्मसाथ गरिएको बताए।
कार्यक्रममा सानिमा ब्यांकका सीईओ तथा ब्यांकर्स संघका अध्यक्ष भुवन दाहालले डिजिटल नेपालको प्रवर्द्धनमा राष्ट्र ब्यांकसँग सहकार्य गरेर अगाडि बढ्न समग्र वित्तीय क्षेत्र तयार गरेको बताए।
नेपाल राष्ट्र ब्यांकका अनुसार कात्तिकसम्ममा क्यूआर कोडमार्फत् २ लाख ४१ हजार ८१८ कारोबारबाट रू. ९३ करोड ९० लाखको कारोबार भएको छ।