चेम्बरका अध्यक्ष भन्छन्, ‘चिनियाँ नाकामा सामान अड्किदा व्यवसायीले धेरै दुःख पाए’
चीनतर्फको नाका प्रभावकारी नहुँदा नेपाली व्यवसायीले निकै दुःख पाएको भन्दै नेपाल चेम्बर अफ कमर्शले गम्भीर चिन्ता व्यक्त गरेको छ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले एक वर्षदेखि चिनियाँ नाकामा व्यवसायीका सामान अड्किएको गुनासो गरे।
श्रष्ठ भने ‘‘गत वर्ष जाडोका लागि व्यवसायीले किनेको ज्याकेट नाका नखुलेकै कारण अझै उत्तै थन्किएको छ’’ यस्तो तरिकाबाट कसरी दुई देशबीचको व्यापार चल्छ ?’’ अध्यक्ष श्रेष्ठले प्रश्न गरे।
करोडौं मूल्य बराबरको सामानहरू चीनतर्फ नाकामा कुहिन लाग्दा व्यवसायीहरू पनि ब्याजको मारमा परेका छन्।
‘‘कोरोनाको बहानामा चीनले नेपालसँगको व्यापारमा दोहोरो चरित्र देखायो। कि नाका बन्द गरोस् कि व्यापारमा सहजीकरण गरियोस्,’’ चेम्बर अध्यक्ष श्रेष्ठले भने।
पछिल्लो राजनीतिक घटनक्रमले आर्थिक विकासका मुद्दा ओझेलमा पर्न लागेको भन्दै उनले आर्थिक अजेण्डालाई नछोड्न पनि आर्थिक पत्रकारहरूलाई आग्रह गरे।
कोभिडका कारण समस्यामा परेका व्यवसायीलाई सकारात्मक ऊर्जा चाहिएको बेला राजनीतिक अन्योल बढ्दा व्यवसायीमा चिन्तित भएको चेम्बरको भनाइ छ।