निर्वाचन आयोग पुगेर दाहालले भने, ‘केन्द्रीय कमिटीका करीब दुई तिहाइ सदस्य हामीसँग छन्’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो समूहमा केन्द्रीय कमिटीका करीब दुई तिहाइ सदस्य रहेको दाबी गरेका छन्।
शुक्रबार आफ्नो समूहका अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरूसँग निर्वाचन आयोग पुगेका दाहालले आफ्नो समूहमा रहेका सबै सदस्य सशरीर आयोगमा उपस्थित हुन तयार रहेको बताए।
अध्यक्ष दाहालले नेकपामा वैधानिकताको प्रश्न आएको भन्दै आफूहरू आधिकारिक भएको बताए।
सशरीर उपस्थित हुनुभन्दा ठुलो कुनै प्रमाण हुन नसक्ने जिकिर गर्दै दाहालले पार्टीको आधिकारिकता, चुनाव चिन्ह र केन्द्रीय सदस्यहरूको नामावलीलाई वैधानिक व्यवस्था अनुसार छिट्टै निर्क्योल तथा निर्णय गरिदिन आयोगसमक्ष माग गरे।
त्यसक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पेश गरिएका कागजातलाई नेपालको संविधान, राजनीतिक दल सम्बन्धी कानूनका आधारमा हेरेर छिट्टै नेकपा विवादको कानूनी निरूपण गरिने बताएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
नेकपाको दाहाल–नेपाल समूहका केन्द्रीय कमिटी सदस्य तथा विघटित प्रतिनिधि सभाका सांसदहरूसहितको टोली पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोग पुगेको हो।