के राजनीतिक संकटकाबीच प्रधानमन्त्री ओली भारत भ्रमणमा जान लागेका हुन् त?
राजनीतिक संकटकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देश भारतको भ्रमण गर्ने तयारी गरेको एक भारतीय सञ्चारमाध्यमले दाबी गरेको छ।
एबीपीलाइभले आफ्नो अनलाइन संस्करणमा प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति लगभग तय भएको र सम्भवतः ४ जनवरीमा भारत भ्रमणमा प्रस्थान गर्न सक्ने उल्लेख गरेको छ।
प्रधानमन्त्री ओलीभन्दा पहिले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली प्रधानमन्त्रीको भ्रमणको तयारी गर्न भारत जाने पनि समाचारमा उल्लेख गरिएको छ।
गत महीना भारतीय विदेश मन्त्री हर्षवर्द्धन श्रृङ्गलाले नेपालको भ्रमण गरेका थिए। उनको नेपाल भ्रमणले द्विपक्षीय उच्चस्तरीय भ्रमणको बाटो खुलाएको अनुमान गरिएको थियो।
प्रतिनिधि सभा विघटन गरेर नयाँ आमनिर्वाचनमा जाने निधो गरिसकेको सरकारका प्रधानमन्त्री ओलीको भारत भ्रमणका दौरान दीर्घकालीन महत्वका मुद्दाहरूमा भने सम्झौता नहुने समाचारमा जनाइएको छ।
भारतले नेपालमा पछिल्लो विकसित घटनाक्रममाथि सर्तक प्रतिक्रिया दिँदै नेपालको आन्तरिक मामिला भएको र नेपालको शान्ति, समृद्धि र विकासको बाटोतर्फको यात्रालाई सहयोग जारी राख्ने बताएको छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने प्रधानमन्त्रीको भारत भ्रमणबारे अहिले केही तयारी नभएको बताएका छन्।
“भारतका विदेशसचिव आउँदा उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने कुरा भएको थियो” मन्त्री ज्ञवालीले हिमालखबरसँग भने, “त्यो विषय प्राथमिकतामा छ, तर केही ठोस पहल भइसकेको छैन।”