माइतीघरबाट जुलुशसहित निर्वाचन आयोग पुग्यो दाहाल–नेपाल समूह
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल र माधवकुमार नेपालको समूह माइतीघर मण्डलबाट जुलुशसहित निर्वाचन आयोग पुगेको छ।
प्रतिनिधि सभा विघटनसँगै दुई समूहमा बाँडिएको नेकपाको वैधानिकतामाथि प्रश्न उठेपछि दाहाल–नेपाल समूह बहुमत सदस्यको हस्ताक्षरसहित आयोग पुगेको हो।
नेकपा अध्यक्ष दाहालकी स्वकीय सचिव गंगा दाहालका अनुसार आयोगमा २९७ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहितको पत्र बुझाइएको छ।
नेकपा नेताद्वय जनार्दन शर्मा र योगेश भट्टराईले आयोग अगाडि सूर्य चिन्हसहितको झण्डा फहराउँदै सूर्य आफूहरूकै चिन्ह र आफूहरू नै आधिकारिक नेकपा भएको बताए।
“कानून, विधि र पार्टीको अत्याधिक बहुमतबाट स्वतः आधिकारिक हुनुले सूर्य चिन्ह हाम्रो हो”, नेता शर्माले भनेका छन्।
यता, प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधि सभा विघटन गरेकी थिइन्।
त्यसपछि नेकपाको दाहाल–नेपाल समूह उक्त कदमको विरोधमा उत्रिएको छ। यो समूहले २५ पुससम्मका आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरिसकेको छ।