प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री ओलीले आज साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
५ पुसमा प्रतिनिधि सभा विघटन भएपछि उत्पन्न राजनीतिक परिस्थितिले प्रदेश सरकारका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने क्रम शुरू भएपछि प्रधानमन्त्री ओलीले बोलाएको मन्त्रिपरिषद् बैठकलाई चासोका साथ हेरिएको छ।
शुक्रबार मात्र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ४५ जना सांसदले प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन्।
दुई दिनअघि प्रधानमन्त्री ओलीले एक टेलिभिजन कार्यक्रमलाई दिइएको अन्तर्वार्तामा प्रदेश सरकारलाई अहिले चलाउन आवश्यक नभएको र प्रदेश सरकार हटाउने खेल भए आफू थप कदम चाल्न बाध्य हुने बताएका थिए।