संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा शुरू भयो सुनुवाइ
प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलासमा मुद्दाको सुनुवाइ चलिरहेको छ।
यसअघि प्रधान्यायाधीश जबराले प्रतिनिधि सभा विघटनविरुद्ध परेका सबै मुद्दाको सुनुवाइ संवैधानिक इजलासबाट गर्न गरेको आदेश बमोजिम शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधि सभा विघटन गरेकी थिइन्। त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दायर भएका थिए।
प्रतिनिधि सभा विघटनपछि सत्तारूढ नेकपा लगभग फुटेको छ। फुटको औपचारिक घोषणा नगरे पनि नेकपाभित्रका दुई समूहले छुट्टा छुट्टै बैठक, भेला र कार्यक्रम गरिरहेका छन्।