बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, तीन मन्त्रीद्वारा राजीनामा
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेकपाका ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको हो। यस्तै, प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा समेत दिएका छन्।
आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका हुन्।
मन्त्री नेपालले आफूहरूले राजीनामा दिएको पुष्टि गरे। मुख्यमन्त्री पौडेलको नेतृत्वमा सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेकाले राजीनामा दिएको नेता नेपालले हिमालखबरलाई बताए।
उनले प्रदेश सभामा रहेका नेकपाका ८० सांसदमध्ये ४५ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको पनि बताए।
११० सांसद रहेको बागती प्रदेशमा सरकार बनाउनका लागि ५६ जना सांसद आवश्यक पर्छ। अहिले अविश्वास प्रस्तावमा आफूहरूले मात्र हस्ताक्षर गरेपनि अन्य दलका सांसदको पनि समर्थन रहेको बागमती प्रदेश सभाकी सदस्य एवम् नेकपा मकवानपुरकी जिल्ला अध्यक्ष मुनु सिग्देलले बताइन्।
मुख्यमन्त्री पौडेल नेकपाको केपी ओली समूहका हुन् भने अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरू पुष्पकमल दाहाल– माधवकुमार नेपाल समूहका हुन्।
पौडेलविरुद्धको अविश्वास प्रस्तावमा प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरिएको छ।
प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव: