हिल्साको तापक्रम माइनस १५ डिग्री पुग्दा कर्णाली नदी जम्यो, सीमा सुरक्षाकर्मीलाई सास्ती
तापक्रम माइनस १५ डिग्री सेल्सियससम्म पुगेपछि हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्सामा बस्ने सीमा सुरक्षाकर्मी र घर कुरुवालाई सास्ती भएको छ। त्यहाँ कर्णाली नदीमा पनि बरफ जमेको छ।
नाम्खा–५ अन्तर्गत पर्ने हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेर पानी नदेखिने भएको सीमा सुरक्षाका लागि बस्दै आएका हिल्सा (बिओपी) का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले बताए। उनका अनुसार नदीमा पानी नदेखिएर बरफ मात्र सेताम्मे देखिने गरेको छ। यो क्षेत्रमा यतिखेर घाम नलाग्ने भएका कारण चौबिसै घण्टा नदीमा बरफ जम्छ। बरफमा टकेरै नदीसमेत वारपार गर्न सकिने हुन्छ।
चिसोका कारण नाकामा बस्दै आएका सशस्त्र प्रहरी र घर कुरुवा व्यक्तिहरुलाई बाहिर निस्किन समस्या भएको केसीले बताए। घरहरु कर्णाली नदी नजिकै रहेकाले पनि हावाको वेगले बसिनसक्नु भएको उनको भनाइ छ। नारा लेकका हिमालहरुले हिल्सा बजार एउटा कोप्चो जस्तै परेकाले समयमै घामसमेत नलाग्ने गरेको हो। उक्त क्षेत्रमा नियमित घाम नलाग्ने र बिहानैबाट हावा चल्ने गर्दछ।
अत्यधिक चिसो बढेपछि खानेपानीको धारामा समेत पानी जम्न थालेको छ । उनले भने, “तातो पानी तताएर हालेपछि मात्र धाराको पानी आउँछ, चिसोका कारण हातमुख धुन पनि कठिन भएको छ, अत्यधिक चिसोको कारण बिहान ११ नबज्दासम्म बाहिर निस्कन सकिँदैन।”