पार्टीभित्र साह्रै झमेला भएपछि संसद विघटन गर्नुपर्यो : प्रधानमन्त्री ओली
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र खुट्टा तान्ने प्रवृत्तिले देशलाई अगाडि बढाउन बाधा पुगेकाले संसद विघटन गर्नुपरेको बताएका छन्।
बिहीबार बालुवाटारमा आयोजित आफ्नो समूहको केन्द्रीय कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत ओलीले पार्टीभित्रको झमेलाका कारण देश हाँक्न बाधा भएकाले संसद विघटन गर्नुपरेको प्रष्टिकरण दिए।
“किन संसद विघटन गर्नुपर्यो ? अरु थुप्रै कुरा छोडिदिनुस्। यही किचकिच, यही झमेला। पार्टीभित्र सधैं हिँडन खोज्यो खुट्टा समाउने, अल्झाउने, धराप थाप्ने काम भयो। देश हाँक्नुपर्ने बेलामा, देशलाई अगाडि बढाउनुपर्ने बेलामा सरकारलाई पनि अगाडि बढ्न नदिने। सरकारलाई गतिशिल ढंगलले हाँक्नुपर्ने बेलामा पार्टीमा अल्झिनुपर्ने”, ओलीले भने, “के मा भन्दा दिनैपिच्छेका गफ फिटनेहरूका कुरामै अल्झिनुपर्ने। उनीहरू गफ फिटेर बस्छन् त्यसैमा अल्झिनुपर्ने। अनि के गर्ने ?”
अध्यक्ष ओलीले संसद विघटन पछि जनतामा जान डर मान्नेहरूले पार्टी फुटाएको पनि बताए। सरकारले नयाँ जनादेशका लागि जनतामा जाने घोषणा गर्दा डर मान्नेहरूले आन्दोलनको घोषणा गरेको ओलीले टिप्पणी गरे।
“आन्दोलन केका लागि ? प्रधानमन्त्रीले नयाँ जनादेशका लागि जनतामा जाने भनेर घोषणा गर्यो। अब जनतामा जान उहाँहरूलाई यत्रो डर किन ? तपाई हामी बुझ्न सक्छौं। उहाँहरूको टाउको ठूलो छ तर, खुट्टा सानो छ”, ओलीले भने।
देशलाई बिगार्ने, देशको एकता तोड्ने र अग्रगमनको बाटोमा जान रोक्नेहरूलाई जनताले मत नदिने पनि अध्यक्ष ओलीले बताए। त्यसैले संसद पुनर्स्थापना गरेर एक÷डेढ वर्ष सत्तामा जानका लागि आन्दोलन गर्न लागेको उनको टिप्पणी छ।
जनतामा जान छोडेर आन्दोलन गर्ने कुराको कुनै औचित्य नरहेको ओलीले बताए।