एक सातामा ब्रोकर कमिसन घट्ने, स्टक डिलरले लाइसेन्स पाउने
धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर कमिसन घटाउने र स्टक डिलर कम्पनीलाई लाइसेन्स दिने भएको छ। बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै दुई विषयलाई एक साताभित्र टुङ्ग्याउने गरी काम भइरहेको बताए।
पूँजी बजार देशको अर्थतन्त्रको ऐना भएको बताउँदै ढुंगानाले धितोपत्र बजार सूचनामा आधारित बजार भएको बताए। ढुंगानाले सही सूचना सम्प्रेषण भएमात्र बजारको दीगो विकास हुने पनि बताए।
अंंग्रेजी नयाँ वर्ष सन् २०२१ को शुरूआतसँगै ब्रोकर कमिसन घटाएर गरी तयारी भएको धितोपत्र बोर्डले जानकारी दिएको छ। ब्रोकर कमिसनका विषयमा बोर्डले धेरै अध्ययन र अनुसन्धानपछि मोडालिटी तयार गरिसकेको र अब दरमात्र तय गर्न बाँकी रहेको अध्यक्ष ढुङ्गाना बताउँछन्।
धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा ०.६ प्रतिशतदेखि ०.४ प्रतिशतसम्म कमिसन तिर्नुपर्दछ। लगानीकर्ताले रू. ५० हजारसम्मको शेयर खरीद बिक्री गर्दा ०.६ प्रतिशत र रू. ५० हजारदेखि ५ लाख सम्मको कारोबारमा ०.५५ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ।
हाल रू.५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.५ प्रतिशत, २० लाखदेखि रू. १ करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत र सोभन्दा माथिको कारोबारमा ०.४ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ।
ढंगानाले लामो समयदेखि लाइसेन्सको पर्खाइमा रहेको नागरिक स्टक डिलरले पनि यसै महीनाभित्र लाइसेन्स पाउने बताए। बोर्डका अध्यक्ष ढुङ्गानाले स्टक डिलरले सबै संरचना तयार गरिसकेकाले यसै साताभित्र अनुमतिपत्र प्रदान गर्ने बताएका हुन्।
पूँजी बजार विकास र विस्तारका लागि प्राविधिक सुधार देखि नीतिगत सुधारलाई ध्यानमा राखी अघि बढेको बोर्डले ब्यांक इन्ट्रग्रेसन, ब्रोकरको टीएमएस सुधार र कम्पनीले बोर्डलाई रिपोर्टिङ गर्नका लागि कागजी प्रकृयाको अन्त्य गर्ने प्रयासस्वरूप इलेक्ट्रोनिक रिपोर्टिङ सिस्टमको विकास गरिसकेको समेत अध्यक्ष ढुङ्गाना बताउँछन्।
शेयर बजारमा गत वर्षसम्म पुँजीकरणको ७–८ प्रतिशत कारोबार हुन्थ्यो, यो वर्ष २५ प्रतिशत पुगेको छ। यसलाई बढाएर ४० प्रतिशत कटाउनु पक्षमा धितोपत्र बोर्ड रहेको छ।
धितोपत्रका अध्यक्ष ढुंगानासँगको भेटमा नाफिजका अध्यक्ष मोदनाथ ढकालले मुलुकको अर्थतन्त्रको ऐना पूँजी बजार भएको बताए। उनले देशको अर्थतन्त्र सम्झँदा नेपालको पुँजी बजार सम्झिइने वातावरण बनाउने बोर्डलाई सुझाव दिए।