‘निफ’ अब वैशाखमा, ५२ देशका ४०० भन्दा बढी फिल्मले सहभागिता जनाउने
चौंथो संस्करणको नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को मिति सरेको छ। १२-१६ फागुन २०७७ मा काठमाडौंमा हुने भनिएको महोत्सव अब २३-२७ वैशाख २०७८ मा हुनेछ।
आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले पूर्वनिर्धारित मितिमा महोत्सव गर्नेगरी विश्वभरका फिल्ममेकरबाट सहभागिताका लागि आवेदन खुला गरेको थियो। १ जुलाईदेखि ३० नोभेम्बरसम्म तोकिएको समयावधिमा ५२ देशका ४०० भन्दा बढी फिल्मले सहभागिताका लागि आवेदन दिइसकेको आयोजक संस्थाका अध्यक्ष केपी पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
आवेदन दिएका फिल्महरूमध्येबाट छानिएका फिल्मको सूची ८ फागुनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ। कोरोना महामारीका कारण फिल्ममेकर चाहेर पनि महोत्सवमा सहभागी हुन सक्ने अवस्था नभएको र भर्चुअल रूपमा गर्ने विकल्प खास प्रभावकारी नलागेकाले मिति सारिएको विज्ञप्तिमा उल्लेख छ।
भनिएको छ ‘केही समय कुर्दा पुरानै स्वरूपमा महोत्सव गर्न सकिन्छ भन्ने अपेक्षासहित केही महीना सारेर फेस्टिभल गर्न लागेका हौँ ।’
‘विश्वका कथाहरूको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित शुरू भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मको विधा थप गरिएको आयोजकले जनाएको छ।
‘बेस्ट पान्डेमिक फिल्म’ नाम दिइएको विधामा विजेताले ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने अध्यक्ष पाठकले बताए। उनका अनुसार राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा बाँडेर प्रदान गरिने अवार्डमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड अवार्ड प्रदान गरिनेछ।
फिल्मले इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिजको जुरीको तर्फबाट आईएफएफएस डन क्विजोट अवार्ड प्राप्त गर्नेछ। यसैगरी, अन्तर्राष्ट्रिय विधातर्फ सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलर राशिको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५०० डलर राशिको बागमती अवार्ड प्रदान गरिनेछ।
साथै, नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद, उत्कृष्ट सर्ट फिल्मलाई ५० हजार नगद र सर्ट फिल्ममध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ। योबाहेक फिचर फिल्म विधातर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ।