पश्चिमी वायुको प्रभावले देशका अधिकांश भागमा बाक्लो हुस्सु
पश्चिमी वायुको प्रभावले देशका अधिकांश भूभागमा बाक्लो हुस्सु लागेको छ। हुस्सुका कारण काठमाडौँ र तराईमा चिसो बढेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मुलुकभर पश्चिमी वायुको प्रभाव छ। बिहान काठमाडौँ उपत्यकामा हुस्सु लागेपछि आज चिसो बढेको छ।
पश्चिमी वायुको प्रभावले अझै एकदुई दिन काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बिहान हुस्सु लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन्। उनले भनिन्, “मध्याह्नपछि हुस्सु क्रमशः घटेर घाम लाग्ने छ।”
हाल गण्डकी, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागमा अपराह्न आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने बताइएको छ।
मौसमपूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्री थियो। अधिकतम तापक्रम १९.२ डिग्री सेल्सियस हुनेछ। आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३.४ डिग्री र सबैभन्दा धेरै भैरहवाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो।