प्रशिक्षण दिने महिला नेताको नाम सामाजिक सञ्जालमा मात्र, उठ्यो एक तिहाइको माग
नेकपाका अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओली समूहले बुधबार केन्द्रीय सदस्यका लागि प्रशिक्षण राखेको थियो। तर, प्रशिक्षणका लागि तोकिएका महिला नेताको नाम सामाजिक सञ्जालमा मात्र सीमित भयो। उनीहरूले आफू प्रशिक्षक तोकिएको खबरसम्म पाएनन्।
ओली समूहले मंगलबार मनोनयन गरेका केन्द्रीय सदस्यहरूका लागि बुधबार प्रशिक्षण राखेको थियो। पार्टी केन्द्रीय कमिटी सदस्यमा मनोनितहरूलाई कार्यगत प्रशिक्षण भनिएको प्रशिक्षणका लागि मंगलबार नाम तोक्दा पुरुषहरूको मात्रै नाम घोषणा गरियो, केही महिला नेताहरूले त्यहीँ पुरुष मात्र परेको भन्दै कुरा उठाए।
नाम थप्न बाँकी भन्दै नेताहरूले पछि नाम थप्ने प्रतिबद्धता जनाए। सोही बमोजिम प्रवक्ता प्रदीप ज्ञवालीले आज बिहान ७ वटै प्रदेशका लागि तोकिएका प्रशिक्षकहरूको नाम आफ्नो सामाजिक सञ्जालमा राखे, त्यसैलाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ‘सेयर’ गरे।
तर, प्रशिक्षक तोकिएका महिला नेताहरू प्रायः कसैले पनि प्रशिक्षण दिन पाएनन्। सुदूरपश्चिम प्रदेशका लागि प्रशिक्षक तोकिएकी विन्दा पाण्डेले त दिउँसो अबेर कुनै कार्यकर्ताले भनिदिएपछि मात्रै आफ्नो नाम प्रशिक्षकमा रहेको थाहा पाइन्। अर्को पटक यस्तो नहोस् भनेर उनले साँझ सामाजिक सञ्जालमै लेखिन्। उनको फेसबुक स्टेटसमा लेखिएको छ, ‘माफ गर्नुहोला, सामाजिक सञ्जालमा नाम राख्ने र सम्बन्धित व्यक्तिलाई समयमा खबर नगरेर ‘डिस्क्रेडिट’ गर्ने काम फेरि नदोहोरियोस्। हिजो तीन/तीन जनाको नाम मञ्चबाट भनियो, चौथो नाम सार्वजनिक खपतका लागि सामाजिक सञ्जालमा मात्र राखियो।’
उनी मात्र होइन प्रशिक्षक तोकिएका धेरै महिला नेताले प्रशिक्षण दिन पाएनन्। बरु प्रशिक्षार्थीका रूपमा सहभागी बने। प्रशिक्षक तोकिएका गोमा देवकोटा, सुजिता शाक्य, सीता पौडेल बागमती प्रदेशको प्रशिक्षण कार्यक्रममा बसेका थिए। देवकोटालाई लुम्बिनी, शाक्यलाई कर्णाली र पौडेललाई गण्डकी प्रदेशको प्रशिक्षक भनिएको थियो।
तिनकुनेको एक पार्टी प्यालेसमा भएको प्रशिक्षणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वमाओवादीका नेता टोपबहादुर रायमाझी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल तोकिएको थियो। अर्यालले पनि समयमै थाहा नपाएर ढिला पुगिन्। उनी पुग्दा मुख्य वक्ता रहेका पोखरेलले बोलेर पनि कार्यक्रम समापन हुनै लागेको थियो। उनले बोल्नसम्म पाइनन्।
पूर्वएमालेको महिला संगठन अनेमसंघको अध्यक्ष रहेकी गोमा देवकोटा पार्टीभित्र पुरानो नेता हुन्। उनलाई लुम्बिनी प्रदेशको प्रशिक्षक तोकिएको भनेर नाम राखिएको थियो। तर, उनले बुधबार दिउँसो मात्रै थाहा पाइन्, त्यो पनि पार्टीबाट आधिकारिक रूपमा कसैले खबर गरेन। अरु नै कसैले ‘प्रशिक्षकमा तपाईंको पनि नाम रहेछ नि’ भनेपछि थाहा पाएको बताउँदै उनले भनन्, “आधिकारिक जानकारी नै नभई कसरी जानु भनेर गइनँ।”
उनी दिनभर बागमती प्रदेशको प्रशिक्षणमा बसिन्। कार्यक्रममा सहभागीका अनुसार देवकोटालगायत केही पुराना महिला नेताहरूले आफूहरूले पनि बोल्न पाउनुपर्ने माग राखे तर, बोल्न पाएनन्। नेता रायमाझी लामो बोले। र, ईश्वर पोखरेलले बोलेपछि समापन गरियो।
नेता पाण्डेले भनिन्, “सामाजिक सञ्जालमा नाम राखेको दिउँसो अबेर अरु कसैले भनेर थाहा पाएँ। आधिकारिक भन्नुको सट्टा सामाजिक सञ्जालमा मात्र राखिएछ। प्रशिक्षकमा तपाईंको पनि नाम छ भनेर कतैबाट आधिकारिक जानकारी नै आएन।”
प्रदेश-२ का लागि प्रशिक्षक तोकिएकी जुलीकुमारी महतोले पनि आफूले प्रशिक्षण दिन नपाएको बताइन्। उनले भनिन्, “मेरो नाम राखेको छ भन्ने सुनेको थिएँ तर, प्रशिक्षणमा कमरेड ईश्वर पोखरेलले मात्रै बोल्नुभयो। कार्यक्रम पनि ढिलो शुरू भएको थियो।”
उठ्यो एक तिहाइको माग
प्रधानमन्त्री ओलीले मंगलबार नै ५६६ केन्द्रीय सदस्य मनोनित गरेका थिए। करीब २०० मनोनयन हुने गरी खाली ठाउँ राखिएको छ। यसरी मनोनयन हुनेमध्ये पार्टीको विधान अनुसार एक तिहाइ हुनुपर्ने माग पार्टीका महिला नेताहरुले गरेका छन्।
एक केन्द्रीय सदस्यले भनिन्, “हामीले एक तिहाइ हुनुपर्छ भनेका छौं, नामहरू आउँदै गरेकाले अहिले नै नपुगे पनि पुग्ने आश्वासन नेताहरूले दिएका छन्, हेरौं के हुन्छ।”
कसलाई कहाँको जिम्मा ?
ओली समूहका प्रवक्ता ज्ञवालीले जारी गरेको सूचना अनुसार नेताहरूलाई प्रशिक्षणको जिम्मेवारी प्रदेशगत रूपमा यसरी तोकिएको थियो:
सुदूरपश्चिम प्रदेश : लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र विन्दा पाण्डे
कर्णाली प्रदेश : शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य
लुम्बिनी प्रदेश : विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा
गण्डकी प्रदेश : टोपबहादुर रायमाझी, पृथ्वीसुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल
बागमती प्रदेश : ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल
प्रदेश-२ : ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो
प्रदेश- १ : सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र शिवमाया तुम्बाहाङ्फे