प्रतिनिधि सभा विघटन विरुद्ध कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने
नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन विरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ। बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रदर्शन गर्ने निर्णय गरेको तर, मिति भने भोलिको बैठकले तय गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
उनले बैठकमा केन्द्रीय सदस्यहरूले संसद विघटनको कदमलाई असंवैधानिक, निरंकुशतातर्फ लक्षित र सर्वसत्तावादलाई बढावा दिन खोजेको धारणा राखेको बताए।
बैठकले सबै लोकतन्त्रवादी, संविधानको पक्षधर, निरंकुशता र सर्वसत्तावादका बिरोधी सबैलाई संविधानको रक्षा गर्न एकताबद्ध हुन पनि आग्रह गरेको छ।
भोलिको बैठक दिउँसो १ बजे बोलाइएको छ। आजको बैठकमा केन्द्रीय सदस्यहरू रामशरण महत, बलबहादुर केसी, आनन्दप्रसाद ढुगाना र गगनकुमार थापाले बोलेका थिए।
यस्तै, आजको बैठकले १६ पुसमा राष्ट्रिय एकता र मेलमिलाप दिवस देशव्यापी कार्यक्रम गरी मनाउने निर्णय पनि गरेको कांग्रेसले बैठक पछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ।